सुनिल केसीले २०७९ को निर्वाचनमा राप्रपाबाट काठमाडौं–२ (क) मा जितेका थिए ।
काठमाडौँ — काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसी विजयी भएका छन् । उनी ३४,२३८ मत ल्याउँदै विजयीका हुन् । उनले नेपाली कांग्रेसका कबिर शर्मालाई २५,३६४ ले हराउँदै विजयी भएका हुन् । शर्माले ८८७४ ले मत ल्याए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी राजनीतिकर्मी सँगसँगै सामाजिक अभियन्ता तथा इभेन्ट म्यानेजर समेत हुन् । सामाजिक कार्यबाट पहिचान बनाएका केसी पछिल्लो समय सक्रिय राजनीति छन् ।
केसीले २०७९ को निर्वाचनमा राप्रपाबाट काठमाडौं–२ (क) मा जितेका थिए । राजनीतिक सोच र प्राथमिकता परिवर्तन गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता महसुस गरेसँगै उनी रास्वपामा उम्मेदवार बनेको बताएका छन् । उनले पार्टी सिद्धान्तभन्दा पनि देश र जनताको सेवालाई प्राथमिकता राख्ने पार्टी रास्वपा भएकाले राप्रपा परित्याग गरेको बताएका छन् । उनले चुनावी घरदैलोमा देशमा इमानदार र सक्षम व्यक्तिहरू एउटै स्थानमा आएर काम गरे मात्र स्थायी सरकार बन्ने र जनतालाई सहज सेवा प्रदान गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
प्रदेश सभामा उनको अझै २ वर्षको कार्यकाल बाँकी हुँदाहुँदै उनले पद छाडेर नयाँ पार्टीको राजनीतिक यात्राको सुरुवात गरेका थिए । यो निर्णयलाई धेरैले साहसिक कदमका रूपमा पनि व्याख्या गरेका छन् । ४३ वर्षीय सुनील केसीले औपचारिक रूपमा प्लस टु (उच्च माध्यमिक तह) सम्म अध्ययन गरेका छन् । राजनीतिमा आउनुअघि उनी सामाजिक अभियन्ताका रुपमा परिचित थिए । समाजमा देखिने समस्या समाधानका लागि विभिन्न पहल गर्दै उनले सामाजिक अभियानहरू सञ्चालन गरेका थिए ।
उनी सामाजिक युवा क्लबमार्फत फुटबल क्लबमा आबद्ध भएर युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्ने कार्यमा सक्रिय थिए । सामाजिक सेवामा उनको सक्रियता कोरोना महामारी, भूकम्पको समयमा राहत तथा सहयोगका कार्यक्रमहरूमार्फत देखिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य धनेश थापाले सुनिल केसीलाई सामाजिक कार्यमा सक्रिय रहने व्यक्तिको रूपमा आफूले चिनेको बताएका छन्। बालापनदेखिका साथी थापाका अनुसार स्थानीय स्तरका समस्याहरू सहजै समाधान गर्ने क्षमता र जनस्तरमा राम्रो लोकप्रियता भएका कारण सुनिल केसीले निर्वाचनमा जित हासिल गरेका हुन्।
थापाले आफू यसअघि यही क्षेत्रबाट विवेकशील साझा पार्टीको उम्मेदवार रहेको स्मरण गर्दै यसपटक भने उनले आफ्ना साथीलाई सहयोग गरेको बताए।
त्यस्तै, राप्रपाबाट सांसद पद छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुको कारणबारे उनले भने ` काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको निकटता प्रमुख कारण हो बालेन्द्र शाह जनताका समस्याहरू समाधान गर्ने स्पष्ट योजना र सोचका साथ अघि बढेका कारण केसी नजिक भएका हुन् ।´
थापाले रास्वपामा प्रवेश गर्दा केही पार्टी कार्यकर्ताबाट विरोध भए पनि आम जनताले भने यसलाई सकारात्मक रूपमा लिएको बताए। उनका अनुसार जनताले रुचाएको राजनीतिक कदम भएकाले आफूले नयाँ राजनीतिक यात्रालाई अघि बढाएको उल्लेख गरे।
