‘पैसा आफ्नो व्यवसायबाट कमाई सके । मलाई राजनीतिमा गएर पैसा कमाउनु छैन । समाजसेवा गर्नका लागि म राजनीतिमा आएको हो’
काठमाडौँ — मतगणना भएदेखि शुक्रबार साँझसम्मै कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले अग्रस्थान लिइरहेको ललितपुर–१ मा अन्तिममा रास्वपाका बुद्धरत्न महर्जनले विजयी हात पारे । अग्रस्थानमा रहेकै बेला शुक्रबार साँझ कान्तिपुरसँगको कुराकानीमा राणाले भनेका थिए, ‘सहरी क्षेत्रको मत नगन्दासम्म म अगाडि थिए । तर, सहरतिर गणना भएपछि अघि लाग्छु । अरुतिरको ‘ट्रेन’ हेर्दा भन्न सकिने स्थिति छैन ।’
नभन्दै भनेजस्तै परिणाम आयो । सहरी क्षेत्रको गणना सकिदा महर्जनले उनलाई पछि पारे । त्यसपछि उनीमाथि आउन सकेनन् । काठमाडौं उपत्याकामा धेरै कांग्रेस नेता तथा कार्यकर्ताहरूले राणाको एक्लो उपस्थित हुनसक्ने आशा राखिरहेका थिए । तर, त्यो आशा लामो समय रहन सकेन । शनिबार बिहान ८ हजार ८ सय ५३ मतान्तरमा राणा पराजित भए ।
महर्जनले २३ हजार ३ सय ७३ मत ल्याउँदा राणाले १३ हजार ५ सय २० मत पाएका थिए । पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका राणा विशेष महाधिवेशनबाट एकैचोटि सहमहामन्त्री भएका थिए ।
राणाले बिहान फेसबुकमा स्टाटस लेख्दै महर्जनलाई जनताको विश्वासलाई केन्द्रमा राखेर जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न आग्रहसहित सफलताको शुभकामना दिएका छन् ।
उनले जित र हार दुवै लोकतान्त्रिक प्रकृया रहेको भन्दै जनताको म्यानडेटलाई सम्मान गर्ने र ललितपुर-१ का नागरिकहरूको सुख दुःखमा निरन्तर साथ रहने प्रतिबद्धता जनाएका छन् ।
३ जेठ २०३५ मा ललितपुर महालक्ष्मी नगरपालिमा जन्मिएका महर्जन रत्नराज्य क्याम्पसाबट बिएसम्म अध्ययन गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी प्रत्यासी थिए ललितपुर–२ बाट । यस क्षेत्रबाट रास्वपाका सचिनकुमार घिमिरे उम्मेदवार थिए र उनले ३ हजार २ सय ७७ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेका थिए ।
त्यतिबेला यस क्षेत्रबाट कांग्रेसका राणा नै निर्वाचित भएका थिए । उनले एमालेका नवराज सिलवाललाई पराजित गरेका थिए । म ०७९ को निर्वाचनमा उदयशमसेर राणाले एमालेका नवराज सिलवाललाई पराजित गरेका थिए ।
४७ वर्षीय महर्जनले आफू बिशुद्ध सेवाका लागि राजनीतिमा आएको बताएका छन् । ‘पैसा आफ्नो व्यवसायबाट कमाई सके । मलाई राजनीतिमा गएर पैसा कमाउनु छैन । समाजसेवा गर्नका लागि म राजनीतिमा आएको हो,’ मतदातामाँझ उनले भन्दै आएका थिए, ‘३५ वर्षसम्म अरुलाई भोट दिनुभयो । यसपटक मलाई जितेर पठाउनुहोस् । ललितपुरको विकास र सेवा गर्छु, निराशालाई आशामा परिणत गर्छु ।’
उनी स्थापनाकालदेखिनै सक्रिय भएर ललितपुरमा रास्वपाको बिउ रोप्ने काममा संक्रिय थिए । जिल्लाभर संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका महर्जनलाई यसअघि ०७९ को निर्वाचनमा भने ललितपुर–२ बाट उम्मेदवार बनाइएको थियो । त्यतिबेला उनले ८ हजार ६ सय ६६ मतका साथ तेस्रो स्थान ल्याएका थिए । यसपटक उक्त क्षेत्रमा सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदिश खरेललाई उम्मेदवार बनाएपछि महर्जनलाई ललितपुर–१ बाट टिकट दिइएको थियो । उनलाई पार्टीमा इमानदार र वाैद्धिक राजनीतिक युवा नेताका रुपमा समेत लिने गरिन्छ ।
