खगेन्द्र सुनार: सडकबाट खबरदारी गर्दै सदनमा

प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुनार ९ हजार ९ सय ४२ मतान्तरले निर्वाचित हुँदै पहिलोपटक संसद्‌मा प्रवेश गरेका हुन् ।

फाल्गुन २३, २०८२

रुपा गहतराज

Khagendra Sunar: Warning from the street to the House

नेपालगन्ज — दलित समुदायको हक अधिकार र सशक्तीकरणका लागि लामोसमयदेखि राज्य संरचनाविरुद्ध लड्दै आएका सामाजिक अभियन्ता खगेन्द्र सुनार संसद् छिरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुनार ९ हजार ९ सय ४२ मतान्तरले निर्वाचित हुँदै पहिलोपटक संसद्‌मा प्रवेश गरेका हुन् । 

उनले २९ हजार पाँच सय ५१ मत ल्याए । उनीसँग  एमालेका सुमन मल्लले १९ हजार ६०८ मतसहित  पराजित भएका छन् । नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार १३५ मत ल्याएका छन् । रास्वपाबाट बाँके–३ मा अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको थियो । उनी २०४७ सालमा दैलेखको नारायण नगरपालिका छातीकोटमा जन्मिएका हुन् ।

आफ्ना अभिव्यक्तिलाई लिएर विवादमा आइरहने उनी गाली र तालीबाट कहिले विचलित भएनन् । आफ्नो लक्ष्य अनि योजनालाई फोकस उनले जनताको आवाजलाई प्राथकितामा राख्नुपर्छ भन्ने मान्यताले राजनीतिमा मोडिएका थिए । 

दैलेख घर भएका खगेन्द्रले कक्षा ८ देखि १२ सम्म सुर्खेतको वीरेन्द्रनगरमा बसेर पढे । २०६६ सालबाट कलाकारितामा लागेका उनले रेडियो पञ्चकोशीबाट पत्रकारिता सुरू गरेका थिए । राजनीतिशास्त्र र इतिहासमा स्नातक उनले काठमाडौंमा पनि पत्रकारिता गरेका थिए ।

पत्रकारितासँगै ‘दलितका लागि दलित अभियान’को संयोजक बनेका थिए । २०७७ जेठमा रुकुमपश्चिमका नवराज विकसहित ६ युवाको हत्या भएपछि खगेन्द्र दलित आन्दोलनमा प्रखर र आक्रामक अभियन्ताका रूपमा चर्चामा कमाएका थिए । खगेन्द्रले २०७८ जेठदेखि ‘दलितका लागि खै ?’ भन्ने अभियान चलाएका थिए  ।

२०८१ साउन २३ देखि काठमाडौंको माइतीघरमा शरीरमा नेल लगाएर र विभिन्न सांकेतिक विरोध प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए । सामाजिक अभियान्ताको रुपमा परिचय बनाएका खगेन्द्रले यो जित आफनो नभएर जनताको जनादेशको जित भएको बताए । यो सम्पूर्ण क्षेत्र नम्बर ३ का मतदाताको विश्वासको जित हो, ’ उनले भने, ‘अब जनताको मतको सम्मान संरक्षण र सुरक्षित गर्ने जिम्मेवारी मेरो हो । अहिले म जनताको घर–घरमा पगेर धन्यवाद दिन हिँडिरहेको छु ।’

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully