अरबिन्द साह सुरुमा बारा-२ बाट उठ्ने प्रचार भए पनि पार्टीले अन्तिममा बारा-३ को उम्मेदवार बनाएको थियो ।
बारा — बारा- ३ मा प्रतिनिधिसभा सदस्यमा रास्पपाको अरबिन्द साह भारी मतान्तरले विजयी भएका छन् । उनले ४० हजार ९ सय ९७ मत प्राप्त गरी पहिलोपटक संसदीय यात्रा सुरू गरेका हुन् । निकटम प्रतिद्वन्द्वी कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले १० हजार ५२ मतमा सिमित भए । २०७९ को चुनावमा जितेकी एमाले केन्द्रीय सदस्य ज्वालनकुमारी साह ५ हजार २ सय ७१ मत प्राप्त गरी चौथो स्थानमा पुगिन् । साह सुरुमा बारा-२ बाट उठ्ने प्रचार भए पनि पार्टीले अन्तिममा बारा-३ को उम्मेदवार बनाएको थियो ।
वित्तीय कारोबार गर्ने प्लेटफर्म 'खल्ती'का सहसञ्चालक रहेका साह इन्जिनियर हुन् । उनका दुई छोरी, श्रीमती र आमाबुवा छन् । मध्यम परिवारका साह पहिलो पटक राजनीतिमा हाम फालेका हुन् । स्नातकोत्तर गरेका उनी बारामा रास्वपाको जितको खाता खोल्ने पहिला हुन् । बारा, महागढीमाई नगरपालिका-७ तेलकुवाका ४१ वर्षीय साह काठमाडौं बस्दै आएका थिए । चुनावी प्रचारको क्रममा उनले आफू पढेको कलैयास्थित श्री ३ चन्द्र माविलाई पृष्ठभूमिमा राखेर रोजगारीको मुद्दा उठाएका थिए । यहीबाट उनी चुनाव प्रचार अभियानमा थालेका थिए ।
