विवेकशील राजनीतिबाट उदाएका विराजभक्त दोस्रो पटक संसद्‍मा

इन्द्रचोकका रैथाने श्रेष्ठले ‘बिजनेस एड्मिनिस्ट्रेसन’मा स्नातक उत्तीर्ण गरेका छन् । श्रेष्ठ व्यापारिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । उनले अध्ययनपछि आर्थिक रूपमा सक्षम रहन होटल–रेस्टुरेन्टहरू चलाएका थिए ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Biraj Bhakta, who emerged from prudent politics, enters parliament for the second time

काठमाडौँ — सामाजिक सञ्जाल नियन्त्रणका लागि एक वर्षअघि सरकारले विधेयक ल्याएका बेला विराजभक्त श्रेष्ठले संसद्मा कृष्ण सेन इच्छुकको कविता सुनाएका थिएः

‘हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै

हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै

तिमी भन्छौं, गाउन त गाउ तर यो गीत नगाउ

हामी भने त्यही गीत गाइरहन्छौं ।’

त्यसबेला त्यो विधेयक त अघि बढेन । तर, पछि सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिमा ओली सरकार ढल्यो, नयाँ निर्वाचन घोषणा भयो । अनि, सामाजिक सञ्जाल नियमनको विरोधमा आवाज उठाउँदै आएका श्रेष्ठ बिहीबार भएको मतदानबाट फेरि काठमाडौं–८ मा निर्वाचित भए ।

उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो  भएका छन् ।

२०७९ को निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी केही समय युवा तथा खेलकुदमन्त्रीसमेत बनेका थिए । 

यो क्षेत्रमा स्थानीय अभियन्ता सुमन सायमीसमेत उम्मेदवार बनेकाले उनलाई चुनौती हुनसक्ने आकलन गरिएको थियो । तर, श्रेष्ठले दोस्रो पटक पनि बाजी मारे ।

सामाजिक विषयस्तुमा खरो उत्रिँदै आएका श्रेष्ठ रास्वपाबाट उम्मेदवार बन्नुअघि विवेकशील साझा पार्टीका नेता थिए । विवेकशीलबाट बागमती प्रदेश सांसदसमेत बनेका थिए ।

बागमतीमा उनी स्थानीय एजेन्डालाई प्राथमिकता दिएर चर्चित बनेका थिए । श्रेष्ठले वार्षिक रूपमा आफूले संसद्‍मा रहेर गरेका कामबारे प्रतिवेदन पनि सार्वजनिक गर्ने अभ्याससमेत थालेका थिए ।

‘पाँच वर्ष प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेश सरकारको कामकाजको भाषा बनाउने कानुन पारित गराउन खास भूमिका खेलेको थिएँ,’ उनी भन्छन्, ‘पारदर्शितामा म सधैं ध्यान दिन्थें ।’

प्रतिनिधिसभामा पुगेपछि पनि उनले सुशासन, प्रशासनिक सुधार, युवा भूमिका र सहरी व्यवस्थापनको विषय प्राथमिकताका साथ उठान गरेका थिए ।श्रेष्ठ विवेकशीलका संस्थापक नेता स्वर्गीय उज्जवल थापाबाट प्रेरित भएर राजनीतिक अभियानमा होमिएका उनी २०७२ सालको महाभूकम्पपछि राहत र उद्धार अभियानका सक्रिय सहभागी थिए ।

त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र महोत्तरी जिल्लामा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । विवकेशील र साझा पार्टीबीच एकता भएपछि चाहिा श्रेष्ठ केन्द्रीय सदस्य बनेका थिए ।

विभिन्न अस्पताल, कम्पनी र परियोजनामा व्यवस्थापकको जागिर पनि खाए । कामसागै राजनीतिमा सक्रिय उनी विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै दस्तावेज ल्याएपछि पार्टीबाट अलग भएका थिए ।

त्यसपछि भएको चुनावमा उनी घन्टी चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । तर, विजयी भएपछि पार्टी प्रवेश गरेर केन्द्रीय सदस्यसमेत बने । पछि रास्वपाले उनलाई युवा तथा खेलकुद मन्त्रीसमेत बनाएको थियो । उनी संसदीय दलमा उपनेतासमेत बनेका थिए । 

खेलकुदमन्त्री हुँदा उनले खेल क्षेत्रलाई स्वच्छ राख्न भन्दै ‘एन्टी डोपिङ’ एजेन्सीमा पदाधिकारी नियुक्त गरेर पूर्ण क्रियाशिल बनाए । ई–स्पोर्टसलाई प्राथमिकता दिए । उनले राष्ट्रिय खेलकुद परिषद् र संघहरुबाट हुने प्रतियोगिताको एकीकृत वार्षिक कार्यतालिकासमेत सार्वजनिक गरेका थिए ।

इन्द्रचोकका रैथाने श्रेष्ठले ‘बिजनेस एड्मिनिस्ट्रेसन’मा स्नातक उत्तीर्ण गरेका छन् । श्रेष्ठ व्यापारिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । उनले अध्ययनपछि आर्थिक रूपमा सक्षम रहन होटल–रेस्टुरेन्टहरू चलाएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

कान्तिपुर

Link copied successfully