अहिलेसम्म एक स्थानमा मात्र जित निकाल्न सफल भएको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा उसले ७८ सिटसहित दोस्रो स्थानमा थियो ।
काठमाडौँ — विघटित संसद्को दोस्रो ठूलो दल एमाले यो प्रतिनिधिसभा निर्वाचनमा कठिन संघर्ष गरिरहेको छ । अहिलेसम्म एक स्थानमा मात्र जित निकाल्न सफल भएको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा उसले ७८ सिटसहित दोस्रो स्थानमा थियो ।
पछिल्लो नतिजा अनुसार निर्वाचनको मुखमा एमालेमा प्रवेश गरेका मोहम्मत इश्तियाक राई बाँके २ बाट निर्वाचित भएका छन् । राईको जितसँगै एमालेले पहिलो खाता खोलेको छ । उनले २४ हजार ६ सय २८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठलाई परााजित गरे । श्रेष्ठले १८ हजार ६ सय ८२ मत ल्याएका छन् ।
जारी मत गणना अनुसार एमाले १३ स्थानमा अग्रता लिएको छ । उदयपुर २ का अम्बर बहार रायमाझी, धनुषा १ मा रामचन्द्र मण्डल, सिन्धुली १ मा प्रदीप कुमार कटवाल क्षेत्री (केसी), स्याङजा २ मा खिमबहादुर थापा, पाल्पा १ मा नारायणप्रसाद आचार्य, दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल, बझाङमा ऐनबहादुर महर, अछाम २ मा यगबहादुर बोगटी, डोटी १ मा दीपक धामी र दार्चुलामा गणेशसिंह ठगुन्नाले अग्रता लिएका छन् ।
