विष्णु पौडेललाई ४३ हजारको मतान्तरले हराएका सुलभ खरेल को हुन्?

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार भन्दा बढीको मतान्तरले पराजित गर्दै सुलभले सदनको यात्रा तय गरेका हुन् । उ

फाल्गुन २३, २०८२

घनश्याम गौतम

Who is Sulabh Kharel, who defeated Bishnu Poudel by a margin of 43,000 votes?

बुटवल — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार भन्दा बढीको मतान्तरले पराजित गर्दै सुलभले सदनको यात्रा तय गरेका हुन् । उनले ५६ हजार ५ सय ५० मत ल्याउँदा पौडेल १२ हजार ८ सय ३१ मतमै समेटिए । 

बुटवल उपमहानगरपालिका–१६ सेमलारका २८ वर्षीय युवा एक वर्षअघि मात्र रास्वपामा जोडिएका थिए । खरेलले एसएलसी रूपन्देहीबाटै दिएका थिए । नेपाल ल क्याम्पसबाट पाँचवर्षे बीए–एलएलबी सकेपछि उनले चार वर्ष वकालत गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध रिट दायर गरेका थिए । त्यतिबेला उनी सबैभन्दा कान्छो रिट निवेदक भनेर चिनिएका थिए । नेपाल ल क्याम्पस, काठमाडौंमा पढ्दा नै दुई वर्ष जति नेकपा (एमाले) निकट अनेरास्ववियूमा आबद्ध भएर राजनीतिको सुरुवात गरेका थिए । 

अमेरिकाको मिकहिगन विश्वविद्यालयबाट संवैधानिक तथा फौजदारी कानुनमा स्नातकोत्तर गरेर उनी २०८१ जेठमा नेपाल फर्केका थिए । उनी नेपाल फर्केपछि कानुनी बहस, संवैधानिक मुद्दा र सार्वजनिक सरोकारका विषयमा अभियान्ताको रुपमा काम गर्न थाले । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका एक दर्जनभन्दा बढी संघीय सांसदहरूलाई जरिवाना तिराउने निर्णय गर्दा खरेलले त्यसविरुद्ध रिट दिएका थिए । त्यसपछि उनी नेपाल फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिए । रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जस्ता विषयमा कानुनी परामर्शमा सक्रिय भए ।

गत भदौ २३ र २४ को जेन–जी प्रदर्शनपछि न्यायाधीशमाथि आक्रमण गर्नुपर्ने र सर्वोच्च अदालत जलाउनुपर्ने सर्वाजनिक अभिव्यक्ति दिएपछि उनी विवादमा तानिए । गत मंसिर १७ गते भ्रष्टाचार मुद्दा लागेको मान्छेले पनि चुनाव लड्न पाउनुपर्ने माग गर्दै गेहेन्द्र मल्लले प्रधानमन्त्री कार्यालयविरुद्ध रिट दायर गरेका थिए । रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदा बहस गर्न पुगेका खरेललाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ‘न्यायाधीशको घर जलाउन जानुपर्छ भन्दै भीड उराल्ने मान्छे, इजलास जल्दा हर्षबढाइँ गर्ने मान्छे यही इजलासमा कसरी बहस गर्न आउन सक्नुहुन्छ ?’ भन्दै बहस गर्न नपाइने तर्कसमेत गरेका थिए । त्यसपछि खरेल इजलासमै ढले । यो घटनाले उनी थप चर्चामा आएका थिए ।

त्यसपछि माघ ६ गते प्रतिनिधि सभाको निर्वाचनका लागि रास्वपाबाट टिकट ल्याएर उमेदवार बनेका खरेलले ५६ हजार ५५० मत ल्याएर विजयी भएका छन् । खसेको ८६ हजार ७१५ मत मध्ये उनले ६५ दशमलव २१ प्रतिशत मत पाएका छन् । उनले एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री र पूर्वाधार विकासमा रूपन्देहीलाई ‘रोलमोडल’ बनाएका नेता विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले पराजित गरेका छन् । 

पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । उनी पौडेलसँग प्रतिस्पर्धा गर्ने गरी उमेदवार बनेपछि नै चर्चामा रहेका थिए । निर्वाचित भएपछि उनले रास्वपाले गरेको बाचापत्रमा उल्लेख भएका विषयसँगै सुशासन र भ्रष्टाचार नियन्त्रण, रूपन्देहीको शिक्षा, स्वास्थ्य सुधार, रोजगारी सिर्जना, युवाका लागि अवसर र कानुनी राज्य र त्यसको संस्थागत सुधारका लागि काम गर्ने बताए । 

‘मैले मुख्यगरी रास्वपाको बाचा पत्रमा उल्लेख भएका विषयलाई पहिलो प्राथमिकता दिएर काम गर्ने छु,’ उनले भने, ‘त्यो बाहेक सुशासन कायम, रोजगारी सिर्जना, कानुनी राज्यका लागि संस्थागत सुधारमा पनि काम गर्नेछु ।’ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहलसँगै रूपन्देहीको विकासमा आफ्नै सदैव चासो र चिन्ता रहने उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully