वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित सस्मित पोखरेल रास्वपामा लाग्नुअघि पनि राजनीतिक अभ्यासबारे हुने बहसहरूमा सहभागी हुन्थे । विवेकशील साझा पार्टीमा उनी सक्रिय थिए ।
काठमाडौँ — कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएर काठमाडौं–५ बाट रास्वपाका सस्मित पोखरेल निर्वाचित भएका छन् । उनले ३० हजार ७३७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ र एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राप्रपाका पुराना नेता कमल थापा पनि यही क्षेत्रबाट चुनावी मैदानमा थिए ।
राजनीतिप्रति आफ्ना बुझाइ र धारणाहरू स्पष्ट रूपमा सामाजिक सञ्जालमा राख्ने शैलीका कारण सस्मित युवा पुस्तामााझ परिचित थिए । यिनै सस्मितले अब संसदीय यात्रामा पाइला चालेका छन् । १ फागुन २०५२ मा काठमाडौं–५ मा जन्मेका सस्मितले जन्मेकै क्षेत्रबाट चुनावी जित हासिल पारे ।
कानुन विषयमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेका सस्मितले प्लस टुसम्मको अध्ययन भने अमेरिकामा पूरा गरेका थिए । उनी अहिले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछन् । सस्मितले संसदमा इन्टर्नको रुपमा समेत काम गरेका छन् ।
विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा २०७४ सालको चुनावमा उज्वल थापाको चुनावी क्याम्पिनमा सक्रिय थिए । अध्ययनको यही पृष्ठभूमिका कारण सस्मित राजनीतिक प्रणाली र संसदीय परम्पराबारे प्रस्ट देखिन्छन् । उनले आफ्नो यही बुझाइ मतदातामााझ हुने संवादमा राख्ने गर्थे ।
वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित सस्मित रास्वपामा लाग्नुअघि पनि राजनीतिक अभ्यासबारे हुने बहसहरूमा सहभागी हुन्थे । विवेकशील साझा पार्टीमा उनी सक्रिय थिए । त्यही नै उनको राजनीतिक बुझाइको प्रारम्भिक यात्रा भएको देखिन्छ । सुरुवाती दिनमा साझा युवा संगठनका नेता तथा विवेकशील साझाका केन्द्रीय समितिका सदस्यसमेत बनेका पोखरेल अहिले भने रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ताको जिम्मेवारीमा छन् । २०७९ सालमा भएको स्थानीय चुनावमा सस्मित बालेन्ऽ शाहलाई काठमाडौं महानगरपालिकाको मेयर जिताउने अभियानमा सक्रिय भएर लागेका थिए ।
२०७९ सालमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं–५(क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । त्यतिबेला उनले पराजय भोगे । त्यसपछि पोखरेलले काठमाडौं महानगरपालिकामा शिक्षा तथा सहायक विज्ञ तथा शहरी योजनामा सहायक विज्ञका रूपमा काम गरे ।
चुनावी यात्रामा सस्मितले आˆनो निर्वाचन क्षेत्रमा दिगो विकास, नागरिकहरूको जीवनस्तरमा सुधार साथै सबैका लागि समान अवसर भएको भविष्यको कल्पना जस्ता कुराहरू सुनाएका थिए । उनले आˆनो प्रमुख प्राथमिकतामा सुशासन र पारदर्शिता प्रवर्द्धन गर्ने, साथै आर्थिक विकासलाई प्रोत्साहन गर्ने, शिक्षा तथा स्वास्थ्य सेवाको स्तर सुधार गर्ने तथा जनताको आवाज प्रभावकारी रूपमा संसदमा लैजाने जस्ता कुराहरू मतदातासामु राखेका थिए ।
२९ वर्षका उनी डा.गोविन्द केसीको सत्याग्रह, गुठी आन्दोलनजस्ता सामाजिक मुद्दाहरूमा अग्रपंक्तिमा रहेर काम गरिसकेका व्यक्ति समेत हुन् ।
सस्मितको चुनावी क्याम्पेन सरिक भएर लागेका उनका साथी सरोज गौतम क्षेत्र नम्बर–५ मा सस्मितको जितले सकारात्मक परिर्वतन ल्याएको बताउँछन् । भन्छन्, ‘पाँचजना हेभीवेट उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरेर सबैलाई पछाडि पार्दै सस्मितले जित हासिल गर्नाले निकै खुशी भएका छौं,’ उनले भने, ‘उनी कानुन बुझेका, नीतिगत कुरामा स्पष्टता र सडकको आवाज बुझ्ने सक्षम युवा हुन् ।’
उनी विगत लामो समयदेखि काठमाडौंका विभिन्न कार्यक्रम तथा आन्दोलनमा सक्रिय भएर लागेका गौतम बताउँछन् । भन्छन्, ‘उनी देशको हितको लागि १० वर्षदेखि नै आन्दोलनमा सरिक भएर लागेका युवा हुन् । अब देशको लागि राम्रो गर्छन् भन्नेमा ढुक्क छौँ ।’
