आफ्नै पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पराजित भएका छन् । एमाले र कांग्रेसका शीर्ष नेतासमेत पराजित भएका बेला दाहाल भने विजयी भएका हुन् ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट विजयी भएका छन् ।जेन-जी आन्दोलनले संसद् विघटन भएपछि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी सुरक्षित स्थानमा खोजीमा थिए । माओवादीको आधार इलाका रुकुम पूर्व नै उनका लागि सुरक्षित क्षेत्र बन्यो ।
रास्वपाले देशव्यापी रूपमा अभूतपूर्व जित निकालिरहेका बेला उनी प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भए । आफ्नै पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पराजित भएका छन् । एमाले र कांग्रेसका शीर्ष नेतासमेत पराजित भएका बेला दाहाल भने विजयी भएका हुन् ।
विक्रम सम्वत् २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भूर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।
२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्य भएका थिए । उनलाई सदस्यताका लागि नेता अमिक शेरचनले सिफारिस गरेका थिए ।
२०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्री समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।२०४१ मा नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्यमा उक्लिएका थिए ।
२०४३ वैशाख २९ मा राष्ट्रिय पञ्चायत निर्वाचनको अन्तिम तयारी चलिरहेका बेला काठमाडौंमा सेक्टर कान्ड नामको एउटा राजनीतिक घटना भयो । वैशाख १४ गते राति (१५ गते बिहान) काठमाडौंका केही प्रहरी बिटमाथि आक्रमण गरियो । नेपालको कम्युनिस्ट आन्दोलनमा सेक्टर काण्डले नेपाली कम्युनिस्ट पार्टीको इतिहासमा एक विद्रोही नेता जन्मायो, दाहाल ।
मशालले २०४१ मंसिरमा भारतको अयोध्यामा भएको पााचौं महाधिवेशनमा मोहन वैद्यलाई पार्टी नेतृत्वमा ल्याएको थियो । मशाल विभाजन भयो । सिंहले भने २०४२ चैतमा भारतको गोरखपुरमा ‘चौथो राष्ट्रिय सम्मेलन’ गरेर आˆनै नेतृत्वमा ‘नेकपा मसाल’ नामक नयाँ पार्टी गठन गरे । त्यो पार्टी पातलो मसालका नाममा चर्चित भयो । त्यो पार्टी अहिले पनि अस्तित्वमा छ ।
२०४३ वैशाख २९ गते राष्ट्रिय पञ्चायतको निर्वाचनलाई वैद्य नेतृत्वको नेकपा मशालले केही प्रहरी चौकीमा आक्रमण गरी बहिष्कार गर्ने नीति लियो । सेक्टर काण्डको नामले चिनिने त्यो घटनाले मोहन वैद्यलाई नेतृत्वबाट विस्थापित गर्यो ।
२०४६ कात्तिकमा चितवनमा बसेको मशालको केन्द्रीय समिति बैठकले सेक्टर काण्ड गर्नु गलत भएको निष्कर्ष निकाल्यो । काण्डमा सहभागी नेताको पदलाई एक तह घटुवा गरियो । मोहन वैद्य, देव गुरुङलगायतको पद घटुवामा परेको थियो । वैद्यले पार्टी प्रमुखका रूपमा नैतिक जिम्मेवारी लिएर महासचिव पद छाड्ने निष्कर्षमा पुगेका थिए ।
दाहाल सेक्टर काण्डमा कतै नजोडिएपछि त्यो काण्ड उनका लागि अवसरका रूपमा आयो । वैद्यले उनैलाई पार्टी नेतृत्व (महामन्त्री) मा प्रस्ताव गरे । नयाँ जनवादी क्रान्ति गर्ने विचारसँग आफ्नो मत मिलेकाले दाहाललाई महामन्त्रीको अवसर दिएको वैद्यले बताए ।
वैद्यले छाडेपछि २०४६ मा दाहाल मशालको महामन्त्री चयन भए । मशाल, सर्वहारा श्रमिक संगठन मिलेर २०४८ मा नेकपा एकता केन्द्र गठन भयो । उनी त्यसको पनि महामन्त्री भए । तर चुनावलाई उपयोग गर्ने भन्दै संयुक्त जनमोर्चा नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गरी निर्वाचनमा सहभागी भयो । २०४८ को निर्वाचनमा उसले प्रतिनिधिसभामा आठ सिट जितेर तेस्रो पार्टी बनेको थियो ।
मुलुकमा ‘जनयुद्ध’ सुरु गर्ने लक्ष्यका साथ २०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम परिवर्तन गरी नेकपा (माओवादी) राखियो । नेकपा माओवादीको महामन्त्री भएका उनले २०५२ फागुन १ देखि ‘जनयुद्ध’ सुरु गरेका थिए । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी नेकपा (माओवादी) को अध्यक्ष भए ।
माओवादीले सैन्य संगठन ‘जनमुक्ति सेना’ गठन गरेपछि २०५८ मा दाहाललाई जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर घोषणा गरिएको थियो । त्यसअघि तत्कालीन श्री ५ को सरकार र माओवादीबीच शान्ति वार्ता भए पनि सफल भएका थिएनन् ।
तत्कालीन सरकार र माओवादीबीच वार्ताको पहिलो सुरुवात २०५८ साउन ७ मा भएको थियो । सरकार र माओवादीले युद्धविराम गर्ने घोषणा गरेका थिए । सरकार र माओवादीबीच पहिलो चरण २०५८ भदौ १४, दोस्रो चरण २०५८ भदौ २८ र तेस्रो चरण २०५८ कात्तिक २८ मा वार्ता भएको थियो । तर तीनैपटकका वार्ता निष्कर्षमा पुग्न नसकी टुंगिएपछि २०५८ मंसिर ८ मा माओवादीले वार्ता भंग भएको घोषणा गर्दै दाङको घोराहीमा रहेको नेपाली सेनाको ब्यारेकमाथि आक्रमण गरेको थियो । त्यसपछि सरकारले मुलुकमा संकटकाल घोषणा गरी पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायत नेताको टाउकाको मूल्य तोकेको थियो ।
त्यस्तै २०६० माघ १६ पुनः युद्धविराम घोषणा गरी सरकार र माओवादीबीच अर्को वार्ता भएको थियो । २०६० वैशाख १४, २०६० वैशाख २६ र २०६० भदौ १ मा गरी तीन पटक वार्ता भए पनि विफल भएको थियो । २०६० भदौ ११ मा माओवादीले पुनः वार्ता तोडेर ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ भन्दै काठमाडौं वरिपरिका जिल्लामा तीव्र आक्रमण गरेको थियो ।
वार्ताको चरणमा दाहालले दरबारसँग पनि संवाद गरेका थिए । त्यो वार्तालाई उनले शान्तिपूर्ण बाटोबाट गणतन्त्र ल्याउन राजालाई छाड्न आग्रह गरेको दाबी गरेका छन् ।
२०६२ मंसिर ७ गते सात राजनीतिक दल र माओवादीबीच राजतन्त्र अन्त्य गर्नेबारे १२ बुँदे समझदारी भएको थियो ।
‘निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय आदि समस्याहरूको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता छ,’ समझदारीमा भनिएको थियो । समझदारी लगत्तै सात दलले देशभर आन्दोलन चर्काएका थिए भने माओवादीले सरकारका सुरक्षा निकायमाथि आक्रमण तीव्र पारेको थियो ।
