वरिष्ठ न्युरो चिकित्सकको प्रभावशाली जित

रूपन्देही–३ बाट रास्वपा उम्मेदवार वरिष्ठ न्युरो चिकित्सक डा. लेखजंग थापाले प्रभावशाली जित हासिल गरेका छन् ।

फाल्गुन २३, २०८२

दीपेन्द्र बडुवाल

Impressive victory for senior neurologist

काठमाडौँ — रुपन्देही–३ बाट रास्वपा उम्मेदवार वरिष्ठ न्युरो चिकित्सक डा. लेखजंग थापाले प्रभावशाली जित हासिल गरेका छन् । निर्वाचन कार्यालयका अनुसार थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् । एमालेका वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गरेका छन् । राप्रपाका ७ हजार ७  सय ८९ प्राप्त गरेका छन् । ०७९ काे निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका नेता दीपक बाेहराले जितेका थिए ।

सदरमुकाम सिद्धार्थनगर–९, मा जन्मिएका ४८ वर्षीय थापा चिकित्सायात्रालाई थाती राखेर उम्मेदवार बनेका थिए । २०७९ मा रुपन्देही–३, विजयी राप्रपा नेता दीपक बोहराको निधनपछि तोकिएको उपनिर्वाचनमा थापा रास्वपाबाट उम्मेदवार चुनिएका थिए ।

थापाले आफ्‌नो क्षेत्रमा घरदैलो र मतदाता भेटघाट जारी राखेका थिए ।मुलुकमा जेन–जी आन्दोलनका कारण उपनिर्वाचन सम्भव भएन ।

यसपटक संसदीय चुनावमा पनि रास्वपाले उनलाई नै उम्मेदवार घोषणा गर्‍यो । जसले गर्दा अन्य दलमा को उम्मेदवार बन्ने विषयमा बहस भइरहँदा थापा आफ्‌नो क्षेत्रमा मतदाता भेटघाट गरिरहेका थिए । उपनिर्वाचनताका रास्वपाले उम्मेदवारीका लागि खुला आह्वान गरेको थियो । त्यस क्रममा रुपन्देहीबाट ९ जनाले आकांक्षा देखाएका थिए । आकांक्षीबीच गरिएको प्राइमरी इलेक्सन लगायत आन्तरिक प्रक्रिया पूरा गरेर थापा उम्मेदवार चयन भएका थिए ।

रुपन्देहीका पुराना बासिन्दा थापा यस क्षेत्रका कहलिएका चिकित्सक हुन् । अधिकांश समय संघीय राजधानीमा व्यस्त रहने उनी १५ वर्षदेखि प्रत्येक साता दुई दिन गृहनगर आएर बिरामी जाँच्ने र उपचार गर्थे । भैरहवाको अञ्चलपुरमा उनको न्युरो अस्पताल पनि छ । मत माग्ने क्रममा पनि उनले टोलटोलमा पुगेर बिरामीलाई परामर्श दिएका थिए । चिकित्सक घरदैलोमा आएको जानकारी पाएपछि मतदाता समेत आफ्‌नो शारीरिक समस्या सुनाउँथे । मतदाताका कुरा सुन्ने र उनीहरुकै भावनामा बग्ने भएकाले थापालाई रुचाएका थिए ।

Impressive victory for senior neurologist

चिकित्सक थापाले आफूले दुईवटा ‘लगबुक’ नै तयार गरेर आफ्‌नो क्षेत्र र त्यहाँ रहेका मतदाताका समस्या टिपोट गरेको जनाए । ‘मेरो क्षेत्रको कुन घरमा के समस्या छ भन्ने पनि मैले टिपोट गरेको छु,’ थापाले भने, ‘जनताको परिवर्तन हेर्ने चाहना पूरा गर्छु । कहाँ के सुधार गर्नुपर्छ भन्ने पनि योजना बनाएको छु ।’

स्वास्थ्य, शिक्षासँगै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि उद्योग, व्यवसायमा देखिएका समस्या समाधान गर्न पहल गर्ने उनले बताए । ‘यो जितले मलाई अपेक्षाको भारी बोकाएको छ,’ उनले भने ।

थापाले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट एमडी अध्ययन गरेका हुन् । यसका साथै साउथ एसियन युनिभर्सिटीबाट अटिजमसम्बन्धी पीएचडी उपाधि हासिल गरेका छन् । सन २०२४ मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट सेफ्टी क्वालिटी लिडरसिप एन्ड अन्फरमेटिभ विषयमा स्नातक अध्ययन पूरा गरेका छन् ।

पूर्णकालीन रुपमा राजनीतिमा होमिनुअघि थापा काठमाडौंको महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभाग प्रमुखको रुपमा कार्यरत थिए । उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् ।

डा. थापा पक्षाघात जस्तो गम्भीर स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने र उपचार प्रणाली सुधारका लागि लामो समयदेखि कार्यरत छन् । थापाले २०८० साल असारमा रास्वपाको सदस्यता लिएका थिए । त्यसपछि औपचारिक राजनीतिक यात्रा सुरु गरेका थापा २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सूचीमा परेका थिए ।

दीपेन्द्र

Link copied successfully