कास्की ३ : बिनाको समाजसेवाबाट संसद् यात्रा

कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई तेब्बर मतान्तरले पराजित गर्दै बिना प्रतिनिधिसभामा

फाल्गुन २३, २०८२

दीपक परियार

Kaski 3: Journey to Parliament through social service without any help

पोखरा — समाजसेवाको बाटो भएर राजनीतिमा स्थापित हुन सहज छैन । तर कास्की क्षेत्र नम्बर–३ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बिना गुरुङले त्यो सहज नलाग्ने यात्रालाई आफ्नो कर्म, दृढता र जनसेवाको बलमा सम्भव बनाइदिएकी छन् । कास्की–३ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी भन्दा तीन गुणा बढी मत ल्याएर ऐतिहासिक जित हासिल गरिन् ।

प्रतिस्पर्धी कांग्रेसका मनोज गुरूङलाई २४ हजार ९ सय ७० मतान्तरले हराउँदै निर्वाचित भएकी हुन् । उनले ३७ हजार ७ सय ५० मत प्राप्त गर्दा कांग्रेसका मनोज गुरूङले १२ हजार ७ सय ८० मत प्राप्त गरे । ०७९ मा उक्त क्षेत्रमा निर्वाचित एमालेका दामोदर पौडेल बैरागी यसपल्ट तेस्रो भए । उनले ७ हजार ९ सय ६ मत मात्रै प्राप्त गरे । यस क्षेत्रमा जम्मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामध्ये ६५ हजार ४ सय ७ अर्थात् ६०.८१ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरे । त्यसमध्ये ३० हजार ९ सय ९ पुरुष, ३४ हजार ४ सय ९७ महिला र १ अन्य मतदाताले मतदान गरे । २ हजार ७ सय ५८ मत बदर भयो । उल्लेखनीय छ, खसेको मतमध्ये महिला मतदाताको संख्या पुरुषभन्दा बढी रह्यो । यहाँ १६ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए ।

पर्वत जन्मिएर पोखरालाई कर्मथलो बनाएकी ५३ वर्षीया बिना गुरुङ अचानक राजनीतिमा आइपुगेकी होइनन् । उनको राजनीतिक यात्राको जग दशकौंको सामाजिक सक्रियता र सामुदायिक नेतृत्वमा आधारित छ । सञ्जीवनी दिदीबहिनी संघ नेपालको संस्थापक अध्यक्ष रहेकी उनले महिला एकता र सशक्तिकरणका लागि जमिनी स्तरमा अथक काम गरेकी छन् । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकी पूर्व अध्यक्ष तथा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जेकी वरिष्ठ सल्लाहकारको नाताले उनले पोखरा र वरपरका समुदायमा शैक्षिक, स्वास्थ्य र आर्थिक विकासका अनेक कार्यक्रम सञ्चालन गरेकी छन् ।

Kaski 3: Journey to Parliament through social service without any help

उनको सामाजिक सञ्जाल व्यापक छ । तमु धिं नेपालको केन्द्रीय सदस्य, तमु सांस्कृतिक प्रतिष्ठान नेपालकी आजीवन सदस्य तथा ट्रस्टी, हिमाली सांस्कृतिक परिवार नेपालकी आजीवन सदस्य, सिर्जना संसार कोसेली घर र कोपिला नेपालकी सल्लाहकार, यी सबै भूमिकाहरूले उनलाई पोखरेली समाजको भरपर्दो पहिचानका रूपमा स्थापित गर्दै आएका थिए । त्यही विश्वासको पुँजी उनले यस निर्वाचनमा मतमा रूपान्तरण गरिन् ।

सामाजिक क्षेत्रमा मात्र सीमित नरहेकी गुरुङ व्यावसायिक जगतमा पनि उत्तिकै सक्रिय छिन् । पञ्चासे केबलकारको सञ्चालक समिति सदस्यका रूपमा उनले पर्यटन पूर्वाधार विकासमा योगदान पुर्‍याएकी छन् भने गोल्डेन सहकारीकी उपाध्यक्षको नाताले स्थानीय आर्थिक सहकार्यलाई मजबुत बनाउँदै आएकी छन् । अस्ट्रेलिया, जापान, थाइल्यान्ड, युएई, युके, भारत, भुटान, मलेसिया, सिंगापुर र हङकङ जस्ता देशहरूको भ्रमण गरेर आर्जित अन्तर्राष्ट्रिय अनुभव र दृष्टिकोण उनका लागि थप बलको स्रोत बनेको छ । औपचारिक अध्ययनलाई भने उनले १२ कक्षा भन्दा माथि पुर्‍याउन सकिनन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आबद्ध भएपछि उनले गण्डकी प्रदेश कोषाध्यक्षको जिम्मेवारी सम्हालिन् । पार्टीको गण्डकी प्रदेशबाट एकमात्र महिला उम्मेदवारका रूपमा कास्की–३ बाट उम्मेदवारी दिएकी उनले केवल व्यक्तिगत लोकप्रियतामा मात्र भर नपरी जनताका वास्तविक समस्यालाई मुद्दा बनाएर चुनाव लडिन् । गण्डकीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट प्रतिनिधित्व गर्ने उनी एकमात्र महिला हुनेछिन् ।

उनको चुनावी एजेन्डाको केन्दमा महिला सशक्तीकरण रह्यो । आर्थिक आत्मनिर्भरता, सामाजिक समानता र नेतृत्वमा महिलाको पहुँच विस्तार, यी तीन स्तम्भमा उनले आफ्नो भविष्यको कार्यसूची बुनेकी छन् । ‘म यो क्षेत्रमा महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने, उनीहरूको क्षमताको पूर्ण उपयोग गर्ने र नेतृत्वमा पहुँच सुनिश्चित गर्ने दृढ संकल्पका साथ अघि बढेकी छु,’ उनले विजयपछि भनिन् ।

दशकौंसम्म जमिनमा उभिएर महिलाका लागि काम गरेकी गुरुङ अब संसद्को मञ्चबाट नीतिगत परिवर्तनका लागि लड्न तयार छिन् । ‘कुनै राजनीतिक लाभ लिने र घुम्ने कुर्सीमा बस्ने भन्दा पनि कसरी जनताको सेवा गर्न सकिन्छ, यो गाउँ बस्तीमा डुल्ने क्रममा देखिएका बुबा आमाका आँशु पुछ्न सकिन्छ भन्ने हेतुले राजनीतिमा आएको हुँ,’ जितपछि उनले भनिन्, ‘निवेदनका पत्रहरु फाइलिङ गरेर राखेकी छु । फुर्सदको समयमा एक–एक गरेर हेर्नेछु । उहाँहरुको आवाज संसदसम्म पुर्‍याउनेछु । हामी काम गर्ने भनेर आएका छौं । कामले नै परिणाम देखाउनेछौं ।’ विजय घोषणा लगत्तै प्रमाणपत्र बुझ्ने कार्यक्रममा उनी जेन–जी आन्दोलनका सहिद र उनीहरुको परिवारलाई सम्झिएर भावुक भइन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully