जतिबेला पार्टी सभापति रवि लामिछाने कारागारमै थिए, त्यसबेला यो एकताका लागि चुपचाप काम गरिरहेका थिए, पुकार बम ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहसमेत जोडिएपछि यो पार्टीको पक्षमा जनलहर देखिएको छ । यहीँ उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई समेत ल्याउने प्रयास भएको थियो । एकपटक भएको सहमतिसमेत तुहिएपछि घिसिङले एक्लै चुनाव लडे, पराजय भोगे ।
तर, जतिबेला पार्टी सभापति रवि लामिछाने कारागारमै थिए, त्यसबेला यो एकताका लागि चुपचाप काम गरिरहेका थिए, पुकार बम । पार्टीले उनको नेतृत्वमा संवाद समिति बनाएको थियो, जसले बालेन्द्र, घिसिङसहित विवेकशील साझा पार्टीसँग कुराकानी गरिरहेको थियो । घिसिङलाई सुरुवातमा प्रधानन्त्रीसमेत प्रस्ताव गरिएको थियो । पछि वार्ता सकरात्मक दिशामा गएको भन्दै उच्चस्तरीय छलफलका लागि स्वर्णीम वाग्लेको नेतृत्वमा समिति बनेको थियो ।
यसरी रास्वपामा सभापति कारागारमै भएका बेलादेखि एकताको गृहकार्य थालेका पुकार बम काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । बलमे २९ हजार १४२ मत ल्याउँदा कांग्रेस उम्मेदवार सचिन तिमल्सिनाले ८ हजार ८२४ मत र एमाले उम्मेदवार राजन भट्टराईले ५ हजार ७३३ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुरेन्द्रराज भण्डारीले २०२५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका इन्द्र भुसालले ६५७ मत ल्याए ।
विवेकशील पार्टीको संस्थापक मध्येका एक बमले पहिलो पटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए । त्यसबेला कुकुर चुनाव चिह्नबाट चुनाव लडेका उनी निरन्तर सामाजिक अभियानमा जोडिइरहेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनले काठमाडौं ८ बाट प्रतिष्पर्धा गरेका थिए ।
‘विभिन्न सडक आन्दोलनका क्रममा पनि उनलाई बारम्बार सडकमै सक्रिय रूपमा देख्ने, भेट्ने र सहकार्य गर्ने अवसर मिल्यो,’ लेखक सञ्जीव कार्कीले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘विशेषतः 'नेपाल बन्द' संस्कृतिको विरोधमा सञ्चालन गरिएको 'नेपाल खुला छ' अभियानका क्रममा उनी स्वयं अग्रमोर्चामा उभिएर रिक्सा चलाउँदै बन्द संस्कृतिको प्रतिवाद गर्दै गरेको दृश्यले मलाई गहिरो प्रभाव पारेको थियो ।’
पुकारमा उन्माद वा अन्धआग्रहको प्रवृत्ति नदेखिने भन्दै उनी विचारप्रति दृढ रहेको कार्कीले उल्लेख गरेका छन् । पुकार २०७२ सालको भूकम्पमा राहत वितरणदेखि, कोरोना महामारीका बेला विपन्नलाई निःशूल्क खाना खुवाउने अभियानमा जोडिएका थिए । कोरोना भाइरस महामारीका बेला विरामीका लागि अक्सिजन वितरणमा समेत सक्रिय भएका थिए ।
२०६९ मा भएको ‘अकुपाइ बालुवाटार’ अभियानदेखि डा. गोविन्द केसीको पक्षमा भएको अभियानमा समेत उनी सधैँ सरिक हुन्थे । संविधान निर्माणका ताका निरन्तर विभिन्न माग राखेर हुने आन्दोलनको विरोधमासमेत उनी सडकमा उत्रिन्थे । नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार, संविधान कहिले?’ जस्ता अभियानको अग्रमोर्चामा उनै बम देखिन्थे ।
कोरोना महामारीका बेलासमेत व्यापक परीक्षण बढाउनुपर्नेलगायतका माग राख्दै उनी १२ दिनसम्म अनसन बसेका थिए । विवेकशील साझा पार्टीमार्फत राजनीति गरिरहेका उनले पार्टीमा रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि स्वतन्त्र रहँदै आएका थिए । पछि विराजभक्त श्रेष्ठहरुसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीति थालेका थिए ।
कैलालीको धनगढीका बम २०५९ सालमा डाक्टर बन्न भन्दै काठमाडौं आएका थिए । तर, १६ भदौ २०६१ मा इराकमा १२ नेपालीको हत्या भएपछि काठमाडौंमा फैलिएको हिंसामा घाइतेको उद्दारका लागि खटिएपछि उनी सामाजिक कार्यतिर मोडिए । त्यसपछि बेथितिको विषयमा आवाज उठाउन थाले ।
उनले केही साथीहरुसँग मिलेर ‘नेपाल युनाइट्स फर चेन्ज’ नामक अभियान चलाएका थिए । त्यही अभियानका क्रममा उनले उज्जवल थापालाई भेटेका थिए । पछि उनीहरुले सँगै विवेकशील नेपालीका स्थापना गरेका थिए ।
पुकारलाई उनका कतिपय साथीहरुले सडकमा प्रतिपक्षी भन्छन्, अब प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएलगत्तै उनी सदनमा पुगेर आवाज बोल्ने भएका छन् ।
