रमेशकुमार सापकोटा यातायात व्यवसायी समेत हुन् । २५ वर्षदेखि सुर्खेत र समग्र कर्णालीको यातायात क्षेत्रमा नेतृत्वदायी भूमिकामा सक्रिय छन् ।
सुर्खेत — सुर्खेत-२ बाट रास्वापाका उम्मेदवार रमेशकुमार सापकोटा विजयी भएका छन् । एमाले र कांग्रेसको किल्ला मानिएको यस क्षेत्रमा सापकोटाको विजयसँगै कर्णालीमा रास्वपाले पहिलो सिट हात पारेको हो । सापकोटाले ३० हजार ३ सय ७८ मत प्राप्त गरी नतिजा आफ्नो पक्षमा पार्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका नारायण कोइरालाले १६ हजार १९६ मत प्राप्त गरे । यस्तै, एमालेका कुलमणि देवकोटाले १२ हजार ८९१ मत प्राप्त गर्दा नेकपाका झकबहादुर मल्लले ४ हजार ५८७ मत प्राप्त गरे । २०४८ यताका अधिकांश निर्वाचनमा प्रतिस्पर्धी रहने कांग्रेस-एमालेको वर्चश्वलाई रास्वपाले यसपटक तोडेको छ ।
सापकोटालाई जिताउन रास्वापाले आफ्नो वाचापत्रसमेत सुर्खेत-२ बाटै सार्वजनिक गरेको थियो । सापकोटा पूर्वकांग्रेस पृष्ठभूमिका नेता हुन् । रास्वपा प्रवेशअघि उनी कांग्रेस वीरेन्द्रनगर नगर समितिको सचिव थिए ।
उनी यातायात व्यवसायी समेत हुन् । २५ वर्षदेखि सुर्खेत र समग्र कर्णालीको यातायात क्षेत्रमा नेतृत्वदायी भूमिकामा सक्रिय छन् । कांक्रेबिहार यातायात प्रालिको अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशको संयोजकको जिम्मेवारीमा सापकोटा छन् । १५ मंसिर २०३६ मा साविक सुर्खेतको साटाखानी गाविसमा जन्मिएका सापकोटाको परिवार २०४६ सालमा वीरेन्द्रनगर बसाइँ सरेको थियो । उनले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् ।
