उनले ५४ हजार ४०२ मत ल्याए । लामिछानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनकुमारी खरेलको १४ हजार ५६४ मत आयो ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य पदका लागि चितवन-२ बाट शनिबार निर्वाचित भएका छन् । उनले ५४ हजार ४०२ मत ल्याए । लामिछानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनकुमारी खरेलको १४ हजार ५६४ मत आयो ।
एमालेका अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६९ आएको छ । लामिछाने २०७९ को निर्वाचनमा पहिलो पटक यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । यो क्षेत्रमा उपचुनाव हुँदा लामिछाने नै उम्मेदवार बनेर विजयी भएका थिए ।
चितवन-२ बाट लामिछानेको यो तीन वर्षको अन्तरालमा तेस्रो जित हो । २०७९ सालको निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र तेस्रो स्थानमा रहेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । निर्वाचित भएसँगै लामिछाने गृहमन्त्रीसमेत भए ।
अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिदा प्रकृया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले २०७९ को माघमा लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यसपछि चितवन-२ मा उपचुनाव भएको थियो । प्रकृया पूरा गरेर नागरिकता लिएपछि उप चुनावमा पनि लामिछाने नै उम्मेदवार भए । २०८० बैशाखमा भएको उपचुनावमा लामिछानेले पहिलाको भन्दा पनि धेरै ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए ।
त्यो बेला उनको निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ र तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेको १० हजार ९३६ मत आएको थियो । त्यसपछि २०८१ पुस ७ मा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि लामिछानेको पद निलम्बनमा परेको थियो । उनी निलम्बनमा रहँदा भदौं २३ र २४ मा जेनजीहरूको आन्दोलन भयो ।
जसका कारण तत्कालिन सरकारका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए । त्यसपछि गठन भएको सरकारले जेनजी आन्दोलनको मर्म अनुसार भन्दै संसद विघटन गरेको थियो । जसका कारण फागुन २१ मा यो निर्वाचन भएको हो ।
