राजनीतिमा प्रवेश गर्नुअघि ‘अटेरी अभियान’ चलाएर उनी पार्टी प्रणाली र पुरानो राजनीतिक संस्कृतिविरुद्ध आवाज मुखरित पार्थे ।
पोखरा — लौरो चुनाव चिह्न लिएर ०७९ मा पोखरा महानगर प्रमुखको चुनाव लड्ने घोषणा गर्दा ‘पैताला’ उपन्यास लेखक गनेस पौडेल (खडकराज पौडेल) ले भनेका थिए, ‘हार र जितभन्दा माथि एउटा लडाइँ हुन्छ । म जित्नलाई लड्या होइन, विचार दिन उठेको मान्छे हुँ ।’
अटेरी अभियान सुरुआत गरेर वैकल्पिक राजनीतिको विचार दिन मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनाव जितेनन् तर त्यही समयको सेरोफेरोमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बालेन्द्र शाहसँगै आबद्ध भएका उनी यसपल्ट संसद् यात्रामा छन् ।
रास्वपाका केन्द्रीय सदस्य पौडेल कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट २८ हजारभन्दा बढी मतको ठूलो अन्तरले विजयी भएका छन् । कहिले कक्षाकोठामा, कहिले सडकमा बोल्ने यी ४६ वर्षीय अभियन्ताले अब संसद्को कक्षमा बोल्ने अवसर पाएका छन् । जसले आफ्नै स्वीकारोक्तिमा ‘जित्नका लागि होइन, विचार दिनका लागि’ पहिलोपल्ट चुनावी मैदानमा उत्रिएका थिए, त्यही मान्छे आज देशको ठूलो संसदीय शक्तिको प्रतिनिधि भएर उदाएका छन् । र यो यात्रा जति साहित्यिक छ, त्यति नै राजनीतिक पनि ।
उनी पोखरा महानगरको मेयरमा लड्दा बालेन काठमाडौंमा उम्मेदवार थिए । त्यस बखत देशको राजनीतिक परिदृश्य कस्तो थियो भन्ने उनको आफ्नै विश्लेषण छ ।
‘विवेकशील साझा पार्टी मरणासन्न थियो, वैकल्पिक राजनीतिक आन्दोलन खत्तम ठाउँमा थियो र कांग्रेस–एमाले–माओवादीप्रतिको वितृष्णा जनमानसमा उत्कर्षमा थियो,’ उनले सम्झिए, ‘यही असन्तोषलाई सार्थक ढंगले व्यक्त गर्ने माध्यमका रूपमा अटेरी अभियान सुरु गरेको थिएँ ।’ सत्ता र शक्तिको दुरुपयोगविरुद्ध नागरिकस्तरको सविनय अवज्ञाका रूपमा व्याख्या गरिएको यो अभियानले मान्छेलाई परम्परागत दलका पिछलग्गु हुनभन्दा आफ्नो विवेक अनुसार मतदान गर्न प्रेरित गर्ने सन्देश बोकेको थियो ।
बालेन्द्र शाह काठमाडौंको मेयरमा विजयी हुँदा पौडेलले हुम्लादेखि काठमाडौंसम्म स्वतन्त्र उम्मेदवारका लागि प्रचार गरे, अभियान चलाए र जनमत तयार गर्न सहयोग गरे । त्यही जगमा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो भन्ने उनको दाबी छ ।
पोखरा–१४ मझेरीपाटनका उनी केवल राजनीतिज्ञ मात्र होइनन् । उनी एकै साथ लेखक, शिक्षक र सामाजिक अभियन्ता हुन् । अंग्रेजी साहित्यमा स्नातक गरेर पोखरा विश्वविद्यालयबाट एमबीए सम्पन्न गरेका उनले डेढ दशकभन्दा बढी समय शिक्षण पेसामा बिताए । ‘पैताला’ जस्तो प्रयोगवादी उपन्यासमार्फत नेपाली साहित्यमा ‘एब्सर्ड’ चेत भित्र्याउने यी लेखकले साहित्यिक विमर्शलाई राजनीतिक आलोचनासँग जोडेका छन् ।
