धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट फराकिलो मतान्तरले विजयी भएका रास्वपाका नेता झा ४५ वर्षका हुन् । झाले ४३ हजार १ सय ४२ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९ सय ९२ मत ल्याएर पराजित भए ।
जनकपुर — निर्वाचितको प्रमाणपत्र बुझ्नै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले छेउमै उभिएका भतिज हर्षित झालाई आफूनजिक ताने । हर्षितको हातमा उनको बुवा अमित झाको तस्बिर थियो ।
हर्षको समयमा मनिषले दाजुलाई सम्झिए । आफ्नो जितको प्रमाणपत्र बुझ्दा उनले दाजु अमितलाई साक्षी राखे । ‘म राजनीतिमा आउँ, चुनाव लडूँ भनेर दाजुको सधैं इच्छा थियो,’ मनिषले कान्तिपुरसँग भने,‘त्यो ठाउँ(सांसद जित्दा) मा पुग्दा दाजुको सम्झना आउने नै भयो ।’
२०७७ फागुन १९ गते मनिषका दाजु अमितको अल्पआयुमै मस्तिस्क घात भएर काठमाडौंमा निधन भएको थियो । दाजु अमित अध्यक्ष रहेको संस्था नव मिथिला फाउन्डेशनले त्यही दिन जनकपुरको जानकी मन्दिरमा जनकपुर साहित्य महोत्सवको आयोजना गरेको थियो । मनिष दाजु अमितको शव बोकेर जनकपुर आइपुगेका थिए । उनी महोत्सवको मञ्चमा उक्लिँदै भावुक भएर दाजु अमितको दु:खद खबर सुनाए । र, त्यहीबाट उनको स्मृतिमा पुरस्कारको घोषणा गरे ।
‘अहिलेसम्मको मेरो संघर्ष, पोजिशन र अवसर सबैमा दाजुको प्रेरणा छ,’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका मनिषले भने,‘उहाँको सम्झना रहिरहन्छ ।’ अमितका छोरा हर्षितले काका मनिषले विजयीको प्रमाणपत्र बुझ्ने क्रममा आफू र बुवालाई साक्षी राखेकोमा खुशि व्यक्त गरे । ‘एकदमै खुसी लाग्यो । बुवालाई सम्झिएँ । उहाँको माया–ममता याद आयो ।’ हर्षित पनि काका मनिषले राम्रो काम गर्ने दाबी गरे ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट फराकिलो मतान्तरले विजयी भएका रास्वपाका नेता झा ४५ वर्षका हुन् । झाले ४३ हजार १ सय ४२ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९ सय ९२ मत ल्याएर पराजित भए । यसअधि, ०७९ को निर्वाचनमा उनी रास्वपाकै समानुपातिक सांसद थिए । प्रतिनीधि सभाको तीन वर्षको अवधिमा ९५ प्रतिसत उपस्थिती जनाएका झा भने सार्वजनिक लेखा समितिका सदस्य पनि थिए । रास्वपामा जानुअघि झा नेपाली कांग्रेसमा सक्रिय थिए ।
फ्याक्टस नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहेका झाले राजनीति शास्त्रमा स्नातकोत्तर र मैथिली साहित्यमा पनि स्नातकोत्तर गरेका छन् । झाले जनकपुरको विकासका लागि आफू तत्पर रहने प्रतिक्रिया दिए । ‘थुप्रै एजेन्डामा काम गर्नुपर्ने छ । पहिलो त निर्वाचनको बेला बाचा गरेकै एजेन्डालाई प्राथमिकतामा राख्नेछु,’ झाले भने, ‘सरकारी कार्यालयको सेवालाई चुस्तदुरुस्त बनाइनेछ । जनकपुरलाई बैवाहिक गन्त्व्यका लागि काम गर्नुपर्नेछ । रामजानकी रंगशालालाई प्रमथमिकतामा राखेर अघि बढ्ने छु । जनकपुर विमानस्थल र रेल्वेको स्तरउन्नतीको काम पनि थालिनेछ ।’
