२०५५ सालमा सहचालक हुँदै यातायात व्यवसायमा छिरेका रमेशकुमार सापकोटाले आफू भुइँमान्छेबाटै यो स्थानसम्म आएकाले आफूले जनपक्षीय काम गर्ने बताए ।
सुर्खेत — सुर्खेत क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा विजयी भएका छन् । पहिलोपल्ट चुनाव जित्दै सापकोटाले कर्णालीमा रास्वपाको झण्डा फहराएका हुन् । उनी ३० हजार ८ सय ४२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३ सय ७८ मतमा चित्त बुझाए ।
सापकोटाले पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिएका हुन् । उनी रास्वपाका जिल्ला अध्यक्ष हुन् भने सुर्खेतका स्थापित यातायात व्यवसायी पनि । उनी कांक्रेविहार यातायात प्रालिका अध्यक्ष छन् भने रास्वपा आबद्ध हुनुअघि कांग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिव थिए । पुराना दलप्रति आमजनतामा असन्तुष्टि देखिएको भन्दै उनले गत मंसिरमा रास्वपा प्रवेश गरेका थिए । पार्टीको राष्ट्रिय एजेण्डा जनताको पक्षमा भएकाले आफू विजयी भएको उनको भनाइ छ । ‘मतदाता परिवर्तन र सक्षम उम्मेदवार छनोटको मुडमा देखिए, हाम्रो पार्टीप्रति देखिएको जनलहरले पनि मलाई जिताउन सहयोग पुर्यायो,’ निर्वाचित भएपछि उनले भने, ‘मुख्यरूपमा मैले सुशासनको मुद्दालाई जोड दिएको छु, पूर्वाधार र विकास निर्माण पनि मेरा एजेण्डा हुन् ।’ उनले मतदाताको अपेक्षाअनुसार आफूले काम गर्ने र जनपक्षीय कानुन निर्माणमा जोड दिने बताए ।
२०३६ मंसिर १५ गते जन्मिएका सापकोटा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामका स्थायी बासिन्दा हुन् । आफूले साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा यातायात क्षेत्रलाई सिन्डिकेटमुक्त गराउन भूमिका खेलेको उनले जानकारी दिए । सुर्खेतमा रोटरी क्लवमार्फत विभिन्न सामाजिक सेवामा सक्रिय भएको उनको भनाइ छ । उनी सहकारी अभियानका अभियन्तासमेत हुन् । एसएलसीसम्मको अध्ययन पूरा गरेका उनले आफूले कांग्रेस–एमालेको पुरानो गढलाई भत्काउन सफल भएको बताए ।
२०५५ सालमा सहचालक हुँदै यातायात व्यवसायमा छिरेका सापकोटाले आफू भुइँमान्छेबाटै यो स्थानसम्म आएकाले आफूले जनपक्षीय काम गर्ने बताए । ‘मैले आफ्नो करियर पनि सानै कामबाट सुरु गरे, सयौं युवालाई यातायात क्षेत्रको रोजगारीमा जोड्न सकेँ, त्यसैले यहाँका जनताको समस्याप्रति ज्ञात छु,’ उनले भने, ‘ती समस्या समाधानका लागि मतदाताकै साथमा रही चुनावी एजेण्डाअनुसार वाचा पूरा गर्नेछु ।’
