मोरङ निर्वाचन क्षेत्र नम्बर–४ को चुनावी परिणामले पुराना राजनीतिक दलहरुका उम्मेदवाराई पाखा लगाउँदै राजवंशी विजयी भए ।
विराटनगर — रास्वपाका युवा नेता सन्तोष राजवंशी कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, पूर्वमन्त्री अमन मोदीलगायतलाई हराउँदै राजनीतिमा उदाएका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर–४ को चुनावी परिणामले पुराना राजनीतिक दलहरुका उम्मेदवाराई पाखा लगाउँदै राजवंशी विजयी भए । उनले ४० हजार ८ सय ३३ मत पाए । कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजर ८ सय १८, नेकपाका अमनलाल मोदीले १० हजार ६ सय ६२ र एमालेका जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत पाए ।
वि.सं. २०४८ साल कात्तिक १२ गते मोरङमा जन्मिएका सन्तोष राजवंशी सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका नेता हुन् । उनका पिता राम पुजन राजवंशी हुन् । बाल्यकालदेखि नै स्थानीय समाजको वास्तविकता, संघर्ष र आवश्यकतासँग नजिक रहेर हुर्किएका राजवंशीले गाउँकै जीवनबाट समाज र राजनीतिलाई बुझ्ने दृष्टि विकास गरे । यही अनुभवले उनलाई जनताको दैनिक समस्या र आवश्यकताप्रति संवेदनशील बनाएको छ ।
राजवंशीको सार्वजनिक जीवनको अर्को महत्त्वपूर्ण पाटो पत्रकारिता हो । पत्रकारितामा सक्रिय रहँदा उनले समाजका विविध मुद्दा, विकासका चुनौती र जनताको आवाजलाई नजिकबाट देख्ने अवसर पाए । यही अनुभवले उनलाई समस्या विश्लेषण गर्ने, तथ्यमा आधारित धारणा बनाउने र जनतासँग प्रत्यक्ष संवाद गर्ने क्षमतामा निखार ल्यायो । राष्ट्रिय स्वतन्त्र पार्टीका सक्रिय नेताका रूपमा राजवंशी पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिमा विश्वास राख्छन् ।
उनको नेतृत्व शैलीमा समुदायसँग प्रत्यक्ष संवाद गर्ने, समस्याको जरा पहिचान गर्ने र व्यवहारिक समाधान खोज्ने प्रवृत्ति देखिन्छ । जित पछि उनले दलगत स्वार्थभन्दा माथि उठेर स्थानीय विकास र जनताको आवश्यकता केन्द्रित राजनीति गर्ने जनाए ।
राजवंशी शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्यायका मुद्दामा सक्रिय रूपमा काम गरिरहेका छन् । विशेषगरी युवालाई सामाजिक र राजनीतिक प्रक्रियामा सहभागी गराउने विषयमा उनले जोड दिएका छन् । उनको विचारमा स्थानीय विकास तब मात्रै सम्भव हुन्छ, जब समुदाय स्वयं विकास प्रक्रियामा सहभागी हुन्छ ।
मोरङ–४ को प्रतिनिधित्व गर्दै राजवंशीले स्थानीय पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, रोजगार सिर्जना र सामाजिक समावेशितालाई प्राथमिकतामा राख्ने बताएका छन् । उनको लक्ष्य मोरङ–४ लाई दिगो र समावेशी विकासको दिशामा अघि बढाउनु हो । स्थापित नेताहरूलाई पराजित गर्दै राजनीतिमा उदाएका राजवंशी अहिले मोरङको राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधि नेताका रूपमा चर्चा बटुलिरहेका छन् ।
