रविको अनुपस्थितिमा रास्वपा हाँकेका डीपीको 'प्रत्यक्ष' संसदीय यात्रा

रास्वपाको नेतृत्व परिवर्तनको माग गर्दै नेताहरू सामाजिक सञ्जालबाट प्रश्न गरिरहेका बेला अर्यालले भनेका थिए- 'रास्वपालाई कमजोर बनाएर हामी कहिल्यै बलियो बन्न सक्दैनौँ । मझेरी खनेर आँगन पुर्ने काम कहिल्यै गर्नु हुँदैन ।'

फाल्गुन २३, २०८२

जयसिंह महरा

DP leads RSVP in Ravi's absence, 'live' parliamentary tour

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच पुस ७ गते साँझ सम्भवतः पहिलो राजनीतिक छलफल भयो । रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित घरमा करिब ६ घण्टा छलफल गरेर राति साढे १ बजेसम्म चलेको बैठकपछि रवि र बालेन एउटै कारमा बाहिरिए, ड्राइभिङ सिटमा थिए रास्वपा उपसभापति डीपी अर्याल ।

रास्वपा सभापति लामिछानेको घनिष्ठ राजनीतिक सहयात्रीसमेत रहेका उनै अर्याल काठमाडौं-९ बाट निर्वाचित भएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका अर्याल यसपटक भने प्रत्यक्ष निर्वाचित भएर कानुन निर्माण गर्ने सर्वोच्च थलोमा पुगेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको 'निर्वाचन सम्पादन समिति' संयोजकको जिम्मेवारीमा चुनावी अभियान हाँकेका अर्यालले काठमाडौं-९ बाट प्रतिस्पर्धीलाई २९ हजार ६ सर ३३ फराकिलो मतान्तरले पराजित गरेरका हुन् । अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे भने यो क्षेत्रबाट दोस्रो मत ल्याउने कांग्रेसका नानुमैयाँ बास्तोलाले ५ हजार ४ सय ६० मत प्राप्त गरेकी गरिन् । यहाँ एमालेका अजयक्रान्ति शाक्यले ४ हजार ५ सय ८० मतमात्र प्राप्त गरे । 

२०७९ को चुनावमा समानुपातिकबाट सांसद बनेका अर्यालसँग सरकारमा मन्त्री रहेर काम गरेको अनुभव छ । अर्याल पहिलो पटक २०७९ माघ १९ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए । त्यतिबेला १३ दिन मात्र उक्त जिम्मेवारीमा रहेका अर्यालले दोस्रो पटक २०८० फागुनदेखि २०८१ असारसम्म करिब चार महिना श्रममन्त्री बनेका थिए । त्यतिबेला समानुपातिक सांसद भएर पार्टीमा उपसभापतिसँगै मन्त्रीका अवसर आउँदा अर्याललाई नै बारम्बार अगाडि बढाइयो भन्दै रास्वपाकै नेताहरू पनि गुनासो गर्थे । यसपटक भने अर्याल प्रत्यक्षबाट निर्वाचित भएर संसद् प्रवेश गरेका छन् ।

रवि लामिछानेको अनुपस्थितिमा रास्वपालाई जोगाएर अहिलेको अवस्थासम्म ल्याउनमा उपसभापति अर्यालको ठूलो भूमिका छ । सभापति लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले पक्राउ गरेर थुनामा पठाएको अवस्थामा उपसभापति अर्यालले रास्वपालाई एकताबद्ध बनाएर राखेका थिए । रास्वपालाई राजनीतिकसँगै संसद् र सडकमा पनि अर्यालले नेतृत्व दिएका थिए ।

रास्वपाको २०८० पुस ८ मा बसेको सचिवालय बैठकले सभापति लामिछानेको अनुपस्थितिमा अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । त्यतिबेला सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति लामिछानेको सांसद पद निलम्बन हुने संसद् सचिवालयको निर्णयपछि पार्टीलाई राजनीतिक नेतृत्व दिने र संसद्मा नेतृत्व गर्ने जिम्मेवारी अर्याललाई आएको थियो । सभापति लामिछाने जेलबाट बाहिर आएपछि अर्यालले आफूलाई प्राप्त कार्यवाहक सभापतिको पद स्वतः छोडे र उपसभापतिको जिम्मेवारीमा फर्किएका थिए ।   

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि रास्वपाका केही नेताले पार्टी छोडे । पार्टी, सरकार र संसद्मा जिम्मेवारी पाएका सुमना श्रेष्ठ, सन्तोष परियारजस्ता नेताहरूले पार्टी छोडेको र अन्य केही नेताहरू पनि छोड्ने प्रक्रियामा रहेको बेला अर्यालले रास्वपा केन्द्रीय समितिको बिस्तारित बैठक बोलाए । चितवनमा कात्तिक २१ र २२ गते चितवनमा बसेको उक्त बैठकमा अर्यालले नेताहरूलाई भने, 'रास्वपालाई कमजोर बनाएर हामी कहिल्यै बलियो बन्न सक्दैनौँ । मझेरी खनेर आँगन पुर्ने काम कहिल्यै गर्नु हुँदैन ।'

