रास्वपाका उनले भने, ‘यो युवाहरूको जित हो, सबै क्षेत्रवासीको जित हो । अब केही गरेर देखाउने जोस चलेको छ ।’
काठमाडौँ — चुनावी दौरान मतदाताको घर–घर पुग्दा पुराना दलका धेरैले ५४ वर्षीय राजेश चौधरीलाई कम आँकेका थिए । स्थानीय तहमा बलियो संगठन नभएको रास्वपाका उम्मेदवार भन्दै उनलाई कतिपयले प्रतिस्पर्धामा आउन नसक्ने ठोकुवा गरिरहेका थिए । किनकि ०७९ को चुनावमा यस क्षेत्रमा रास्वपाका उम्मेदवार सूर्यदेव कोइरालाले १ सय ६३ मत मात्रै ल्याएका थिए । यस्तो पृष्ठभूमि हुँदाहुँदै पनि यिनै चौधरीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई फराकिलो मतान्तरले हराएर विजयको यात्रा तय गरे ।
व्यवसायी घरानाका चौधरीले ०५४ मा नेकपा एमालेको सदस्यता लिएका थिए । २०७४ मा उनी कांग्रेस प्रवेश गरेर जिल्ला सचिव बने । ०७९ मा भने उनले कांग्रेसबाट टिकट नपाएपछि पार्टी नै छाडे ।
दुर्गाभगवती गाउँपालिका–१, गंगापिप्राका उनीसँग व्यावसायिक पृष्ठभूमि पनि छ । राैतहट-१ मा पुराना दलहरूको कार्यशैलीप्रति असन्तुष्ट मतदाताको विश्वास जित्दै उनले २८ हजार ९४६ मतका साथ विजयको झण्डा गाडे । जबकि उनका प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्ताले १० हजार ६९३ मत पाए । कांग्रेसका अनिल झाले ८ हजार ५ सय ७४ मत मात्रै पाए भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का माधवकुमार नेपालले ७ हजार ६ सय ६९ मत पाए ।
गाउँमै बिडी उद्योग चलाएर बसेका चौधरीसँग रौतहटलाई लामो समयदेखि कर्मथलो बनाएको अनुभव छ । झण्डै २०/२५ बिघा खेतीयोग्य जमिनमा कृषि कर्म गरिरहेका उनी स्थानीय कृषकहरूसँग पनि अपरिचित थिएनन् । चुनावी दौरान उनी जिल्लाका युवा वर्गको आवाजलाई मूलधारको राजनीतिमा जोड्न चाहेको सन्देशका साथ अघि बढेका थिए । उनले मधेशका स्थानीय समस्या, कृषि, शिक्षा र स्वास्थ्यलाई रास्वपाको सुशासन र भ्रष्टाचारविरोधी राष्ट्रिय एजेन्डासँग जोडेर अगाडि बढाएको बताए ।
चौधरीका स्कुले साथी जितेन्द्रकुमारले उनी पहिलेदेखि नै राजनीतिप्रति चासो राख्दै आएको र उनको जितले निकै खुसी भएको सुनाए । ‘स्कुले जीवनमा राजनीतिमा चौधरी निकै चासो राख्थे,’ उनले भने, ‘यस पटकको जित चानचुने होइन । यसले युवा र परिवर्तनको पक्षलाई ठूलो मलजल पुग्ने देखिन्छ ।’
चौधरीले आफ्नो मुख्य सामाजिक पहिचान शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता रहेको बताए । ‘रौतहट जस्तो जिल्लामा साक्षरता र गुणस्तरीय स्वास्थ्य सेवाको अभावलाई आफ्नो प्रमुख मुद्दा बनाएको छु,’ उनले भने, ‘यो युवाहरूको जित हो, सबै क्षेत्रवासीको जित हो । अब केही गरेर देखाउने जोस चलेको छ ।’
चौधरीका निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्ताले चौधरीलाई जितको शुभकामना दिएका छन् । ‘आशा छ, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले यस क्षेत्रका जनताका अपेक्षाअनुसार उत्कृष्ट कार्य गर्नुहुनेछ,’ उनले भने, ‘समग्र क्षेत्रको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउनुहुनेछ भन्ने लागेको छ । निर्वाचनमा हार र जित एउटा स्वाभाविक प्रक्रिया हो ।’
