प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आइरहँदा ‘हट सिट’ मानिएका क्षेत्रहरूको परिणाम रोचक देखिएको छ । कहाँ कहाँ कस्तो छ मतगणनाको अवस्था ?
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आइरहँदा ‘हट सिट’ मानिएका क्षेत्रहरूको परिणाम रोचक देखिएको छ ।
हट सिट मानिएको झापा-५ को दृश्य रोचक देखिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच प्रतिस्पर्धा भइरहेको छ । ओली एमालेबाट प्रधानमन्त्रीका उम्मेदवार हुन् भने शाह रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुन् ।
शुक्रबार बिहान सवा ३ बजेदेखि झापा ५ मा मतगणना सुरु भएको थियो । हालको अवस्था हेर्दा त्यहाँ रास्वापाका बालेन्द्र शाह १५ हजार, १६९ मतसहित अग्र स्थानमा छन् ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले ३३ सय ४४ मत प्राप्त गरेका छन् । ओली झापाबाट आठौं पटक निर्वाचनमा होमिएका थिए भने शाहको यो पहिलो 'इनिङ' हो । २०४८ सालको आम निर्वाचनमा ओली झापा-६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि उनी त्यही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त निर्वाचनमा उनले केशवकुमार बुढाथोकीलाई पराजित गरे ।
२०५६ सालको आम निर्वाचनमा ओलीले दुई क्षेत्रबाट उम्मेदवारी दिएका थिए । झापा-२ र झापा-६ बाट प्रतिस्पर्धा गरेका उनी दुवै क्षेत्रमा विजयी भए । झापा-२ मा उनले कांग्रेस उम्मेदवार गिरिराजकुमारी प्रसाईँलाई पराजित गरे भने झापा-६ मा काशीलाल ताजपुरियालाई हराए ।
पहिलो संविधानसभा निर्वाचन (२०६४) मा भने ओलीले क्षेत्र परिवर्तन गर्दै झापा-७ रोजेका थिए । तर, उक्त निर्वाचनमा उनी तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार विश्वदीप लिङ्देन लिम्बूसँग पराजित भए । १० वर्षे सशस्त्र द्वन्द्वपछि माओवादी पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको यही निर्वाचन थियो ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने ओलीले पुनरागमन गरे । त्यसबेला उनले कांग्रेस उम्मेदवार सुरेशकुमार योङ्यालाई पराजित गर्दै संविधानसभामा निर्वाचित भएका थिए । संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ओलीले फेरि क्षेत्र परिवर्तन गर्दै झापा-५ बाट उम्मेदवारी दिएका थिए । त्यस निर्वाचनमा उनले कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई पराजित गरे ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि ओली झापा-५ बाटै प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त निर्वाचनमा पनि उनले कांग्रेसका उनै उम्मेदवार अधिकारीलाई पराजित गर्दै निरन्तरता कायम राखे । तर, यस पटकको निर्वाचनमा भने उनलाई हम्मे हम्मे देखिएको छ ।
पहिलो पटक संसदीय निर्वाचनको मैदानमा उत्रिएका बालेन्द्र शाहले उनी भन्दा निकै धेरै मतान्तर राखेका छन् । बालेन्द्र शाह काठमाडौं महानगरपालिकामा ०७९ को स्थानीय तहको निर्वाचनमा मेयरका रूपमा निर्वाचित भएका थिए ।
सुनसरी-१
धरान उपमहानगरपालिकालाई केन्द्रमा सुनसरी १ मा स्वतन्त्र शैलीको राजनीति र स्थापित दलबीचको प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा धरानका पूर्व मेयर हर्कराज राई (हर्क साम्पाङ) प्रमुख आकर्षणका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । उनले श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका हुन् । धरानमा श्रमदान अभियान, खानेपानी तथा सार्वजनिक काममा प्रत्यक्ष सहभागिता जस्ता गतिविधिबाट लोकप्रिय बनेका साम्पाङले संघीय संसद्मा पनि त्यही शैलीको राजनीति लैजाने भन्दै चुनाव लडिरहेका छन् ।
सुनसरी-१ मा यसपटक विभिन्न दल र स्वतन्त्रसहित करिब २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसले प्रतिस्पर्धालाई अझ बहुआयामिक बनाएको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९) मा भने यसै क्षेत्रबाट अशोककुमार राई विजयी भएका थिए । उनले करिब १७ हजारभन्दा बढी मत प्राप्त गर्दै प्रतिस्पर्धामा जित हासिल गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ दोस्रो स्थानमा रहेकी थिइन् ।
