‘ठूलो जिम्मेवारी दिएर पठाउनु भएको छ । संसद्मा गएपछि जिम्मेवारी पूरा गर्ने छु,’ निर्वाचित भएलगत्तै उनले भनिन् ।
चितवन — २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंबाट विजयी सोविता गौतम यो पटक चितवन-३ मा उम्मेदवार हुन आइन् । भरतपुर महानगरपालिका-१५ गोपालचोक मंगलपुर पुर्ख्यौली घर भएका व्यवसायी गृहेन्द्र घिमिरेसँग बिहे गरे पनि सोवितालाई चितवनको भनेर कमैले चिन्थे ।
त्यसैले उम्मेदवारी दर्ता गरेलगत्तै उनले किन चितवन आउनु भयो ? भन्ने प्रश्न सामना गर्नु पर्यो । चुनाव प्रचारका क्रममा पनि उनले ‘मेरो घर यही गोपालचोकको हो’ भनेर मत माग्न थालिन् । निर्वाचन परिणाम आउँदा सोविताले भारी मतले सांसदमा दोहोरिन सफल भएकी छन् ।
चितवन-३ मा नेकपाले रेनु दाहाललाई उम्मेदवार बनाएको थियो । २०७४ र २०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर भएर चितवनमा मात्रै नभएर देशभर चर्चा बटुलेकी थिइन् रेनुले । मेयरको १५ महिने कार्यकाल बाँकी रहँदा नै पदबाट राजीनामा दिएर उम्मेदवार भएकी रेनुलाई धेरैले भावी सांसदका रूपमा हेरेका थिए । तर अन्तिम मत परिणाम आउँदा रेनुको पक्षमा केवल २० हजार ६१५ मत आयो । निकटतम् प्रतिस्पर्धी रहेकी रेनुको भन्दा विजयी सोविताको ३८ हजार ६६२ बढी मत आयो । सोविता ५९ हजार २७७ मतसहित निर्वाचित भइन् ।
२०५२ सालको असारमा जन्मेकी सोविता कानुनमा स्नातक उत्तीर्ण छन् । उनले सांसद नीति नियम बनाउने थलो भएको हुँदा आफ्नो शिक्षा र अनुभव यो पदका लागि उपयुक्त हुने भन्दै मतदातासामु गएकी थिइन् । मतपरिणाम आएपछि निकटतम् प्रतिस्पर्धी रेनु दाहालले सोवितालाई बधाई दिँदै सामाजिक सञ्जालमा लेखिन्, ‘कामले मन जित्दै आए पनि मत जित्न सकिनँ । मत जित्ने सोवितालाई धेरै धेरै बधाई भन्न चाहन्छु ।’
गृहेन्द्र घिमिरेसँग सोविताको २०८० सालको जेठमा बिहे भएको हो । ‘बुहारीको जितले सबै खुसी भएका छन् । यही अनुसार काम गरेर मतदाताको मन जित्ने छिन् भन्ने विश्वास मलाई छ । किन कि उनले अघिल्लो पटक संसद्मा राम्रो भूमिका खेलेकी थिइन् । मतदाताले त्यही भएर पनि विश्वास गरे । निकै राम्रो मत दिए,’ मतगणनास्थल रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भेट भएका गृहेन्द्रका बुबा चेतनारायण घिमिरेले बुहारीको जितमा खुसी हुँदै भने । चितवन–३ मा उम्मेदवार भइरहँदा सोविताले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा सशक्त ढंगले जाने पार्टीले बनाएको रणनैतिक योजनाअनुसार आफू उठेको बताएकी थिइन् ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवनका तीन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र २ मा रास्वपा विजयी भएको थियो । क्षेत्र नम्बर ३ मा त्यो बेला रास्वपा तेस्रो स्थानमा आएको थियो । तर समानुपातिकमा पहिलो स्थानमा थियो । भरतपुर महानगरपालिका–२५ शुक्रनगरका युवा किसान सुमन सुवेदी विगतमा तत्कालीन माओवादी पार्टीका समर्थक थिए । तर यो चुनावमा उनी सोविताको पक्षमा प्रस्ट सँग खुलेर लागे । जेन-जी आन्दोलनपछि देशले जे खोजेको छ त्यसलाई पूरा गर्न सक्ने आधार रास्वपामा देखेको हुँदा विचार परिवर्तन गरेको सुमनले सुनाएका थिए ।
जेन-जीका मागहरू समेट्न संविधान संशोधन गर्ने पर्ने र त्यसका लागि संसद्मा दुई तिहाई मत चाहिने हुँदा रास्वपा त्यस्तो खालको शक्ति बन्ने आँकलन गरेर यो चुनावमा रास्वपालाई समर्थन गरेको उनले बताएका थिए । ‘सोविता गौतम पनि व्यक्तिगत रूपमा राम्रो नेता हो भन्ने मेरो बुझाइ छ । अघिल्लो पटक संसद्मा बोलेको देखेको छु । युवा र प्रस्ट कुरा राख्न सक्ने हुनुहुन्छ । सांसदले के गर्ने हो भन्नेमा प्रस्ट हुनुहुन्छ,’ सुवेदीले भने । सोवितालाई भारी मतसहित मतदाताले जिम्मेवारीको गह्रुङ्गो भारी पनि बोकाएका छन् । यसमा आफू खरो उत्रने सोविताको दाबी छ ।
‘यो निर्वाचनमा म यो ठाउँबाट उम्मेदवार बन्दै गर्दा मैले मेरा कुराहरू राखेँ, उहाँहरूको कुरा मैले सुनेँ । सबै कुरा सुनेपछि उहाँहरूले आफ्नो हिसाबले छान्नु भयो भन्ने मलाई लाग्छ । ठूलो जिम्मेवारी दिएर पठाउनु भएको छ । संसद्मा गएपछि जिम्मेवारी पूरा गर्ने छु,’ निर्वाचित भएलगत्तै उनले भनिन् ।
