मुस्ताङमा रोमी गौचनको विरासत जोगाउँदै कांग्रेसमा युवा नेतृत्वको उदय

कांग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका योगेश पार्टीभित्र आशालाग्दो अनुहार मानिन्छन्।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

The rise of youth leadership in the Nepali Congress, preserving the legacy of Romi Gauchan in Mustang

मुस्ताङ —  

हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टलाई फराकिलो मतान्तरले पछि पार्दै २९ वर्षीय गौचनले विजय बनेका हुन् । 

सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विष्टले १ हजार ८ सय ६ मत मात्र प्राप्त गरे। गौचनले विष्टलाई १ हजार ५ सय १ को भारी मतान्तरले पराजित गरेका हुन् । गौचन विघटित प्रतिनिधिसभाका कान्छा सदस्य थिए । 

योगेश गौचन थकाली नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। लामो समय मुस्ताङको राजनीतिमा वर्चस्व कायम गरेका रोमी गौचनले आफू पछाडि हटेर छोरा योगेशलाई चुनावी मैदानमा उतारेका थिए। बाबुको राजनीतिक विरासत थाम्ने चुनौतीका साथ राजनीतिमा होमिएका अविवाहित योगेशले लगातार देस्राे सफलता प्राप्त गरेका हुन् । 

नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी पार्टीभित्र पनि युवा पुस्ताको आशालाग्दो अनुहार मानिन्छन्।

राजनीतिमा आउनुअघि योगेश सफल व्यवसायीका रूपमा चिनिन्थे। बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका उनले पोखरामा 'त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स' को प्रबन्ध निर्देशक भएर पनि काम गरेका थिए। मुस्ताङको थासाङ गाउँपालिका-३, लेतेका गाैचन होटल व्यवसायी समेत हुन्।

शिक्षित र व्यावसायिक पृष्ठभूमिबाट आएका गौचनले चुनावी अभियानका क्रममा मुस्ताङको पर्यटन प्रवर्धन र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएका थिए ।

कान्तिपुर

Link copied successfully