जाजरकोटमा ह्याट्रिक गरेका बस्नेतलाई पराजित गरेका कांग्रेसका बुढा

बुढाले २० हजार १ सय ४२ मत ल्याएका छन् ।

फाल्गुन २३, २०८२

कृष्णप्रसाद गौतम

Congress' Budha defeats Basnet, who scored a hat-trick in Jajarkot

सुर्खेत — जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार बुढा २ हजार ७ सय ३५ मतान्तरले विजयी भएका हुन् ।

बुढाले २० हजार १ सय ४२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४ सय ७ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८ सय ८३ मत प्राप्त गरे । 

बुढा नेपाली कांग्रेस जाजरकोटका कार्यवाहक सभापति हुन् । शिवालय गाउँपालिका–९ नाहाडामा २०४२ मंसिर २० गते जन्मिएका बुढाले स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका छन् । बुढा २०७४ सालमा शिवालय गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । नेपाल विद्यार्थी संघबाट राजनीति थालेका उनी २०६४ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापति थिए ।

मतदाताले आफूलाई विषम परिस्थितिमा विजयी गराएकाले जिल्लावासीको चाहनाअनुसार नै आफूले काम गर्ने उनको बताए । उनले आफूले अघि सारेका एजेण्डा पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए । ‘भोलिको जाजरकोटको रोडम्यापसहित कार्ययोजना बनाएको छु,’ उनले भने, ‘हिजो जिल्लावासीले भोगेका पीडा के छ ?, जिल्लाका हरेक सवाललाई राज्यसँग जोड्ने र सुशासन, विकास तथा समृद्धिको बाटोमा लैजाने मेरा मुख्य एजेण्डा हुन्, यसैको आधारमा अघि बढ्नेछु । 

प्रतिनिधिसभा निर्वाचनमा यसअघि पूर्वमाओवादी उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित हुँदै आएका थिए । उनी २०७०, २०७४ र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully