औपचारिक राजनीतिमा लाग्नुअघि इन्जिनियरका रूपमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका परियोजनाहरूमा काम गरेको अनुभव उनीसँग छ ।
सिरहा — सिरहा-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट उम्मेदवार बनेका तपेश्वर यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पहिलोपल्ट चुनाव लडेका यादव ३६ हजार २ सय १० मत प्राप्त गरी सांसद चुनिएका हुन् ।
यस क्षेत्रमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकले ७ हजार ९ सय ९२ मत प्राप्त गरे । यस्तै, जनमत पार्टीका वीरेन्द्र महतो ५ हजार ४१ र नेकपा एमालेका धर्मनाथ साहले ४ हजार २ सय २७ मत पाए ।
यसैगरी, नेपाली कांग्रेसका चन्द्रकलादेवी यादवले ४ हजार ६१ मत पाउँदा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवले ३ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् ।
सिरहाको नरहा गाउँपालिका-५ स्थित नरहा गाउँमा २०४९ साल माघ १५ मा जन्मिएका ३३ वर्षीय उनी त्रिभुवन विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकसम्म अध्ययन गरेका छन् । औपचारिक राजनीतिमा लाग्नुअघि इन्जिनियरका रूपमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका परियोजनाहरूमा काम गरेको अनुभव उनीसँग छ ।
सिरहाको मिर्चैया नगरपालिकामा पनि उनले २ वर्ष करार सेवामा प्राविधिकका रूपमा काम गरेका छन् । २०७९ सालमा नगरपालिकाबाट राजीनामा दिँदै उनी औपचारिक राजनीतिमा प्रवेश गरेका थिए । रास्वपाको स्थापनाकालमै जोडिएका उनी अहिले मधेश प्रदेशका सभापति छन् । तपेश्वर विद्यार्थी जीवनदेखि नै अनौपचारिक ढंगले राजनीतिमा सक्रिय रहँदै आएका थिए ।
२०७५ सालमा नेपाल इन्जिनियर एसोसिएसन अफ मधेशको केन्द्रीय महासचिव बनेका यादव त्यसपछि दुई कार्यकालसम्म मधेश प्रदेश इन्जिनियर संघको अध्यक्षका रूपमा काम गरे । उनी पोखरास्थित तराई विद्यार्थी सेवा समाजका संस्थापक अध्यक्ष पनि हुन् ।
आफ्नो जित मुख्यतः मतदाताको परिवर्तनको चाहनाले भएको यादवले बताए । ‘पुराना नेताहरुले जनतालाई विगतमा ठग्ने काम मात्रै गरे, त्यसकारण जनता वाक्कदिक्क भएका थिए,’ तपेश्वरले कान्तिपुरसित भने, ‘परिवर्तन होस् भन्ने जनताको चाहनाका कारण मैले जितेको हुँ ।’
मतदाताले गरेका अपेक्षामाथि आफू खरो उत्रिने यादवले बताए । यस क्षेत्रको पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा सेवामा सुधार, बेरोजगारी अन्त्यलगायतका मुद्दा आफ्नो प्राथमिकतामा रहने उनी बताउँछन् । ‘मतदाताले हामीसँग धेरै अपेक्षा गरेका छन्, त्यसमाथि खरो उत्रन्छौं,’ उनी भन्छन्, ‘यहाँका समस्या संसद्मा मात्र राख्ने होइन, समाधानका लागि पनि काम गर्छु ।’
तपेश्वरको जितले उनका बुबा सत्यनारायण यादव औधी खुसी छन् । ‘राजनीतिमा उनको रुचि पहिल्यैदेखि थियो, अबदेखि त उनी सांसद भएका छन्, धेरै खुसी लागेको छ,’ उनी भन्छन्, ‘जनताका लागि राम्रो गरोस्, हाम्रो शिर ठाडो हुने गरी काम गरोस् यही शुभकामना छ ।’