यस पटकको गोमाले हर्कलाई पछाडि पारेको देखिन्छ । हालसम्म ७७ सय ५५ मतसहित गोमा अग्रस्थामा छन् भने ११ सय ८२ मतले पछि परेका राई उनलाई पछ्याइरहेका छन् ।
सर्लाही-४
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा ‘हट सिट’का रूपमा हेरिएका केही निर्वाचन क्षेत्रको परिणाम रोचक बन्दै गएको छ । तीमध्ये मधेश प्रदेशको सर्लाही-४ पनि अहिले विशेष चासोको केन्द्र बनेको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहबीच प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक मतगणनामा सिंहले अग्रता लिएका छन् भने थापा उनलाई पछ्याइरहेका छन् ।
हालसम्मको मत परिणामअनुसार सिंहले ४ हजार ४ सय ९६ मत प्राप्त गरेका छन्। कांग्रेसका थापाले २ हजार ५ सय ३० मतसहित दोस्रो स्थानमा छन् ।
सर्लाही-४ लामो समयदेखि राष्ट्रिय राजनीतिमा चर्चित निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको छ । यही क्षेत्रबाट सिंह पटक-पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले सर्लाही-४ बाटै जित हासिल गरेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंह विजयी भएका थिए । त्यसबेला उनले कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिँदै जित हासिल गरेका थिए ।
अर्कोतर्फ थापा यसअघि काठमाडौं-४ बाट लगातार निर्वाचित हुँदै आएका नेता हुन् । २०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थापा २०७०, २०७४ र २०७९ सालमा भने प्रत्यक्षतर्फ काठमाडौं-४ बाट निर्वाचित भएका थिए ।
यसपटक भने थापा सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका छन् । तर, हालसम्मको मत परिणाम हेर्दा उनीका लागि प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको छ ।
सप्तरी-३
मधेश प्रदेशको सप्तरी-३ यस पटकको प्रतिनिधिसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा भएको क्षेत्रमध्ये एक मानिएको छ । यहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सप्तरी-३ बाट उम्मेदवारी दिएका हुन् । अघिल्लो निर्वाचनमा उनी सप्तरी-२ बाट प्रतिस्पर्धामा उत्रिएका थिए, तर, जनमत पार्टीका नेता सीके राउतसँग पराजित भएपछि उनले क्षेत्र परिवर्तन गरेका थिए ।
राजनीतिक रूपमा मधेशवादी दलहरूको प्रभाव रहेको सप्तरी जिल्लामा राष्ट्रिय दल र क्षेत्रीय दलबीचको प्रतिस्पर्धा सधैं तीव्र हुने गरेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने यही क्षेत्रबाट कांग्रेस नेता दिनेशकुमार यादव विजयी भएका थिए । उनले करिब २६ हजारभन्दा बढी मत प्राप्त गर्दै निर्वाचन जितेका थिए ।
यसपटक सप्तरी-३ मा रास्वपाले उपेन्द्र यादवलाई रास्वपाका अमरकान्त चौधरीले टक्कर दिएका छन् । हालसम्म उपेन्द्र यदवले २८२१ मत प्राप्त गर्दा अमरकान्तले ३१७५ मत प्राप्त गरेका छन् ।
यसपटक परिस्थिति केही फरक देखिएको छ । मधेशमा पछिल्लो समय जनमत पार्टी, जसपा र अन्य क्षेत्रीय दलहरूको प्रभाव बढिरहेको छ भने राष्ट्रिय दलहरूले पनि आफ्नो आधार बिस्तार गर्न प्रयास गरिरहेका छन् । यही कारण सप्तरी-३ को प्रतिस्पर्धालाई मधेशको बदलिँदो राजनीतिक समीकरणको परीक्षणका रूपमा समेत हेरिएको छ ।
काठमाडौं-४
काठमाडौं-४ संघीय राजधानीको चर्चित निर्वाचन क्षेत्रमध्ये एक मानिन्छ । लामो समयदेखि नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको यो क्षेत्रमा यसपटक भने कांग्रेसले नयाँ उम्मेदवार अघि सारेको छ ।
कांग्रेसबाट युवा उम्मेदवार सचिन तिमल्सिना चुनावी मैदानमा छन् । यो उनको पहिलो संसदीय ‘इनिङ’ हो । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बम प्रतिस्पर्धामा छन् ।
बम यसअघि काठमाडौं–१ बाट उम्मेदवार बनेका थिए । यसपटक भने उनले काठमाडौं-४ रोजेका छन् ।
हालसम्मको मतगणनाको परिणामअनुसार बम अग्रस्थानमा देखिएका छन् । उनले २० हजार १ सय ७६ मत प्राप्त गरेका छन् । कांग्रेसका तिमल्सिनाले १४ हजार १ सय १८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
