महोतरी–१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी

महतो ३४ हजार ६ सय ३६ मत प्राप्त गरी विजयी भएका हुन्। उनले नेकपाका गिरिराजमणि पोखरेललाई २१ हजार ७ सय १२ मतान्तरले पराजित गरेका छन्।

फाल्गुन २३, २०८२

सन्तोष सिंह

Pramod Kumar Mahato of the Rashtriya Swayamsevak Sangh (RSS) won in Mahotri-1.

महोतरी — महोतरी निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमोदकुमार महतो फराकिलो मतान्तरले निर्वाचित भएका छन्।

महतोले ३४ हजार ६ सय ३६ मत प्राप्त गरी विजयी भएका हुन्। उनले नेकपाका गिरिराजमणि पोखरेललाई २१ हजार ७ सय १२ मतान्तरले पराजित गरेका छन्। पोखरेलले १२ हजार ९ सय २४ मत प्राप्त गरेका छन्।

मुलुककै पुरानो निगौल गाई गौशालाको जग्गा नगरपालिकाले अतिक्रमण गरी राजस्व नदिएको विषयमा भएको आन्दोलनको नेतृत्व गरेका रास्वपाका उम्मेदवार प्रमोदकुमार महतो महोतरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उक्त आन्दोलनको नेतृत्व गरेका कारण उनले प्रयोग गर्ने गाडीसमेत तोडफोड गरिएको थियो। गाई गौशालाको जग्गा अतिक्रमण भएको र नगरपालिकाले गाई गौशालालाई दिनुपर्ने राजस्व नदिएको भन्दै उठाइएको आवाजकै कारण महतोले आक्रमणसमेत भोगेका थिए।

महतोले यस क्षेत्रमा पटक–पटक निर्वाचित राजनीतिक नेताहरू गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतोलाई पराजित गर्न सफल भएका छन्।

गाई गौशालाको जग्गा र त्यसबाट उठ्ने राजस्व नबुझाउने पक्षमा एमाले उम्मेदवार लक्ष्मी महतो रहेको आरोप छ। लक्ष्मी महतो २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट एमालेबाट निर्वाचित भएका थिए। उनका जेठा छोरा डा. दीपेन्द्र महतो गौशाला नगरपालिकाका जसपाबाट निर्वाचित नगर प्रमुख हुन्।

बाबु एमालेबाट सांसद र छोरा जसपाबाट नगर प्रमुख भएका कारण राजनीतिक शक्तिको आडमा गाई गौशालाको जग्गामा बजार सञ्चालन गरी उठ्ने राजस्वमा खेलवाड भएको भन्दै भएको आन्दोलनको नेतृत्व प्रमोद महतोले गरेका थिए।

गौशाला नगरपालिका–८, भन्टाबारीका ४० वर्षीय प्रमोद महतोले विद्यालय तहसम्म एसएलसीसम्म अध्ययन गरेका छन्। क्रसर व्यवसायबाट राजनीतिमा प्रवेश गरेका महतो लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका हुन्।

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि लोसपाबाट नाम सिफारिस भएका महतो २०७९ सालको प्रदेशसभा निर्वाचनमा महोतरी क्षेत्र नं. १ (२) बाट स्वतन्त्र उम्मेदवारका रूपमा उठेका थिए तर पराजित भएका थिए।

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully