काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
काठमाडौँ — लामो समयदेखि संघर्ष, सामाजिक सक्रियता र राजनीतिक अभियानमा बिताएकी रञ्जु दर्शनाले राजनीतिको नयाँ यात्रा सुरु गरेकी छन् ।
प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार उनी १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । उनले प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीलाई पराजित गरेकी हुन् । थापाले ६ हजार ३६४ मत ल्याए । राप्रपाका रवीन्द्र मिश्र भने तेस्रो भए । उनी ३ हजार ९७२ मतमै सीमित रहे ।
चुनावी अभियानका क्रममा उनी गर्भवती थिइन् । गत फागुन ११ गते छोरालाई जन्म दिएकी उनले बिहीबार मतदान गर्न छोरालाई बोकेर गएकी थिइन् । मातृत्व र नेतृत्वको दोहोरो भूमिकामा रहेकी रञ्जुका लागि आगामी यात्रा अझ चुनौतीपूर्ण भए पनि उनले यसलाई अवसरका रूपमा हेरेकी छन् । उनका अनुसार परिवार, समाज र राज्य संरचनाले साथ दिए महिलाले नेतृत्व र मातृत्व दुवैलाई सँगसँगै अघि बढाउन सक्ने उनले बताइन् ।
रोचक त के भने उनको जितले कुनै बेलामा पुरानो पार्टीमा अभिभावकसमेत रहेका रविन्द्र मिश्रलाई ‘ह्याट्रिक’ हारसमेत खुवाइन् । विवेकशील साझामा रवीन्द्र मिश्र उनका नेता थिए ।
चुनावी अभियानमा उनी आठ महिनाकी गर्भवती थिइन् । दुई जिउकी उनी आफ्नो पीडालाई सहेर जनतामाझ आफ्ना प्रतिबद्धता लिएर धाइरहिन् । अन्तिम समयसम्म पनि मतदाताको घरदैलोमा पुगेर उनले आफ्ना एजेन्डा र योजनाबारे जानकारी गराइरहिन् । त्यस क्रममा उनलाई बारम्बार व्यक्तिगत प्रश्नको सामना गर्नुपर्यो । ‘बच्चा कसले हेर्छ ?’, ‘गर्भवती भएर किन हिँडेको ?’, ‘स्वास्थ्य ठूलो हो’ जस्ता टिप्पणीहरू घरदैलो अभियानदेखि सामाजिक सञ्जालसम्म सुनिन्थे । कतिपयले ‘बच्चा हुर्काउने कि नेता बन्ने ?’ भन्दै खिसिट्युरीसमेत गर्थे ।
त्यसो गर्नेहरूमा अधिकांश सामाजिक तह तप्कामा परिचित नामहरु नै थिए । तर रञ्जुले यस्ता प्रश्नलाई संयमित रूपमा जवाफ दिँदै ‘मातृत्व नेतृत्वको बाधा होइन, बरु नेतृत्वलाई अझ सशक्त बनाउने शक्ति’ भएको बताइरहिन् । उनको मातृत्वलाई लिएर खिसिट्युरी गर्नेहरुलाई उनको परिणामले गतिलो जवाफ दिएको छ । उनी भन्थिन्, ‘यदि समर्थन गर्ने संरचना र संगठन साथमा भए महिलाले मातृत्व र नेतृत्व दुवैलाई सँगसँगै अघि बढाउन सक्छन् ।’
चुनावी अभियानमा कहिले समर्थनका शब्द सुनिन्थे, कहिले आलोचनात्मक प्रश्नहरू पनि आउँथे । विशेषगरी महिलाहरूले उनको सक्रियतालाई गर्वका साथ हेरिरहेका थिए । उनले कान्तिपुरसँगको अन्तवार्तामा भनेकी थिइन्, ‘मतदाताले प्रश्न गर्नु राम्रो कुरा हो । प्रश्न गर्ने समाजले मात्र राम्रो नेतृत्व रोज्न सक्छ । तर म माथि प्रश्न पनि उठका छन्, गर्भवती महिलाले किन चुनाव लड्ने भन्ने तरिकाले आलोचना भइरहेको पनि छ ।’
२०७० सालतिर उनी वैकल्पिक राजनीतिक अभियान विवेकशील नेपाली पार्टीसँग जोडिइन् । ‘नेपाल खुल्ला छ’ जस्ता अभियानबाट उनले सक्रिय राजनीतिक यात्रा सुरु गरिन् । २०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्दा उनी केवल २१ वर्षकी थिइन् त्यतिबेला कलिलो उमेरमै राजनीतिमा प्रवेश गरेकी उनी खरो वक्ताको रूपमा परिचित बनिन् । नेताहरूलाई खुलेर प्रश्न गर्ने, देश बनाउने एजेन्डा राख्ने युवतीको रूपमा उनको चर्चा एकाएक चुलिएको थियो । सामाजिक सञ्जालदेखि टेलिभिजन अन्तर्वार्तासम्म उनको चर्चा भइरहन्थ्यो । त्यतिबेला विवेकशील नेपाली पार्टीले उनलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको थियो ।
वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको विवेकशील अभियानले नयाँ सोच र नयाँ नेतृत्वलाई प्राथमिकता दिएको थियो । त्यही अभियानबाट सुरु भएको उनको राजनीतिक यात्रा बीचमा धेरै उतारचढावबाट गुज्रियो । पार्टी फुट्ने, नयाँ दल बन्ने, विभिन्न राजनीतिक परिस्थितिहरू परिवर्तन हुँदै गए । तर उनी भने राजनीतिप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहिन् । उनको राजनीतिक यात्रा भने छोटो समयको उपलब्धि होइन । उनले विवेकशील साझा पार्टीबाट २०७८ पुसमा राजीनामा दिइन् । त्यसबेला उनी विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक थिइन् । उनले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णय गरेको बताएकी थिइन् । उनले वैकल्पिक राजनीतिक पार्टीको खोलमात्र ओडेकोले यस पार्टीमा थप समय र उर्जा खेर नफाल्ने बताएकी थिइन् । २०७९ विवेकशील नेपाली पार्टीबाट अलग हुँदै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं–१ मा उम्मेदवार बनिन् ।
त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइन् र पार्टीको केन्द्रीय सदस्यको रूपमा उनी काठमाडौं-१ बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।
गर्भमै रहँदा रञ्जुका बाबुले आमाको साथ छोडेका थिए । आमा, मामा र हजुआमाको साथलमा हुर्किएकी उनले बाबुको स्नेहको अनुभूति कहिल्यै गर्न पाइनन् । आर्थिक अभाव, सामाजिक चुनौती र पारिवारिक परिस्थितिका बीचमा पनि उनकी आमाले उनलाई अध्ययनमा कमी हुन दिइनन् । आमाले सिलाइ–कटाइ गरेर र अरुका घरमा बच्चाहरु हुर्काएर उनलाई पढाइन् । त्यही संघर्षले उनलाई समाजप्रति संवेदनशील बनायो । विद्यालय जीवनमै उनले सामाजिक काम सुरु गरेकी थिइन् ।
टोल सफा गर्ने, श्रमिकका छोराछोरीलाई अक्षर चिनाउने, दाइजो कुप्रथाविरुद्ध सडक नाटक गर्ने जस्ता गतिविधिमा उनी सक्रिय भइन् । समाजमा सानो परिवर्तन ल्याउन सके पनि त्यसले धेरै मानिसको जीवनमा फरक पार्न सक्ने उनले बताइन् ।
