यो पटक नेकपाका उम्मेदवार बस्नेत पराजित भएसँगै जाजरकोटमा १८ वर्षसम्म तत्कालीन माओवादी केन्द्रको एकछत्र राज कांग्रेसले तोडेको छ ।
सुर्खेत — कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोटबाट यो पटक प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले जित हासिल गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शक्तिबहादुर बस्नेतलाई हराउँदै उनले जित हासिल गरेका हुन् ।
बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । अर्को उम्मेदवार नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरेका छन् ।
यो पटक नेकपाका उम्मेदवार बस्नेत पराजित भएसँगै जाजरकोटमा १८ वर्षसम्म तत्कालीन माओवादी केन्द्रको एकछत्र राज कांग्रेसले तोडेको छ । यहाँबाट बस्नेतनै ३ पटक विजयी भइसकेका छन् । जाजरकोटबाट २०६४ सालयताका कुनै पनि चुनावमा नेकपाका उम्मेदवार पराजित भएका छैनन् ।
तर यो पटक कांग्रेस जाजरकोटका कार्यवाहक सभापति बुढा भने १८ वर्षसम्मको नेकपाको जित तोड्दै आफ्नो जित निकाल्न सफल भए । ४० वर्षका उनी कांग्रेसनिकट विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका थिए । २०७४ मा शिवालय गाउँपालिकाको अध्यक्षमा पराजित बनेका उनले यो पटक विकास, रोजगारी र सुशासनलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा होमिएका थिए ।
जिल्लाको गरिबी घटाउने, स्वास्थ्य सेवा सुधार गर्ने, भूकम्पपछिको पूर्णनिर्माण, कृषि, जडीबुटी र जलविद्युत विकास गर्ने, पूर्वाधारको विकासलाई निरन्तरता दिने उनले बताएका छन् । यो सँगै जिल्लाका बिरामीलाई अन्य जिल्ला जानपर्ने बाध्यतालाई कम गर्ने पनि उनी बताउँछन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनबाट संघीय संसदमा प्रवेश गरेका बस्नेतले २०७४ र २०७९ सालमा कांग्रेस–एमालेसँगको फरक–फरक गठबन्धनबाट अविजित यात्रा तय गरेका थिए । तर यो पटक सम्पन्न प्रतिनिधिसभा सदस्यमा चौथोपटक जित निकाल्ने प्रयासमा रहेका बस्नेतको यात्रा भने कांग्रेसले युवा नेता बुढाले रोकेका हुन् । माओवादी सरकारमा सहभागी हुँदा पटक–पटक मन्त्री समेत बनेका थिए ।
