व्यापार र राजनीतिसँगै टेकबहादुर गुरुङ सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि सक्रिय छन् । उनी मनाङ मर्स्याङ्दी क्लबका संस्थापक सदस्यमध्ये एक हुन् ।
लमजुङ — मनाङ नेपालकै सबैभन्दा कम जनसंख्या भएको जिल्ला हो । हिमाली भूगोल, सानो बस्ती र आपसमा नातासम्बन्धले गाँसिएको समाजका कारण यहाँको राजनीति पनि देशका अन्य जिल्लाभन्दा फरक छ ।
चुनावी प्रतिस्पर्धा कहिलेकाहीँ परिवारभित्रै पुग्ने र सम्बन्धमा दरार आउने स्थिति बन्ने भएकाले मनाङको राजनीति धेरैपटक सहमति र समझदारीको बाटोमा अघि बढ्ने गरेको छ । यही सामाजिक संरचनाभित्रबाट उदाएका नेता हुन् टेकबहादुर गुरुङ, जसले व्यापार, पर्यटन र राजनीतिलाई सँगसँगै अघि बढाउँदै राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेका छन् ।
मनाङ ङिस्याङ गाउँपालिकाको टंकी मनाङमा ११ मंसिर २०११ म जन्मिएका टेकबहादुर गुरुङ काजी गुरुङ र पुलमा गुरुङका पाँच भाइमध्ये माइँला छोरा हुन् । हिमाली गाउँको सामान्य पारिवारिक परिवेशमा हुर्किएका उनले कक्षा १० सम्म अध्ययन गरेका छन् । त्यसपछि जीवनयापनका लागि काठमाडौंतर्फ लागे । राजधानी पुगेपछि उनले व्यापार–व्यवसाय सुरु गरे र क्रमशः म्यानपावर तथा पर्यटन व्यवसायमा सक्रिय भए । अहिले पनि उनी वैदेशिक रोजगारीसम्बन्धी व्यवसाय र होटल व्यवसायसाग जोडिएका छन् । उनका दुई छोरा र दुई छोरी छन् ।
व्यवसायसँगै उनले सामाजिक र राजनीतिक गतिविधिमा पनि सक्रियता देखाए । २०३६ सालमा उनले बीपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएर औपचारिक रुपमा राजनीति सुरु गरेका थिए । त्यसयता उनी पार्टी संगठन विस्तार र नेतृत्वमा सक्रिय रहे । पछि उनी नेपाली कांग्रेस मनाङका सभापति बने ।
उनको राजनीतिक सक्रियता क्रमशः राष्ट्रिय तहसम्म पुग्यो । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ फागुन २०७० देखि ९ पुस २०७२ सम्म उनी श्रम तथा रोजगार राज्यमन्त्री बनेका थिए ।
मनाङको राजनीति सानो सामाजिक घेराभित्र घुम्ने भएकाले यहाँको चुनावी प्रतिस्पर्धा पनि रोचक रहँदै आएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका नेता देवप्रसाद गुरुङले टेकबहादुरका दाई पाल्तेन गुरुङलाई पराजित गर्दै जित हासिल गरेका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने टेकबहादुर गुरुङले तत्कालीन राप्रपाका उम्मेदवार त्रिपल पी गुरुङलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङसँग २८९ मतले पराजित भए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने मनाङको राजनीति फेरि फरक मोडमा पुग्यो । चुनावका कारण परिवारबीच झगडा र बोलचाल बन्द हुने अवस्था दोहोरिन नदिन मनाङका धर्मगुरु र सामाजिक अगुवाहरु सक्रिय भए । त्यसपछि राजनीतिक दलहरुबीच सहमतिको प्रयास सुरु भयो ।
सहमतिअनुसार प्रमुख दुई दल कांग्रेस र नेकपा एमालेबीच प्रतिनिधित्व पालोपालो गर्ने समझदारी बन्यो । गोला प्रथाबाट यसपटक संघीय संसदको प्रतिनिधित्व कांग्रेसलाई र प्रदेशसभाको प्रतिनिधित्व एमालेले गर्ने सहमति भयो ।
यस सहमतिपछि एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ता लिए । अघिल्ला निर्वाचनमा प्रतिस्पर्धी रहेका उनी यसपटक टेकबहादुर गुरुङका मुख्य सहयोगी बने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ करिब साढे ६ बजे टेकबहादुर गुरुङलाई औपचारिक रुपमा विजयी घोषणा गर्यो । उनले २ हजार ४ सय १५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत पाइन् भने मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले ९ मत प्राप्त गरे । ४५ मत बदर भयो ।
कुल ७ हजार मतदाता रहेको मनाङमा २ हजार ९२३ मत खसेको थियो । तीमध्ये टेकबहादुरले ८२ दशमलव ६२ प्रतिशत मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उम्मेदवारी फिर्ताको दिन एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएपछि उनको जित सहज बनेको थियो ।
यस निर्वाचनले मनाङको राजनीतिमा एउटा रोचक संयोग पनि देखायो । अघिल्ला निर्वाचनमा प्रतिस्पर्धी रहेका पोल्देन छोपाङ गुरुङ यसपटक टेकबहादुरका प्रमुख सहयोगी बने । त्यस्तै, टेकबहादुरका दाईलाई २०६४ मा हराएका देवप्रसाद गुरुङकी पत्नी यशोदा गुरुङ (सुवेदी) यसपटक टेकबहादुरसँग पराजित भइन् ।
व्यापार र राजनीतिसँगै टेकबहादुर गुरुङ सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि सक्रिय छन् । उनी मनाङ मर्स्याङ्दी क्लबका संस्थापक सदस्यमध्ये एक हुन् । नेपाली चलचित्र ‘झुमा’ का निर्माता समेत रहेका उनले सांस्कृतिक क्षेत्रमा पनि योगदान दिएका छन् ।
तेस्रोपटक संसदीय निर्वाचन जितेपछि उनले मनाङको विकासलाई पहिलो प्राथमिकता बनाउने बताएका छन् । उनले भने, ‘सानो जिल्ला छ, हामी सबै एकै परिवारका हौं, नाता नपर्ने कोही छैन,’ उनले भने, ‘कांग्रेस–एमाले मिलेर राम्रो सन्देश गएको छ । अब सबै मिलेर विकास गर्नुपर्नेछ ।’
उनका पूर्वप्रतिद्वन्दी तथा अहिलेका सहयात्री एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले पनि यसलाई मनाङी जनताको जितका रुपमा व्याख्या गरे । उनले भने, ‘अब हामी विकास र पोल्टिकल सँगसँगै गर्छौं, सँगसँगै गर्ने भएका छौं,’ उनले भने, ‘हामी निकै खुसी छौं, मनाङी खुसी छौं ।’
निकटतम प्रतिस्पर्धी यशोदा गुरुङ (सुवेदी) ले पनि नवनिर्वाचित सांसदलाई शुभकामना दिएकी छन् । उनले भनिन्, ‘मनाङको लागि राम्रो गर्नुहोस् भन्न चाहन्छु, अरु के भन्ने र’ उनले भनिन्, ‘मनाङ जनतालाई धेरै धन्यवाद छ, हामीलाई दोस्रो स्थानको मत दिनुभएको छ ।’
