निर्वाचनको केही दिनअघि मात्रै पार्टी फेरेका राई तेस्रोपटक सदनमा

बाँके क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवार बनेका उनले २४ हहजार ६ सय २८ मत ल्याउँदै जित हात पारे । यसअघि दुईपटक यसै क्षेत्रबाट निर्वाचित राईले दुईपटक नै मन्त्रीसमेत बन्ने अवसर पाइसकेका छन् ।

फाल्गुन २३, २०८२

रुपा गहतराज

Rai, who changed parties just days before the election, is running for the third time in the House.

नेपालगन्ज — मधेश आन्दोलनबाट स्थापित पूर्वमन्त्री मोहम्मद इश्तियाक राई तेस्रोपटक संसद्‌मा प्रवेश गरेका छन् । बाँके क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवार बनेका उनले २४ हहजार ६ सय २८ मत ल्याउँदै जित हात पारे । यसअघि दुईपटक यसै क्षेत्रबाट निर्वाचित राईले दुईपटक नै मन्त्रीसमेत बन्ने अवसर पाइसकेका छन् । 

शनिबार आएको मतपरिणाम अनुसार उनका प्रतिद्वन्द्वी रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले १७ हजार ५ सय ९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दिपक कुमार दाहालले जानकारी दिए  ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री राई केही समयअघि मात्र एमालेमा प्रवेश गरेका थिए । २०३६ सालमा बाँकेमा जन्मिएका राई २०५३ सालमा राजनीतिमा आएका थिए । राई २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम प्रवेश गरे । त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिव भए । आन्दोलनका क्रममा पटक–पटक पक्राउ परेर हिरासतमा बसे ।

राई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जन अधिकार फोरमको उम्मेदवार भएर बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि २०६८ सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री बने । २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर केपी ओली नेतृत्वको सरकारका शहरी विकास मन्त्री भए । ओलीले असंवैधानिक बाटोबाट विघटन गरेको संसद् सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा पनि उनी केही महिना भौतिक पूर्वाधार विकास मन्त्री बने ।

२०६४ सालमा संविधानसभाको चुनावमा मधेसी जनाधिकार फोरमबाट १९ हजार ३९६ मत प्राप्त गर्दै उनले बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०७४ सालमा संघीय समाजवादी फोरम नेपालबाट २१ हजार ५७५ मत ल्याएर प्रतिनिधि सभा का लागि निर्वाचित भएका थिए । २०७० र २०७९ सालमा भने उनले हार बेहोर्नुपर्‍यो । यही हारलाई जितमा बदल्न उनी फेरि पाँचौ पटक जनताको बीचमा आएका थिए । २०७० सालमा  एमालेका दिनेश चन्द्र यादव सँग पराजित भएका राई २०७९ सालमा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणासँग पनि पराजित भएका थिए । त्यसबेला राईलाई ६ हजार ५७ मतान्तरले पराजित गर्दै जबरा विजयी भएका हुन् । जबराले २९ हजार ५७७ मत ल्याएका थिए भने राईले २३ हजार ५२० मत ल्याएका थिए । 

यसपटक राईले निर्वाचनको केही दिनअघि मात्रै पार्टी फेरेका थिए । राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका मुस्लिम समुदायका राई नेपालगन्जको शहरी विकास र बाँके जिल्लाको भौतिक पूर्वाधार क्षेत्रमा आफूले योगदानको सम्मान भएको बताउँछन् । 

पूर्वमन्त्री राईले अहिले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने वाचा गरेका छन् । ‘मैले सम्पूर्ण मतदातालाई यो जनमतका लागि धन्यावाद दिन चाहन्छु । यो अवसर सरकार बनाउने मात्र होइन् राजनीति संस्कार सुधार्ने अवसरका रुपमा लिएको छु ’उनले भने । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully