देवराज पाठक: चार दशकको शिक्षणपछि संसदीय यात्रामा ‘पाठक सर’

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, पूर्वसहरी विकास मन्त्री मेटमणि चौधरी र लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीलाई पराजित गर्दै उनी सांसद् निर्वाचित भएका हुन् ।

फाल्गुन २३, २०८२

दुर्गालाल केसी

Devraj Pathak: 'Pathak Sir' on parliamentary journey after four decades of teaching

दाङ — जीवनका उर्जाशील समय शिक्षणमा बिताएका देवराज पाठक उत्तरार्द्धतर्फ नयाँ राजनीतिक शक्तिसँग जोडिए । अनि उक्त राजनीतिक सहभागिताले उनलाई ६० वर्षे उमेरमा संसद्को यात्रा तय गरिदिएको छ ।

दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित हाँसिल गर्दै उनले संसदीय यात्रा तय गरेका छन् । कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, पूर्वसहरी विकास मन्त्री मेटमणि चौधरी र लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीलाई पराजित गर्दै उनी सांसद् निर्वाचित भएका हुन् ।

उनी दाङकै अर्को उपत्यका देउखुरी क्षेत्रका पुराना शैक्षिक व्यक्तित्व हुन् । २०२२ चैतमा गढवा गाउँपालिका–६ गढवामा जन्मिएका पाठक चार दशक शिक्षणमा रमाए । शिक्षणसँगै राजनीतिमा जोडिएका उनी ‘पाठक सर’ का रुपमा परिचित छन् ।

२०४० सालमा उनले माध्यमिक विद्यालय वनगाउँ देउखुरीबाट प्रवेशिका उत्तीर्ण गरे । वाणिज्य शास्त्रमा स्नातक गरेका पाठकले २०५६ मा समाजशास्त्रमा स्नातकोत्तर र २०५८ सालमा सामाजिक मूल्य विषयमा स्नातकोत्तर गरे ।
शिक्षणका क्रममा पनि उनी शिक्षकहरुको नेता थिए । उनले नेपाल शिक्षक संघको जिल्ला उपसभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् । शिक्षक संघमा हुँदा उनले लामो समय काँग्रेस निकट भएर काम गरे ।

२०७९ सालमा उनी तत्कालीन शिक्षक संघ र अध्यापन पेशालाई छोडी रास्वपामा प्रवेश गरे । हाल उनी रास्वपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीमा छन् ।

उनी २०७९ को निर्वाचनमा क्षेत्र नं. १ मै रास्वपाबाट उम्मेदवार भई १३ हजार ७ सय ९८ मत प्राप्त गरी पराजित भएका थिए । त्यतिबेला मेटमणि चौधरी कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार भई २६ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी भएका थिए । २०७४ मा पनि चौधरी तत्कालिन एमालेबाट यही क्षेत्रमा ३७ हजार ९ सय ८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

दुईपटक सांसद् निर्वाचित भई मन्त्री भएका र २०७९ मा आफैलाई हराएका चौधरीलाई पाठकले यसपटक पराजित गर्ने अवसर पाएका छन् । यस्तै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीलाई पनि उनले पराजित गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

केसी २०७४ मा रोल्पा १ (१) मा माओवादी केन्द्रबाट १८ हजार ५ सय १२ मतका साथ प्रदेश सांसद् निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए । संस्थापक मुख्यमन्त्री भएका एमाले महासचिव शंकर पोख्रेल अल्पमतमा परेपछि केसी दोस्रो मुख्यमन्त्री भएका थिए । पोख्रेल २०७४ फागुन ३ देखि २०७८ साउन २७ सम्म मुख्यमन्त्री भएका थिए भने केसी २०७८ साउन २८ देखि २०७९ पुस २७  सम्म मुख्यमन्त्री भएका थिए ।

यस्तै कांग्रेसका सहमहामन्त्री तथा पूर्व संविधानसभा सदस्य योगेन्द्र चौधरीलाई पनि उनले मुख्य प्रतिस्पर्धीका रुपमा पराजित गरेका छन् । चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट २०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए ।

यस्तै एमालेबाट केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा घिमिरे उनका प्रतिस्पर्धी थिए । घिमिरे २०५४ मा चैलाही गाविस अध्यक्ष र २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

यसरी चुनावका अनुभवी नेता र पूर्वमन्त्री तथा सांसदहरुसँग प्रतिस्पर्धा गर्नु कठिन भए पनि उनले जनताको भारी मत प्राप्त गरी संसद्को यात्रा तय गरेका छन् । निर्वाचनमा होमिएको दोस्रो प्रयासमा पाठकले संसद प्रवेश गर्ने अवसर पाएका छन् । शिक्षणको अनुभवलाई उनले यसपटक संसदीय अभ्यासमा प्रयोग गर्दैछन् ।

जनताले दिएको अभिमतले उत्साहित र जिम्मेवारीबोध गराएको उनले बताए । ‘जनताले हामीलाई धेरै नै विश्वास गरेर भारी मत दिएका छन् । यो मतको सम्मान गरेर काम गर्नुपर्ने दायित्व थपिएको छ,’ उनले भने,‘यो हाम्रो लागि अवसर र जिम्मेवारीको भारी हो ।’

राजनीतिमार्फत नीति निर्माण तहमा भूमिका खेल्ने योजनाका साथ राजनीतिमा प्रवेश गरेको बताउँदै उनले आफ्नो शिक्षणका क्रममा कायम गरेको सबैको ‘सर’ को प्रतिष्ठा अझै उँचो बनाउने बताए । राजनीतिमा देखिएका विसंगतिमा सुधार गर्न आफ्नो महत्वपूर्ण भूमिका हुने उनले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully