‘रणनीतिक सल्लाहकार’ खानको संसदीय यात्रा

भारतको पण्डिचेरी विश्वविद्यालयबाट एमबीए अध्ययन गरेर फर्किएका उनी १५ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर नगर शासन, वातावरणीय नीति, हरित पूर्वाधार, कार्बन न्यूनीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको काम गरिरहेका थिए ।

फाल्गुन २३, २०८२

दीपेन्द्र बडुवाल

'Strategic Advisor' Khan's parliamentary tour

काठमाडौँ — डेढ महिना अघि रुपन्देहीको सिद्धार्थनगर–१ का तौफिक अहमद खान रुपन्देही–५ मा रास्वपाबाट उम्मेदवारका आकांक्षी थिए । उम्मेदवार बन्ने अवसर मिल्छ/मिल्दैन भन्ने द्विविधामा उनी देखिन्थे । रुपन्देही–५ अन्तर्गत लुम्बिनीका केही युवा भने जसरी हुन्छ खानलाई उम्मेदवार बनाउन कस्सिएका थिए । उनीहरूले रास्वपाबाट सम्भावित उम्मेदवार भन्दै खानको प्रचार नै सुरु गरेका थिए । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग निकट भएकाले पनि खानको सम्भावना बलियो थियो ।

रुपन्देही–५ मा रास्वपाबाट उम्मेदवार बनेका ४९ वर्षीय खान अन्ततः ठूलो मतान्तरसहित शनिबार विजयी भए । शनिबार अपराह्न सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खानले ३८ हजार ८ सय ६ मत प्राप्त गरेर विजयी भए । त्यसैगरी एमालेका खिमलाल भट्टराईले १३ हजार १ सय, कांग्रेसका भरतकुमार शाहले १२ हजार ६ सय २४ र नेपाली कम्युनिस्ट पार्टीका मुहम्मद वकील मुसलमानले ६ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । विजयी घोषणा भएपछि खानका समर्थकले मतगणनास्थल गैडहवा गाउँपालिका बाहिर होली खेलिरहेका छन् ।

रुपन्देही–५ बाट विजयी खानसँग रणनीतिक सल्लाहकारका रूपमा स्थानीय तहमा काम गरेको अनुभव छ । निर्माण व्यवसायीको पारिवारिक पृष्ठभूमि भएका खान आफैंले भने व्यवसाय हेर्दैनन् । उनका बुवाले व्यवसायिक जिम्मेवारी सम्हालेका थिए । केही महिना अघि बुवाको हृदयघातबाट निधन भएपछि उनका भाइले निर्माण व्यवसाय सम्हालेका छन् । उनी भने सुशासन, वातावरणीय दिगोपन र सहकार्यमा आधारित विकासको पक्षधरका रूपमा क्रियाशील थिए ।

भारतको पण्डिचेरी विश्वविद्यालयबाट एमबीए अध्ययन गरेर फर्किएका उनी १५ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर नगर शासन, वातावरणीय नीति, हरित पूर्वाधार, कार्बन न्यूनीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको काम गरिरहेका थिए । यसपटक निर्वाचनमा लुम्बिनीलाई विश्वकै आध्यात्मिक गन्तव्य बनाउने प्रतिबद्धता जनाएर मत मागेका थिए । पर्यटनबाटै स्थानीयलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सकिनेमा उनले जोड दिएका छन् ।

दक्षिण सीमादेखि उत्तर मलमला मन्दिरसम्म रैथाने संस्कृति झल्काउने पर्यटकीय मार्ग निर्माण गर्ने उनले बताएका छन् । आफ्नो क्षेत्रका नागरिकसँग घुलमिल रहेका खानले प्रचारप्रसारका क्रममा नागरिकका समस्या सुनेर समाधानका लागि पहल गर्ने वाचा गरेका थिए । ‘राजनीतिलाई पेशा नबनाएर पनि जित्न सकिँदो रहेछ,’ उनले भने, ‘मेरो क्षेत्रमा बुद्ध जन्मस्थल छ । त्यसैले लुम्बिनीलाई व्यवस्थित गरेर पर्यटन प्रवर्द्धन गर्न सकियो भने नागरिकको जीवनस्तर उकासिन्छ ।’

यसपटक राजनीतिक लगानी र मिहिनेतभन्दा पनि जनताले परिवर्तनका लागि मत दिएकाले आफ्नो जितलाई जिम्मेवारीका रूपमा स्वीकार गरेको उनले बताए ।

उनी अहिले ग्रीन युथ फाउन्डेसनका सल्लाहकार छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका रणनीतिक सल्लाहकार हुन् । उनीसँग स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म नीति तथा परियोजना निर्माणको अनुभव रहेको छ । खानले विश्वशान्ति कार्यक्रम र अन्तर्राष्ट्रिय समन्वयको काम गरेको उनका साथी अर्जुन कुर्मीले बताए ।

‘रुपन्देही–५ ले पहिलोपटक शिक्षित र अनुभवी नेतृत्व प्राप्त गरेको छ,’ उनले भने, ‘युवाको भावना समेट्दै क्षेत्र विकासको काम गर्ने विश्वास लिएका छौं ।’ परिवर्तनको लहरसँगै योग्य जनप्रतिनिधि चयन भएको उनले बताए ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

दीपेन्द्र

Link copied successfully