पोखरामा ‘र्यान्डम रिडर्स सोसाइटी’ मार्फत पठन संस्कृतिको विकास गर्ने अभियानका परिकल्पनाकारका रूपमा चिनिने उनले ‘विचारले जित्ने, चरित्रले टिक्ने’ भन्ने आफ्नो राजनीतिक दर्शनलाई साहित्यकै शैलीमा जनमानसमा पुर्याए । परम्परागत राजनीतिक संस्कृतिको आलोचना उनका लेख र भाषणमा समान तीव्रतासँग प्रकट भइरहन्छ । यही विशेषताले उनलाई अरू राजनीतिज्ञभन्दा भिन्न देखाउँछ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ मा कास्की–१ बाट उनको विजय कुनै सामान्य जित थिएन । निकटतम प्रतिस्पर्धी कांग्रेसका तिलक रानाभाटभन्दा २८ हजार ६ सय ६९ मतको ठूलो मतान्तरले उनी विजयी भए । यो आँकडा आफैंमा बोलिरहन्छ कि पोखराको जनमत ‘वैकल्पिक राजनीति’ को पक्षमा कति दृढतापूर्वक उभियो ।
यस क्षेत्रमा १ लाख १६ हजार ८ सय ७८ मतदातामध्ये ७० हजार १ सय ५० मत खसेको थियो । त्यसमध्ये ३९ हजार ८ सय ८३ अर्थात् खसेको सदर मतको करिब ५९ प्रतिशत पौडेलको पक्षमा परेको थियो । कांग्रेसका रानाभाटले ११ हजार २ सय १४ मत ल्याए । तेस्रो भएका एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४ सय २९ र नेकपाका राजकाजी गुरूङले २ हजार ४ सय ७९ मत प्राप्त गरे । यहाँ १६ दल र एक स्वतन्त्र गरी १७ जना प्रतिस्पर्धामा थिए ।
उनको राजनीतिक यात्रा सरल रेखामा चलेको छैन । वैकल्पिक राजनीतिको खोजीका क्रममा उनी केही समय बाबुराम भट्टराईसँग पनि जोडिए । तर त्यो अभियान दीर्घकालीन रूपमा अघि बढेन । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग उनको सम्बन्ध भने पुरानो र गहिरो छ । दुवैले सँगसँगै जसो वैकल्पिक राजनीतिको सपना देखेका थिए । यद्यपि दुवैका परिस्थिति फरक भए । तर त्यही बीउबाट राष्ट्रिय स्वतन्त्र पार्टी अंकुरित भयो । त्यही पार्टीको टिकटमा उनी अब संसद्सम्म पुगेका छन् । ‘हाम्रो अभियानकै जगमा राष्ट्रिय स्वतन्त्र पार्टी उठेको हो । एउटा राजनीतिक कोर्स बन्यो नि,’ अघिल्लोपल्टको चुनावमा रास्वपा उदाएपछि उनले भनेका थिए, ‘त्यसैले म सफल राजनीतिज्ञ हो । म हारेको होइन, म जितेको मान्छे हुँ ।’
जित निश्चित भएपछि उनले सार्वजनिक गरेको पहिलो भनाइ काफी सन्तुलित र दायित्वबोधले भरिएको थियो । न अत्यधिक उत्साह, न अनावश्यक प्रतिज्ञा । उनले भने, ‘सकेको गर्नेछु, सकिनँ भने सकिनँ भन्नेछु ।’ यो सरल स्वीकारोक्ति एक लेखककै कलमबाट निस्किएको जस्तो लाग्छ, जसलाई शब्दको भार थाहा हुन्छ ।
उनले संघीयताको खारेजीको विरोध गर्दै यसलाई मितव्ययी र जनतासँग संवाद गर्ने किसिमको बनाउने पुनर्संरचनाको पक्षमा आफूलाई उभ्याएका छन् । स्थानीय तहलाई राष्ट्रिय तहसँग जोड्ने र जेन–जी आन्दोलनको आकांक्षालाई नीतिगत तहमा लिपिबद्ध गर्ने, यी दुई कुरा उनका प्राथमिकताका रूपमा सार्वजनिक भएका छन् ।
नेपाली राजनीतिमा साहित्यकारको प्रवेश नयाँ होइन । कवि, लेखक र बुद्धिजीवीहरूले समय–समयमा राजनीतिको दरबार छिरेका छन् । तर पौडेलको यात्रामा एउटा खास तत्त्व छ । उनले राजनीतिमा प्रवेश गर्नुअघि ‘अटेरी’ भएर पार्टी प्रणाली र पुरानो राजनीतिक संस्कृतिविरुद्धको त्यो आवाज आज उनकै जित बनेर फर्किएको छ । अब ‘पैताला’ का लेखकका पैतालाले संसद् भवन नाप्नेछन् । हातले कानुन लेख्नेछन् ।