गगन थापाको प्रभाव क्षेत्र मानिएको काठमाडौं-४ मा कांग्रेसका नयाँ उम्मेदवारले चुनावी मैदान सम्हाल्नुपरेको छ । प्रारम्भिक मत परिणामले भने रास्वपाका उम्मेदवार बमले उल्लेख्य अग्रता लिएका कारण कांग्रेसका तिमल्सिनाका लागि प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको छ ।
भक्तपुर-२
भक्तपुर २ पनि सर्वाधिक चासो राखिएको क्षेत्र हो । जहाँ एमाले सचिव महेश बस्नेत र रास्वाका राजिव खत्री मुख्य प्रतिस्पर्धी छन् । १५ हजार २ सय ६१ मतसहित खत्री पहिलो स्थानमा छन् भने १० हजार ९ सय ९१ मतले पछि परेका बस्नेत दोस्रो स्थानमा छन् ।
बागमती प्रदेशको भक्तपुर-२ मा एमालेका सचिव महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार राजिव खत्रीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । मतगणनाको हालसम्मको परिणामअनुसार खत्री अग्रस्थानमा देखिएका छन् । उनले १५ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । यता एमालेका बस्नेत भने १० हजार ९ सय ९१ मतसहित दोस्रो स्थानमा छन् ।
भक्तपुर–२ लामो समयदेखि एमालेको प्रभाव रहेको क्षेत्रका रूपमा चिनिँदै आएको छ । त्यही आधारमा एमाले सचिव बस्नेत यसपटक पनि चुनावी मैदानमा उत्रिएका हुन् । बस्नेत पूर्व मन्त्रीसमेत हुन् र भक्तपुर क्षेत्रको राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् । तर, यसपटकको प्रतिस्पर्धामा रास्वपाका खत्रीले सुरुवाती चरणमै अग्रता लिएपछि चुनावी परिणामलाई चासोका साथ हेरिएको छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम अझै तय भइसकेको छैन । तर, प्रारम्भिक मत परिणामले भने स्थापित दलका उम्मेदवारलाई नयाँ राजनीतिक शक्तिले चुनौती दिएको संकेत गरेको छ ।
चितवन-२
२०७९ को प्रतिनिधिसभा निर्वाचनयता चितवन–२ देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।
पत्रकारिता र टेलिभिजन कार्यक्रममार्फत लोकप्रिय बनेका लामिछानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट जित हासिल गरेका थिए । त्यसपछि नागरिकता विवादका कारण पद गुमेपछि भएको उपनिर्वाचनमा पनि उनले यही क्षेत्रबाट पुनः जित निकाल्दै संसद्मा फर्किएका थिए । त्यसैले यसपटकको निर्वाचनलाई उनको राजनीतिक प्रभावको अर्को परीक्षणका रूपमा पनि हेरिएको छ ।
लामिछानेसँगै नेपाली कांग्रेसकी मिनाकुमारी खरेल र नेकपा (एमाले)का अस्मिन घिमिरे प्रतिस्पर्धामा छन् । हालसम्मको मतगणनाको परिणामअनुसार लामिछाने अग्रस्थानमा देखिएका छन् । उनले २६ हजार १ सय २० मत प्राप्त गरेका छन् । उनलाई ७ हजार ३ सय ४७ मतसहित कांग्रेसकी खरेलले पछ्याइरहेकी छन् । रास्वपा नयाँ दलका रूपमा उदाउँदै गर्दा चितवन-२ को परिणामलाई राष्ट्रिय राजनीतिमा त्यस दलको प्रभाव कति कायम रहन्छ भन्ने संकेतका रूपमा पनि हेरिएको छ ।
चितवन-३
चितवन-२ सँगै चितवन-३ पनि यसपटक चर्चामा रहेको निर्वाचन क्षेत्र हो । यहाँ भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमबीच प्रतिस्पर्धा भइरहेको छ । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित दाहाल यसपटक प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा उत्रिएकी हुन् । नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएकी दाहालका लागि यो निर्वाचन संघीय राजनीतिमा प्रवेश गर्ने अवसरका रूपमा हेरिएको छ ।
अर्कोतर्फ सोबिता गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-२ बाट निर्वाचित भएकी थिइन् । युवा नेतृका रूपमा परिचित गौतमले यसपटक चितवन-३ बाट प्रतिस्पर्धा गर्दै रास्वपाको प्रभाव विस्तार गर्ने प्रयास गरिरहेकी छन् ।
हालसम्मको मतगणनाको अवस्थाअनुसार गौतम अग्रस्थानमा देखिएकी छन् । उनले १७ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् भने दाहालले ९ हजार ८ सय १४ मत पाएकी छन् । चितवन-३ को प्रतिस्पर्धालाई पनि स्थापित दल र नयाँ राजनीतिक शक्तिबीचको भिडन्तका रूपमा हेरिएको छ । त्यसैले यहाँको मत परिणामलाई राष्ट्रिय राजनीतिमा नयाँ दलहरूको प्रभाव कति बढ्दै गएको छ भन्ने संकेतका रूपमा विश्लेषण गरिएको छ ।
