मोरङ ६ मा कोइराला विरासत भत्काउँदै उदाएकी अभियन्ता

आचार्य ५५ हजार ५ सय १३ मतका साथ विजयी भइन् । उनका प्रतिस्पर्धी कोइरालाले १२ हजार ८ सय ५० मत मात्र पाए ।

फाल्गुन २३, २०८२

पर्वत पोर्तेल

An activist who emerged in Morang 6 destroying Koirala's legacy

विराटनगर — अन्ततः सधैं मत बदलिरहने मोरङ–६ का मतदाताले यसपटक पनि त्यो प्रवृतिलाई निरन्तरता दिए । मोरङको राजनीतिक मैदानमा यसपटक नयाँ पुस्ताकी रुविना आचार्य उदाएकी छन् ।  लामो समयदेखि स्थापित नेताहरूको प्रभाव रहेको क्षेत्रमा युवापुस्ताकी प्रतिनिधि रुविनाले कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई भारी मतान्तरले पराजित गर्दै नयाँ इतिहास रचेकी छन् । 

आचार्य ५५ हजार ५ सय १३ मतका साथ विजयी भइन् । उनका प्रतिस्पर्धी कोइरालाले १२ हजार ८ सय ५० मत मात्र पाए । एमालेका विनोद ढकालले ८ हजार ३ सय १७ मतमा चित्त बुझाए । सामाजिक अभियान र नागरिक मुद्दामा सक्रिय रहेकी रुविना विराटनगरकै हुन् । यो जितलाई धेरैले नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक धारको उदयका रूपमा व्याख्या गरेका छन् ।

स्थापित दल र अनुभवी नेतासँग प्रतिस्पर्धा गर्दै उनले निकालेको जितले मोरङको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको विश्लेषक दिनेश श्रेष्ठ बताउँछन् । विराटनगर–४ को आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाको बाल्यकाल विराटनगरमै बितेको हो । प्रारम्भिक शिक्षा उनले इडेन नेसनल सेकेन्डरी बोर्डिङ स्कुलबाट लिएकी थिइन् । प्लस–टुसम्मको अध्ययन मेरिल्यान्ड कलेज विराटनगरबाट पूरा गरेकी उनले त्यसपछि काठमाडौं विश्वविद्यालय बाट एमबीए अध्ययन गरेकी छन् ।

सार्वजनिक जीवनमा उनको पहिचान सामाजिक अभियानबाट बनेको हो । उनी दिवंगत युवा नेता उज्वल थापाले स्थापना गरेको विवेकशील साझा पार्टीसँग नजिक थिइन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनका बेला उनले विवेकशील साझाबाट चुनावी प्रचार अभियानमा सक्रिय भूमिका निभाएकी थिइन् । त्यसपछि उनी विवेकशील साझा पार्टीको युवा संगठनको बागमती प्रदेश समितिमा रहेर काम गरिन् । पार्टीभित्र सक्रिय रहँदै उनी केन्द्रीय सदस्यसमेत बनिन् । यस क्रममा उनले सुशासन, पारदर्शिता र नीतिगत सुधारका विषयमा काम गर्दै आफ्नो राजनीतिक पहिचान बनाउँदै लगिन् । 

रुविना सामाजिक आन्दोलन र नागरिक अभियानमा पनि उत्तिकै सक्रिय रहँदै आएकी छन् । पछिल्लो समय उनी चिकित्सा शिक्षा सुधारका लागि गोविन्द केसीले सञ्चालन गरेको आन्दोलनमा संलग्न थिइन् । त्यस्तै कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’ तथा महिला हिंसाविरुद्धका गतिविधिमा पनि उनी अग्रपंक्तिमा देखिएकी थिइन् । राजनीतिक विश्लेषकहरूका अनुसार रुविनाको जितको आधार पुराना दलप्रतिको आम वितृष्णा हो । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully