राजुनाथ पाण्डे : महानगरीय प्रहरी प्रमुख हुँदै संसदसम्मको यात्रा

राजुनाथ पाण्डेले आफूलाई मतदाताले विश्वास गरेको र त्याे विश्वासलाई सदुपयोग गर्दै सुशासन कायम गर्न अग्रणी भूमिका खेल्ने बताएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Rajunath Pandey: Journey from Metropolitan Police Chief to Parliament

काठमाडौँ —  कुनै समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘नजिक’  भनेर चिनिएका राजुनाथ पाण्डे उनै शाहको नेतृत्व नयाँ रास्वपाको सांसद हुने भएका छन् । काठमाडौ-३ बाट १८ हजार ७ सय ५७ मतले विजयी भएसँगै पाण्डेको यात्रा अब संसदतिर सोझिएको हो । उनका प्रतिस्पर्धी ज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १ सय ७१ मत ल्याएका छन् । 

पाण्डे काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख समेत हुन् । महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । पाण्डे रास्वपामा वरिष्ठ नेता बालेन शाह निकट भनेर चिनिन्छन् । शाहले काठमाडौं महानगर छोडेर झापा-५ बाट निर्वाचन लड्ने भन्दै राजीनामा दिएपछि पाण्डेले पनि २ माघमा नगर प्रहरी प्रमुखबाट राजीनामा दिएका थिए ।

२०७९ भदौमा शाहले पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए । तत्कालीन प्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर बालेनले पाण्डेलाई ल्याएका थिए । पाण्डेलाई ल्याउनुको मुख्य कारण उनको ‘कडा स्वभाव’ र ‘एक्सन ओरिएन्टेड’ कार्यशैली भएको भनिन्थ्यो । त्यतिबेला बालेनले महानगरभित्रका अवैध संरचना भत्काउने, फुटपाथ खाली गराउने र नक्सा पासविपरितका बेसमेन्टहरू हटाउने अभियान सुरु गरेका थिए । यो चुनौतीपूर्ण र विवादास्पद काम फत्ते गर्न बालेनलाई एक निडर सारथीको आवश्यकता थियो, जुन पाण्डेले पूरा गर्न सहयोग गरेका थिए ।  

पाण्डेको जन्म २६ माघ २०२७ मा नुवाकोटमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका पाण्डे २०५० सालमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यसअघि उनी नेपाल प्रहरीमा थिए ।  

थापाथलीमा डोजरदेखि असनमा हातपातसम्म 

नगर प्रहरी प्रमुखको कार्यकालमा पाण्डे बारम्बार विवादको केन्द्रमा रहे । २०७९ मंसिरमा थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउन जाँदा र स्थानीयबीच ठूलो झडप भएको थियो । बिना विकल्प सुकुम्बासी बस्तीमा डोजर चलाउन बल प्रयोग गरेको भन्दै मानवअधिकारवादीहरूले उनको चर्को आलोचना गरेका थिए । बानेश्वर, असन र न्युरोड क्षेत्रका फुटपाथ व्यवसायीको ठेला र सामान जफत गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको मकै पोल्ने ठेला खोसेको भिडियो सार्वजनिक भएपछि पाण्डेको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको थियो ।

असन र इन्द्रचोक क्षेत्रमा पसल हटाउने क्रममा स्थानीय व्यापारी र नगर प्रहरीबीच पटक पटक तनाव भएको थियो । व्यापारीलाई सार्वजनिक रूपमै धम्की दिएको र अभद्र व्यवहार गरेको आरोप व्यापारीले लगाएपछि पाण्डे ठूलो विवादमा परेका थिए । उनी महानगरमा ६ महिनाका लागि निलम्बनमा पनि परेका थिए ।  

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेका कारण देखाउँदै प्रशासकीय अधिकृत सरोज गुरागाईले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निर्णयविरुद्ध पाण्डे  अदालतमा रिट हालेका थिए भने अदालतले अन्तरिम आदेश दिएपछि उनी काममा फर्केका थिए । ६ महिना पुगेपछि उनको कारवाही स्वत: फुकुवा भएको थियो र अदालतले रिट खारेज गरिदिएको थियो । 

पाण्डेमाथि छानबिनका लागि गठन गरेको समितिले उनलाई क्लीन चिट दिएको आधार देखाउँदै उच्च अदालतले रिट खारेज गरेको थियो । सोही आधारमा प्रशासकीय अधिकृत गुरागाईले उनलाई कारबाही फुकुवाको पत्र दिएका थिए । उनै पाण्डे सुशासनलाई प्रमुख मुद्दा बनाएर  निर्वाचनमा होमिएका  थिए ।

सुशासन र कानुनी शासनका लागि काम गर्ने पाण्डेको दाबी 

पाण्डेले कान्तिपुरसँग आफूलाई मतदाताले विश्वास गरेको र त्यसलाई सदुपयोग गर्दै सुशासन कायम गर्न अग्रणी भूमिका खेल्ने दाबी गरे । उनले संसदमा कानुन बनाउने देखि २३ र २४ भदौको जेन-जी आन्दोलनमा जे माग उठेका थिए त्यसलाई कार्यान्वयन गराउन शशक्त आवाज उठाउने  प्रतिक्रिया दिए ।

‘कुनै समय म एउटा सामान्य सुरक्षाकर्मी थिए । तर, जब मुलुकको परिस्थिति बिग्रिँदै गयो त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भएको महशुस गरेर राजनीतिमा आएको हुँ, ’ पाण्डेले भने, ‘म अब जनताले विश्वास र भरोसा गरेका कारण  मैदानबाट भाग्नेभन्दा परिस्थितिको सामना गर्न र मेरो पहिचान तथा इतिहासले दिएको जिम्मेवारी र कर्तव्यलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैन।’

कान्तिपुर

Link copied successfully