कमल सुवेदी : युवाहरूको नेतादेखि संसदीय यात्रासम्म

स्कुल पढ्दादेखि नै अन्याय, अत्याचार, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने विद्रोही स्वभावका सुवेदी कक्षामा जति अब्बल थिए, सामाजिक अनुशासन र सुशासनका लागि त्यति नै दृढ थिए ।

फाल्गुन २३, २०८२

दुर्गालाल केसी

Kamal Subedi: From youth leader to parliamentary journey

दाङ — सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका कमल सुवेदी पूर्वमन्त्रीहरू र पूर्व नगरप्रमुखलाई पराजित गर्दै संसदीय यात्रामा प्रवेश गरेका छन् । ३८ वर्षीय युवा पश्चिम दाङको प्रतिनिधित्व गर्दै पहिलोपटक संसद्‍मा प्रवेश गर्दैछन् ।

उनले दाङ–३ का शक्तिशाली नेताहरूलाई पछि पार्दै जित निकालेका छन् । उनले छैटौंपटक चुनावी मैदानमा भएका पूर्वसिँचाइ मन्त्री दीपक गिरी, लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्की र तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम पाण्डेलाई पराजित गरेका छन् ।

उनका मुख्य प्रतिस्पर्धीका रूपमा २०७९ मा उनलाई पराजित गर्ने कांग्रेसका दीपक गिरी थिए । गिरी २०५१, २०६४ र २०७४  मा यही क्षेत्रमा पराजित भएका थिए । गिरी २०७० मा निर्वाचित भएपछि सिँचाइ मन्त्री भएका थिए । अहिले सुवेदीले २०७९ को बदला लिँदै गिरीलाई पराजित गरेका छन् ।

एमालेबाट केन्द्रीय सदस्य घनश्याम पाण्डे उम्मेदवार थिए । उनी २०५४ मा तुलसीपुर नगरपालिका उपप्रमुख, २०७४ मा तुलसीपुर उपमहानगरपालिका प्रमुख निर्वाचित भएका थिए भने २०७९ मा दाङ ३(१) बाट कांग्रेसका डिल्लीबहादुर चौधरीसँग प्रदेशसभा सदस्यमा पराजित भएका थिए । अहिले सुवेदीले पाण्डेलाई पराजित गरेका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की उम्मेदवार थिए । उनी प्रदेशसभा सदस्यबाट राजिनामा दिएर निर्वाचनमा होमिएका थिए । मास्की २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा दाङ ३ (२) बाट २२ हजार ३ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशको अर्थमन्त्रीसमेत भएका थिए । अहिले मास्कीले प्रदेशसभा सदस्यसँगै संघीय सांसद बन्ने अवसर गुमाएका छन् ।

दाङको दङ्गीशरण–४, मौलीको सामान्य किसान परिवारमा २०४४ मंसिर १६ गते सुवेदीको जन्म भएको थियो । उनको प्रारम्भिक शिक्षा गाउँकै लक्ष्मीनारायण प्रावि र वीरेन्द्र मावि हेकुलीबाट भयो । सानै उमेरमा आमा गुमाउनुको पीडाले उनलाई जीवनको कठोर यथार्थ र सेवाको महत्त्व सिकायो ।

स्कुल पढ्दादेखि नै अन्याय, अत्याचार, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने विद्रोही स्वभावका सुवेदी कक्षामा जति अब्बल थिए, सामाजिक अनुशासन र सुशासनका लागि त्यति नै दृढ थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेपछि उनको शैक्षिक तिर्खा मेटिएन । क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयबाट ‘डेभलपमेन्ट लिडरसिप’मा डिप्लोमा गरे । उनले विश्वका ४५ भन्दा बढी देश पुगेर त्यहाँको विकास र सुशासनलाई नजिकबाट नियालेका छन् ।

उनले सानै उमेरमा सार्वजनिक सवाल र नीति निर्माणका क्षेत्रमा काम गर्दै बिभिन्न सामाजिक संस्थाहरूको नेतृत्व समेत गरिसकेका छन् । अविवाहित सुवेदी निरन्तर सामाजिक काममा सक्रिय छन् । नेपालमा युवा मन्त्रालय, युवा परिषद् र ‘युथ भिजन २०२५’ निर्माणमा निरन्तर पहलकदमी गर्ने एक महत्त्वपूर्ण युवाका रूपमा उनले आफ्नो भूमिका बनाएका छन् ।

 एक दशकसम्म युवा गैरसरकारी संस्था महासंघको नेतृत्व गरेका सुवेदीले हजारौँ युवालाई स्वदेशमै भविष्य खोज्न प्रेरित गरे । जलवायु परिवर्तन र वातावरण संरक्षणका मुद्दामा सांसदहरूसँग नीतिगत संवाद गरे ।

राजनीति सेवाको माध्यम भएको उनको बुझाई छ । ‘म राजनीतिलाई सेवाका लागि प्रयोग गर्न चाहन्छु,’ उनले भने,‘मैले जीवनको महत्त्वपूर्ण समय सामाजिक काममै बिताएको छु । अब राजनीतिबाट जनतासँग जोडिन चाहन्छु ।’

 आफ्नी स्वर्गीय आमाको स्मृतिमा ‘विष्णुदेवी फाउन्डेसन’ स्थापना गरी उनले गरिब र असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छन् । २०७२ को महाभूकम्पको त्रास होस् वा कोभिड–१९ को महामारी, उनी सँधैं नागरिकको घाउमा मल्हम लगाउन मैदानमा उत्रिए ।

पश्चिम दाङमा सूचनाको उज्यालो छर्न सामुदायिक रेडियो हापुरेको स्थापना गरे । बिभिन्न सामाजिक काममा सक्रिया हुँदाहुँदै उनी राजनीतिमा प्रवेश गरे । ‘पुरानो विरासतले देश बनेन’ भन्ने ठम्याइका साथ २०७९ मा वैकल्पिक राजनीतिमा होमिएका सुवेदीले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दाङ ३ बाट उम्मेदवार भई १५,३२६ मत प्राप्त गरे । पश्चिम दाङका जनतासँग अझ नजिक हुने माध्यम उक्त निर्वाचन थियो ।

रास्वपाको स्थापनाकालदेखि नै केन्द्रीय प्रशिक्षण विभाग सचिवका रूपमा पार्टीको विचार र सिद्धान्त निर्माणमा अहोरात्र खटिएका सुवेदीले अन्ततः दोस्रो प्रयासमा संसदीय यात्रा तय गर्न सफल भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully