उनको राजनीतिक एजेन्डको केन्द्रमा सुशासन, जवाफदेहिता र नागरिकमुखी सेवा प्रवाह रहेको छ ।
गुल्मी — गुल्मीको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी भएका छन् । उनले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।
कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५ सय ५ र नेकपाका सुदर्शन बरालले ३ हजार १ सय ७६ मत ल्याएका छन् । यो अन्तिम मत मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
गुल्मीको सत्यवती गाउँपालिका-६ मा २०४८ साल वैशाख २८ गते जन्मिएका सागर ढकाल रास्वपाका चर्चित तथा प्रभावशाली युवा नेता हुन् । पेशाले इन्जिनियर रहेका ढकाल पछिल्लो समय नेपाली राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा स्थापित हुँदै गएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि उनी राष्ट्रिय राजनीतिमा व्यापक रूपमा चर्चामा आएका हुन् । उक्त निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष प्रतिस्पर्धा गरेका थिए ।
स्थापित र शक्तिशाली राजनीतिक व्यक्तित्व देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएर उनले देउवाले प्राप्त गरेको मतको करिब आधा मत ल्याउन सफल भए । जसले ढकाललाई राष्ट्रियस्तरमै परिचित बनायो । राजनीतिमा प्रवेश गर्नुअघि नै सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेका ढकाल शिक्षा, युवा सशक्तीकरण, विकास र सुशासनका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन् । उनी विशेषगरी युवालाई नेतृत्वमा ल्याउनुपर्ने, राज्य सञ्चालनमा पारदर्शिता कायम गर्नुपर्ने र भ्रष्टाचाररहित, उत्तरदायी शासन प्रणाली निर्माण गर्नुपर्ने धारणा राख्छन् ।
उनको राजनीतिक एजेन्डको केन्द्रमा सुशासन, जवाफदेहिता र नागरिकमुखी सेवा प्रवाह रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजनीतिमा सक्रिय ढकाल परम्परागत दल र पुरानै शैलीको राजनीतिभन्दा फरक सोच र कार्यशैली आवश्यक रहेको बताउँदै आएका छन् । उनी नयाँ पुस्ताले राजनीतिमा हस्तक्षेप नगरेसम्म देशमा गुणात्मक परिवर्तन सम्भव नहुने विश्वास राख्छन् ।
स्थानीयदेखि राष्ट्रिय तहसम्म स्थापित नेताहरूसँग सागर ढकालको प्रतिस्पर्धाले गुल्मी क्षेत्र नं. १ मात्र नभई समग्र राष्ट्रिय राजनीतिमा पनि विशेष चासो पैदा गरेको थियो । नयाँ राजनीतिक शक्ति र पुरानो राजनीतिक संरचनाबीचको यो टकरावलाई परिवर्तनको संकेतका रूपमा धेरैले हेरेका छन् ।
निकटतम् प्रतिद्वन्द्वी प्रदीप ज्ञवालीले विजयी ढकाललाई बधाई दिएका छन् । उनले मतगणना सबै नसकिँदै नै बधाई दिइसकेका थिए ।
