ह्याण्डीक्राफ्ट उद्यमीबाट सांसद् : काठमाडौं-७ मा फेरि बज्यो घन्टी

२०२२ मा रवि लामिछानेले पार्टी स्थापना गरेपछि गणेश पराजुली सक्रिय उद्यम छाडेर राजनीतिर मोडिएका थिए । उनका अनुसार, एकपटक उनले कम्पनीको प्यान नम्बर लिन जाँदा घूस बुझाउनु परेको थियो, त्यसपछि नै उनले सुशासनका लागि काम गर्नुपर्छ भन्ने सोचेका थिए ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

From handicraft entrepreneur to MP: The bell has rung again in Kathmandu-7

काठमाडौं — २१ फागुनमा भएको निर्वाचनको मौन अवधि अघि काठमाडौं–७ का उम्मेदवार गणेश पराजुलीले एकजना वृद्ध मतदातालाई सोधे, ‘यो क्षेत्रमा घन्टीको सांसद् को हो थाहा छ ?’

उनले आफूले उम्मेवार नचिन्ने बताइन् तर मत चाहीँ घन्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई नै दिने सुनाइन् । त्यो सुनेर मुसुक्क हाँस्दै आफू नै घन्टीको प्रतिनिधि भएको संकेत गरे ।

पराजुली आफैंले यो भिडियो सामाजिक सञ्जालमा फेसबुकमा राखेका छन् । जब उनले आफूलाई चिनाए, त्यसपछि ती महिलाले आफूसँग ३० भोट रहेको भन्दै सबै ‘घन्टी’लाई नै जाने बताइन् । पराजुलीले खुशी हुँदै धन्यवाद दिए ।

यद्यपि, निर्वाचनअघिसम्म आफ्नो जित हुनेमा उनी त्यति साह्रो ढुक्क थिएनन् । २०७९ सालको निर्वाचनमा ८ हजार ७४३ मत ल्याएर विजयी भएको पृष्ठभूमि भए पनि विगतमा भएको जितबाट अन्य दलले आफूहरूलाई हराउन सबै बल लगाएको उनको बुझाइ थियो ।

पहिले दलहरूले गम्भीरतापूर्वक नलिएका कारण पनि आफूलाई जित्न सहज भएको उनको बुझाइ थियो । यसपालि त्यो छुट नहुने उनले बुझेका थिए । 

एमाले पनि त्यो निर्वाचनमा आफ्नो पार्टीबाट बागी उम्मेदवार भएकाले कठिन भएको समीक्षा गर्दै तयारी गरिरहेको थियो, कांग्रेस पनि कार्यकर्तासँग भेट गरेर बेग्लै अभियान चलाइरहेको थियो ।

यो त्यही क्षेत्र हो, जहाँ कुनै बेला एमालेका नेता मदन भण्डारीसमेत दुईपटक निर्वाचित भएका थिए । काठमाडौं-७ को पृष्ठभूमि हेर्दा ७ वटा निर्वाचन क्षेत्रमा बाँडिएपछि २०५१ यताका निर्वाचनमा फरकफरक पार्टीले जित निकालेको पृष्ठभूमि थियो, त्यसैले पराजुलीले निकै मिहिनेत गरिरहेका थिए ।

तर, शुक्रबार बेलुकी मत परिणाम पराजुलीकै पक्षमा मतपरिणाम आयो । २७ हजार ८ सय ५ मतसहित उनी काठमाडौं-७ बाट विजयी हुँदा निकटम प्रतिद्वन्दी कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९ सय ८२ मत ल्याए ।

हुन त उनले शुक्रबार बिहानै काठमाडौंभरि आफूहरूको पक्षमा लहर आएको बुझिसकेका थिए । त्यसैले काठमाडौं-१ बाट विजयी रास्वपा उम्मेदवार रञ्जु दर्शनको विजयसभामा उनले ‘देशभरिबाट माहोल’ आएको भन्दै जिम्मेवार निर्वाह गर्न सबै जिम्मेवार भएर प्रस्तुत हुनपर्ने बताएका थिए । ‘अब जितका लागि केही गर्नै पर्दैन, नयाँ पुस्ताको काँधमा जनताले जिम्मेवारी दिएका छन्,’ उनले भने, ‘जिम्मेवारी कसरी निभाउने भन्नेतिर तीव्ररुपमा काम गर्नुपर्ने बेला आइसकेको छ ।’

उद्यमी हुँदै राजनीतिमा

स्थायी घर खोटाङ भएका पराजुली उद्यम गर्दै राजनीतिकतर्फ प्रवेश गरेका हुन् । जतिबेला रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले, त्यसबेलासम्म उनी हिमालयन ह्याण्डीक्र्याफ्टस प्रालि चलाइरहेका थिए ।

सन् २००२ मा उनले सुरु गरेको यो कम्पनीले नेपालमा रेशाजन्य कच्चा पदार्थ जस्तै जुट, कटन लगायतबाट उत्पादन हुने कपडालगायतका सामग्री विदेशमा निर्यात गर्ने काम गर्छ । हस्तकलाबाट तयार पारिने अन्य सामग्रीलाई समेत विदेशमा निर्यात गर्ने काम उनले गर्दै आएका थिए ।

तर, २०२२ मा रवि लामिछानेले पार्टी स्थापना गरेपछि चाहिँ उनी सक्रिय उद्यम छाडेर राजनीतितिर मोडिएका थिए । पराजुलीका अनुसार, एकपटक उनले कम्पनीको प्यान नम्बर लिन जाँदा आफैंले घूस बुझाउनु परेको थियो, त्यसपछि नै उनले सुशासनका लागि काम गर्नुपर्छ भन्ने सोचेका थिए ।

विगतमा उनले सांसद्का रुपमा भिजिट भिषालगायतका ठूला भ्रष्टाचार प्रकरणमा खरो आवाज समेत उठाएका थिए । ‘म कोशी प्रदेशको खोटाङमा जन्मिएको हुँ, पहिले त्यो एकदमै दुर्गम थियो,’ उनी भन्ने गर्छन्, ‘त्यहाँ एसएलसी सकेर शिक्षक बन्न काठमाडौं आएको थिएा ।’

उनले विविध कारणले पढाइलाई धेरै अगाडि बढाउन सकेनन्, शिक्षक बन्ने झन् कुरै भएन । बरुपछि थुप्रैलाई रोजगारी दिने उद्यमी बने । ‘अहिले पनि मेरो परिवार र आफूलाई व्यवस्थापन गर्न पुग्ने पैसा त्यहााबाट आउाछ, रोजगारी मेरो लागि समाजसेवा मात्र हो,’ पराजुली भन्छन् ।

यसपालि पराजुलीले आफ्नो १५ बुँदे भिजन सार्वजनिक गरेको थिए, जसमा गुणस्तरीय र आधुनिक शिक्षाको सुनिश्चितता, दिगो र एकीकृत खानेपानी व्यवस्थापन, पर्यापर्यटन, अध्यात्मिक गन्तव्य र हरियाली पार्क विकास, शिवपुरी नागार्जुन क्षेत्रमा हरित पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

उनले निर्वाचन क्षेत्रीय स्वयम्सेवी थिंकट्यांक गठन गर्नेदेखि डिजिटिल वडा र नागरिक परादर्शिता प्रणाली अघि बढाउनेसमेत घोषणा गरेका थिए । श्रमिक अधिकार, न्यूनतम तलब सुनिश्चितता र अर्थपूर्ण रोजगारीसमेत उनको एजेण्डा थियो । 

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

कान्तिपुर

Link copied successfully