पार्टीमा पदका लागि नेताहरू सामाजिक सञ्जालबाट नेतृत्वलाई प्रश्न गरिरहेको त्यो बेला अर्यालले दलभित्र पनि को कति बलियो छ भन्ने कुराको परीक्षण महाधिवेशनबाट हुने बताएका थिए । उनले नेतृत्व लिने भए महाधिवेशन गर्ने र त्यहाँ पदका लागि लड्ने तयारी गर्न नेताहरूलाई आग्रह गरेका थिए । रास्वपालाई अगाडि बढाउन एक नेता नभई सामूहिक नेतृत्वमा काम गर्नुपर्ने उनको भनाइ थियो । रास्वपा पनि पुरानै राजनीतिक दलको लहरमा खडा हुने हो कि भन्ने चिन्ता उनले पार्टीका बैठकमा राख्दै आएका थिए ।

सभापति लामिछानेलाई विभिन्न जिल्लामा लागेका मुद्दा राजनीतिक प्रतिशोध भएको पनि अर्यालले बताउँदै आएका छन् । लामिछानेमाथि लगाइएका मुद्दाका सम्बन्धमा जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारको धारणा पनि अर्यालले माग गरेका थिए । गत मंसिर २६ मा सुर्खेतमा आयोजित कार्यक्रममा अर्यालले भनेका थिए, 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ ? तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार पुर्‍याएको हो तर, यो सरकारले त स्पस्ट धारणा बाहिर ल्याउनुपर्‍यो नि !'

अर्यालले रास्वपालाई रविको अनुपस्थितिमा एकताबद्ध र राष्ट्रिय राजनीतिमा सकेसम्म 'भिजिबल' बनाइराखे । संसद्का दुई ठूला दल कांग्रेस र एमालेको दुई तिहाइको सरकार भएका बेला रास्वपाले अर्यालकै नेतृत्वमा भ्रष्टाचार अन्त्य, विधि र सुशासनको माग गर्दै प्रतिनिधिसभामा महिनौं विरोध जनायो ।

DP leads RSVP in Ravi's absence, 'live' parliamentary tour

अर्याल रास्वपाको गठनदेखि नै नेतृत्वमा छन् । सार्वजनिक रुपमा कमै बोल्ने उनी पार्टीलाई सामूहिक नेतृत्वमा अगाडि बढाउनुपर्ने र जिम्मेवारीअनुसार काम गर्नुपर्ने धारणा राख्छन् । 

धादिङमा २०३१ भदौ ६ मा जन्मिएका अर्यालसँग पर्यटन र विप्रेषणको क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ । उनी वैदेशिक रोजगारीका क्रममा ८ वर्ष जापान बसेका थिए ।

व्यवसाय प्रवर्धनका क्रममा अर्याल र लामिछानेबीच चिनजान भएको हो । त्यसपछि लामिछानेले कालिकोटमा रास्कोट सामुदायिक अस्पताल निर्माण गर्दा अर्याल पनि संलग्न थिए । त्यसपछि राजनीतिक यात्रमा पनि अर्याल सभापति लामिछानेसँगै यात्रा गरिरहेका छन् । 

पार्टी सभापति लामिछानेले हाँक्ने र निर्वाचनपछिको सरकारको नेतृत्व बालेन्द्र शाहले गर्ने निर्णय लिएर चुनावमा होमिएको रास्वपाले संघीय निर्वाचन सम्पादन समितिको संयोजक अर्याललाई बनायो । अर्यालले पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहको विश्वास जित्दै आफू मात्र निर्वाचित भएनन् चुनावी अभियानको पनि सफल नेतृत्व गरे । 

रास्वपाले चुनावमा देशभर सफलता पाइरहेको बेला शुक्रबार अर्यालले एउटा सन्देश जारी गरे, निर्वाचित भएका उम्मेदवार र समर्थकका लागि । मतदाता र निर्वाचित उम्मेदवारका नाममा भिडियो सन्देश जारी गर्दै अर्यालले भनेका छन्, 'हाम्रा उम्मेदवारहरूसँग अवीरजात्रा गर्ने, रमाइलो गर्ने, सुख:दुख साटासाट गर्ने र घरदैलोमा र्‍याली गर्ने रहर हुनसक्छ । हाम्रा निर्वाचित हुने सबै उम्मेदवारहरूलाई पनि त्यो इच्छा, चाहना पनि हुन सक्छ । तर यसपटक निर्वाचन आउनुमा जेन-जी उमेर समूहका छोराछोरीले ज्यान गुमाएको पीडा अझै हामीबाट सेलाएको छैन ।'

ठूलो संख्यामा नेपाली रहेको मध्यपूर्वमा भइरहेका घटनाले पनि विजय र्‍याली गर्ने अवस्था नरहेको अर्यालको सन्देश थियो । मतदाताले नेपालमा सुशासन कायम र भ्रष्टाचार अन्त्य होस् भनेर मत दिएको भन्दै अर्यालले आफूमार्फत सभापति लामिछाने र वरिष्ठ नेता शाहको सन्देश सुनाए, 'कुनै पनि र्‍याली, अबिरजात्रा, गाडी र मोटरसाइकलमा फूलमाला र्‍याली नगर्न/नगराउन सभापति रवि लामिछाने सँगसँगै वरिष्ठ नेता बालेन्द्र शाहको समेत निर्देशन भएको हुँदा यहीँ अपिल गर्न आएको छु ।'

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully