को हुन् प्रदीप विष्ट ?

प्रारम्भिक चरणमा नेपाली कांग्रेससँग आबद्ध विष्ट कांग्रेस परित्याग गरी युवाहरूको टोलीसहित स्वतन्त्र राजनीतिक अभियानमा लागेका थिए । २०७९ साल साउनदेखि भने औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन् । हाल उनी पार्टीका काठमाडौं जिल्ला सभापतिसमेत छन् ।

फाल्गुन २२, २०८२

सुरज कुँवर

Who is Pradeep Bista?

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० बाट प्रदीप विष्ट विजयी भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विष्टले नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई २९ हजार ३६९ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा स्थान सुरक्षित गरेका हुन् ।

निर्वाचन परिणामअनुसार विष्टले ३७ हजार ४६९ मत प्राप्त गरेका छन् भने कार्कीले ८ हजार १०० मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा २५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

निर्वाचन तथ्यांक अनुसार यस क्षेत्रमा ८३ हजार ३०१ मतदाता रहेका थिए। तीमध्ये ६० हजार १५१ मत खसेको थियो भने २ हजार ९३ मत बदर भएको थियो ।

को हुन् प्रदीप विष्ट ?

५१ वर्षीय प्रतिनिधिसभा सदस्य विष्ट कीर्तिपुरको दूधपोखरीका निवासी हुन् । उनका बुवा कृष्णबहादुर विष्ट लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न रहँदै आएका छन् । विष्टले पिपुल्स क्याम्पसबाट आइकमसम्म अध्ययन गरेका छन् ।

उनको परिवारमा पनि लामो राजनीतिक पृष्ठभूमि रहेको छ । उनका काका रामबाबु विष्ट २०३३, २०३८ र २०४३ सालमा प्रधानपञ्च भएका थिए । प्रजातन्त्र स्थापना भएपछि २०४८ सालमा उनी चम्पादेवी गाविसका अध्यक्ष बनेका थिए । पछि २०५४ सालमा कीर्तिपुर नगर कांग्रेसका नगर अध्यक्षसमेत बने ।

घरपरिवारमा राजनीतिक वातावरण र सर्वसाधारणको निरन्तर आवतजावतका कारण आफूमा पनि राजनीतिप्रति रुचि बढेको विष्ट बताउँछन् । उनले विद्यार्थी जीवनदेखि नै आन्दोलन र राजनीतिक गतिविधिमा सहभागिता जनाउँदै आएका थिए । २०४६ सालको जनआन्दोलनताका पनि उनी राजनीतिक गतिविधिमा सक्रिय भएका थिए ।

विष्ट प्रारम्भिक चरणमा नेपाली कांग्रेससँग आबद्ध थिए । उनी तरुण दलमा सक्रिय रहँदै २०६२/६३ को जनआन्दोलनपछि काठमाडौं क्षेत्र नम्बर १० को क्षेत्रीय सभापति बनेका थिए । २०७० सालको निर्वाचनमा कीर्तिपुर क्षेत्रको प्रचारप्रसार संयोजकको जिम्मेवारी पनि उनले सम्हालेका थिए ।

पछि उनले कांग्रेस परित्याग गरी युवाहरूको टोलीसहित स्वतन्त्र राजनीतिक अभियानमा लागे । २०७९ साल साउनदेखि भने औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन् । हाल उनी पार्टीका काठमाडौं जिल्ला सभापतिसमेत छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनी आफ्नो क्षेत्रमा सक्रिय रहेका थिए । कीर्तिपुरका १० वडामध्ये ९ वडामा कांग्रेस विजयी हुँदा उनले आफ्नो क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई वडाध्यक्षमा जिताउन भूमिका खेलेको दाबी गरेका छन्।

प्राथमिकता भ्रष्टाचारविरुद्धको अभियान

विष्टका अनुसार आफ्नो मुख्य प्राथमिकता पार्टीले अघि सारेका भ्रष्टाचारविरुद्धको अभियान, सुशासन र पारदर्शिताका एजेन्डालाई कार्यान्वयन गर्नु हो ।

राजनीतिमा पूर्णकालीन रूपमा सक्रिय हुनुअघि उनले पर्यटन क्षेत्रमा काम गरेका थिए । उनी सोल्टी होटल लगायतका पाँचतारे होटलमा कार्यरत थिए ।

विष्टका दुई छोरा छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully