बासनाले १२ वर्षपछि जोगाइन् दैलेख–१ मा कांग्रेसको विरासत

२०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुले यसपटको विषम परिस्थतीमा बासना थापालाई विजयी बनाएका छन् ।

फाल्गुन २३, २०८२

ज्योति कटुवाल

Basna preserves Congress' legacy in Dailekh-1 after 12 years

काठमाडौँ — दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा १२ वर्षपछि नेपाली कांग्रेस कम्युनिस्टको गढमा प्रवेश गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुले यसपटको विषम परिस्थतीमा बासना थापालाई विजयी बनाएका छन् । कुनै समय कांग्रेसको गढ मानिएको यो क्षेत्रमा गठबन्धन संस्कृतिका कारण हलो र हसियाँ हथौडामा भोट हालेका कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुले यसपटक राजनीतिकरुपमा अनुभवी र पाका नेतालाई पाखा लगाउँदै थापालाई सांसद चुनेका छन् । 

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा थापाले १२ हजार तीन सय ७२ मत प्राप्त जित निकालेकी छन् । थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर पाँच सय ७६ छ । थापालाई चुनौती दिएका रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार एक सय ५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले चार हजार दुई सय ५६ मतका साथ लज्जास्पद हार व्यहोरेका छन् । 

रास्वपाको पक्षमा देशभर जनलहर चलेका बेला थापा उनै नेतृ हुन्, जो पुराना दलबाट एक मात्र प्रत्यक्षतर्फ महिला सांसद चुनिएकी छन् । हालसम्म अन्य पुराना दलबाट महिला उम्मेदवारको विजयी यात्रा तय भइसकेका छैन । २०४८, २०५१ र २०६४ सम्मका सबै निर्वाचमा यस क्षेत्रबाट कांग्रेसले अविजित यात्रा निकालेको थियो ।

२०६४ सम्मका तीन निर्वाचनमा कांग्रेसका गणेशबहादुर खड्काले जित निकालेका थिए । तर २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा खड्कालाई हराएर तत्कालीन नेकपा एमालेका अमरबहादुर थापा (अहिले नेकपाका उम्मेदवार) ले दैलेख–१ मा कम्युनिस्टको झण्डा फहराएका थिए । 

त्यसयता सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठबन्धन प्रवृत्तिका कारण उम्मेदवार उठाएको थिएन । यस क्षेत्रमा कांग्रेसीहरुले २०७४ मा हलो र २०७९ मा हँसिया हथौडामा भोट हालेका थिए । २०७० मा कांग्रेसको विरासत भत्काउने थापालाई भारी मतान्तरले हराएर बदला लिएकी छन् । १२ वर्षपछि उम्मेवार उठाएको कांग्रेसकी बासनाको जनप्रतिनिधि बन्ने यो दोस्रो प्रयास हो । उनी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखको नारायण नगरपालिका उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । तर उनी एमालेकी सावित्री मल्लसँग पराजित भइन् । उक्त निर्वाचनमा उनले चार हजार आठ सय ६६ मत प्राप्त गरेकी थिइन् ।

१५ जेठ २०३७ मा काठमाडौं जन्मिएकी थापा २०५७ सालदेखि कांग्रेसन निकट विद्यार्थी संगठनबाट राजनीतिमा होमिएकी हुन् । २०६१ बाट दैलेखमा कांग्रेसको क्रियाशील सदस्य बनेकी थापाले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन् । विभिन्न सेवामुलक सामाजिक सस्थामा जोडिएकी थापा होटल व्यवसायीसमेत हुन् । थापा कांग्रेसको १४औं महाधिवेशनमा शेखर समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार थिइन् । यद्यपी, नतिजा भने उनको हातमा परेन । १३ महाधिवेशन प्रतिनिधि रहेकी थापा महासमिति सस्यसमेत बनेकी थिइन् । उनी २३–२४ भदौको जेन–जी आन्दोलनपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनका पक्षमा खुलेकी थिइन् । थापाले भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनी नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully