दासप्रथा विरुद्धको संघर्षमा उनले सशक्त नेतृत्व प्रदान गर्दै पीडित समुदायको हकअधिकारका लागि आवाज उठाएका थिए ।
नेपालगन्ज — बाँके क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुरेश कुमार चौधरी निर्वाचित भएका छन् । लामो समयदेखि शिक्षा, सामाजिक जागरण र मानवअधिकारका क्षेत्रमा सक्रिय सुरेशकुमार चौधरीले बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदै प्रतिनिधि सभा यात्रा सुरु गरेका छन् । रास्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका चौधरीले अन्तिम मतपरिणाम अनुसार ३२ हजार ७९२ मत प्राप्त गर्दै जित निकाले ।
चौधरी कमैया मुक्ति आन्दोलनका केन्द्रीय संयोजक तथा कमैया मुक्ति मञ्चका महासचिवका रूपमा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्ति हुन् । दासप्रथा विरुद्धको संघर्षमा उनले सशक्त नेतृत्व प्रदान गर्दै पीडित समुदायको हकअधिकारका लागि आवाज उठाएका थिए । यसैगरी उनले मानव अधिकार सचेतना मञ्च बाँकेको संयोजक भएर उत्पीडित, पछाडि पारिएका र सीमान्तकृत समुदायका अधिकार र न्यायका पक्षमा निरन्तर वकालत गर्दै आएका छन् ।
सामाजिक अभियानसँगै उनले कृषि कर्ममा रमारहेका छन् । न्यू चौधरी गाई फर्म, अरिना कृषि तथा च्याउ फर्म र आनन्द गार्डेन रिसोर्ट सञ्चालन गर्दै आधुनिक कृषि तथा व्यवसायमा संलग्न चौधरीले २०३९ सालदेखि राजनीतिक यात्रा सुरु गरेका थिए । २०७९ को संसदीय निर्वाचनमा थारु समुदायको प्रतिनिधित्व गर्दै ११ हजार ४५४ मत प्राप्त गरी जनविश्वास आर्जन गर्न सफल भएका थिए । नागरिक उन्मुक्ति पार्टीबाट २०७९ को संसदीय चुनाव लडेका चौधरी पार्टी रास्वपामा समाहित भएपछि टिकट पाएका थिए ।
बाल्यकालदेखि नै सामाजिक विभेदविरुद्ध संघर्ष गर्दै आएका चौधरी नागरिक सर्वोच्चता, समानता र सुशासनका पक्षमा विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएका छन् । उनी लामो समयसम्म शिक्षण पेशामासमेत आबद्ध थिए ।
चौधरीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरि, नेकपा (एमाले) का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
