गोरखा–१ र संखुवासभाका मतपेटिका हेलिकोप्टरबाट गणनास्थल आइपुगेका छन् भने मुगुका मतपेटिका मानिसले नै बोकेर गणनास्थल ल्याइँदै छ ।
काठमाडौं — देशका विभिन्न निर्वाचन क्षेत्रको मतपरिणाम आउन थाले पनि संखुवासभा, मुगु र गोरखा–१ मा भने मतगणना अझै सुरु भएको छैन । भौगोलिक विकटताका कारण यी क्षेत्रका मतपेटिका समयमै गणनास्थलसम्म नपुग्दा मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकारीका अनुसार हेलिकोप्टरमार्फत संखुवासभा र गोरखाको मतपेटिका अहिले गणनास्थलमा ल्याइसकिएको छ ।
मुगुको २ मतदानस्थल डोल्फु र मुगुगाउँको मतपेटिका भने मानिसले नै बोकेर गणनास्थल ल्याइँदै गरेको मुगुका मुख्य निर्वाचन अधिकृत मिनबहादुरर कुँवरले बताए । ‘हेलिकोप्टरको समन्वय नभएपछि मतदान केन्द्रको मतपेटिका मानिसले नै बोकेर ल्याइदैछ,’ कुँवरले भने, ‘१ बजेसम्म मतपेटिका आइपुग्यो भने २ बजेदेखि नै गणना सुरु गर्नेछौं ।’
यता, गोरखा र संखुवासभामा भने सर्वदलीय बैठक बसेर छिट्टै मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतहरूले बताएका छन् । मौसमका कारण हिजो सबै केन्द्रको मतपेटिका आउन सकेको थिएन । आज सबै मतपेटिका गणनास्थल आइपुगेकोको र मतगणना सुरु गर्ने प्रक्रियामा आफूहरू प्रवेश गरेको गोरखा र संखुवासभाका निर्वाचन अधिकृतले कान्तिपुरलाई बताएका छन् ।
