डा. तोसिमा कार्की : दोस्रोपटक संसद्को यात्रामा 

जनरल सर्जरी मेडिसिनमा स्नातकोत्तर उनले सहिद धर्मभक्त माविबाट एसएसली र चोभारको मोर्डन इन्डियन स्कुलबाट १२ पास गरेकी हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Dr. Toshima Karki: On his second trip to Parliament

काठमाडौँ — ललितपुर–३ मा ३६ वर्षीया चिकित्सक तोसिमा कार्की पुनः विजयी भएकी छिन् । नवलपरासी पुर्ख्यौली थलो रहेको उनी हाल ललितपुर–१८ मा बसोबास गर्दै आएकी छिन् । उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन् ।

उनले ४३ हजार ९६ मत ल्याउँदै प्रतिस्पर्धी नेकपाका रामकाजी महर्जनलाई पराजित गरेकी छिन् ।

जनरल सर्जरीमा मेडिसिनमा स्नातकोत्तर उनले सहिद धर्मभक्त माविबाट एसएसली र चोभारको मोर्डन इन्डियन स्कुलबाट १२ पास गरेकी हुन् । पढाइमा अब्बल कार्कीले ललितपुरको किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट चिकित्सा शिक्षामा स्नातकोत्तर गरिन् ।

२०७२ को भूकम्प र कोभिड महामारीमा नागरिकको सेवामा खटिएकी चिकित्सक हुन् उनी । मधेश प्रदेश, सिन्धुपाल्चोक, नुवाकोट लगायतको जिल्लामा उनले स्वयंसेवा गरेकी थिइन् । उनले केही समय पाटन अस्पतालमा समेत काम गरेकी थिइन । २०७१/०७२ देखि मेडिकल कलेजका विकृति विसङ्गतिविरुद्ध आवाज उठाउँदै आएकी छिन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अभियानमा उनी संक्रिय रुपमा जोडिएकी थिइन् । रास्वपा प्रवेश गरेर २०७९ मा ललितपुर–३ बाट निर्वाचित भइन् । २०७९ माघ ३ देखि २२ गतेसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिन् ।

डा. कार्की २०७९ मा ललितपुर–३ बाट तत्कालीन ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई हराउँदै निर्वाचित भएकी थिइन् । तोसिमाले ३१ हजार १३६ मत पाएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । माओवादीकी भुसालले ८ हजार ७६९ मत मात्र पाएकी थिइन् । डा.कार्की ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारासहित मतदातामाँझ पुगेकी थिइन् । कार्कीको उम्मेदवारी सुरुमा निर्वाचन आयोगले खारेज गरेको थियो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको हो । 

स्वास्थ्य राज्यमन्त्रीबाट हटेपछि उनले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेर नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका बिषयमा आवाज उठाउथिन । २३ र २४ भदौको जेन–जी आन्दोलनको समर्थनमा डा. कार्की सडकमा निस्केकी थिइन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर डा. पवन शर्माले कार्की चिकित्सा क्षेत्र र राजनीति दुवै क्षेत्रमा भविष्यको लागि अब्बल हुने दाबी गरे । ‘पाटनमा काम गर्न आउँदा नै उनी चिकित्सा क्षेत्रको आन्दोलनमा लागेर सबैसँग चिरपरिचित डाक्टर भइसकेकी थिइन्,’ उनले भने, ‘एउटै विभागमा काम नगरे पनि उनी उर्जाशील, फुर्तिलो र मिहिनेत डाक्टरको रुपमा परिचित थिइन् । पछि राजनीतिमा लागिन् ।’ इमान्दारितापूर्वक राजनीतिक सेवामा लागे त्यसक्षेत्रमा पनि उनको सम्भावना उच्च रहेको डा. शर्माले औंल्याए ।

कान्तिपुर

Link copied successfully