दाङ-२ चुनौतीपूर्ण क्षेत्र थियो । एमाले महासचिव शंकर पोख्रेलसँग जुध्नु सहज थिएन तर जनताले दिएको साथ र विश्वासले उनको प्रयास सफल भैदियो ।
दाङ — एमाले महासचिव शंकर पोख्रेललाई फराकिलो मतान्तरले पराजित गर्दै ३९ बर्षीय बिपिन कुमार आचार्यले संसदीय यात्रा तय गरेका छन् । दाङ–२ बाट निर्वाचन जित्दै उनी प्रतिनिधिसभा सदस्य भएका छन् । ईञ्जिनियरिङ र व्यवस्थापन पढेका आचार्यले मिडिया व्यवस्थापनको जिम्मेवारीबाट राजनीतिक यात्रा हुँदै संसद्को बाटो तय गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा २९ फागुन २०४३ मा शिवकुमार शर्मा र शान्ता आचार्यको सन्तानका रुपमा जन्मेका आचार्यले अध्ययन भने घोराहीमा गरे । घोराहीस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा १ देखि ५ र दिपशिखा बोर्डिङ स्कुलमा ६ देखि १० कक्षासम्म अध्ययन गरे ।
त्यसपछि भारतको राजस्थान विद्यापीठ पुनेबाट बायो टेक्नोलोजीमा स्नातक गरे भने काठमाण्डौं विश्वविद्यालयबाट एमबीए गरे । इन्जिनियरिङ र व्यवस्थापन अध्ययनपछि उनी विभिन्न पेशामा जोडिए ।
यस्तै, सन् २०१२ देखि २०१८ सम्म काठमाडौंका विभिन्न कलेजमा गेष्ट लेक्चरर भएर शिक्षण गरे । त्यसक्रममा विभिन्न पुस्तक लेखनमा पनि सहभागी भए । त्यसपछि उनी टेलिभिजन शोहरू सञ्चालनमा सहभागी भए । सन् २०१८ मा उनले ‘को बन्न चाहन्छ करोडपती ?’ ‘लिटिल च्याम्प’ र ‘क्राइम पेट्रोल नेपाल’ जस्ता फ्रेन्चाइज शोहरुको प्रोजेक्ट हेड भएर काम गरे ।
सन् २०२० देखि २०२२ सम्म ग्यालेक्सी फोरके टेलिभिजनको क्रियटिभ डाइरेक्टर भएर काम गरे । त्यसक्रममा उनले रवि लामिछानेसँग सहकार्य गर्दै निकट भएर काम गरे । त्यही निकटताको स्मरण गर्दै लामिछानेले घोराहीमा आयोजित चुनावी सभामा भनेका थिए, ‘बिपिनको काम र इमान्दारीताको जिम्मा म लिन्छु । यो मेरो दुःखसुखको साथी हो । मेरा हरेक यात्रामा साथ दिएको मान्छे हो । अब तपाईहरू जिताउनुहोस्, उसलाई सही जिम्मेवारी दिने भूमिका मेरो हो ।’
लामिछानेको विश्वास जितेकै कारण ७ असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने काममा उनी संस्थापकका रुपमा जोडिए । उनले पार्टीको नाम, झण्डा, लोगो, झण्डाको रङ, चुनाव चिन्ह र घोषणापत्र तयारीको जिम्मेवारी समेत पूरा गरे ।
१४ मंसिर २०८० देखि उनी पार्टीको सह-महामन्त्री भए । १ बैशाख २०८२ देखि उनले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाए । १४ पुस २०८२ मा उनको नाम समानुपातिक सूचीमा समावेश भयो तर उनले प्रत्यक्ष निर्वाचन लड्ने इच्छा व्यक्त गरी ६ माघमा नाम फिर्ता लिए । उनले दाङ–२ लाई निर्वाचन क्षेत्र रोजेर प्रत्यक्ष चुनावी मैदानमा होमिए ।
दाङ-२ चुनौतीपूर्ण क्षेत्र थियो । एमाले महासचिव शंकर पोख्रेलसँग जुध्नु सहज थिएन तर जनताले दिएको साथ र विश्वासले उनको प्रयास सफल भैदियो । उनले रोजेको बाटो सही सावित भयो । हालसम्म पर्दापछाडि काम गर्दै आएका आचार्य निर्वाचसँगै अग्रपँक्तीमा देखिएका छन् ।
‘जनता पहिले, पार्टी पछाडि’ भन्ने मूख्य सन्देश बोकेर राजनीतिक यात्रा गरेको उनले बताए । ‘मैले प्रत्यक्षरुपमा जनतासँग जोडिन नै दाङलाई निर्वाचन क्षेत्र रोजेको हुँ । जनताको आवाजलाई नै मैले प्राथमिकता दिन्छु,’ उनले भने, ‘म जनतासँगको वास्तविक सम्बन्धको पक्षमा छु । वंशवाद र विरासतको राजनीतिलाई अस्वीकार गर्दछु ।’ पारदर्शिता, जवाफदेहिता र समावेशी विकासमा केन्द्रित हुँदै दाङ–२ लाई इमानदारीका साथ प्रतिनिधित्व गर्ने वाचा उनले गरेका छन् । सुशासन, शिक्षा, अर्थतन्त्र र सार्वजनिक सेवामा सुधारका लागि काम गर्ने लक्ष्य राखेको उनले बताए ।
रास्वपा गठनको एक पहलकर्ता र संस्थापकको हिसावले आफूले युवा र व्यापक समुदायको आकांक्षाको प्रतिध्वनित्व गर्नसक्ने उनले बताए । ‘मेरो नेतृत्व पारदर्शिता, नवीनता र सहकार्यद्वारा सञ्चालित हुन्छ,’ उनले भने,‘मेरो जीतलाई जनतामा आधारित बनाई वास्तवीक परिवर्तनको पक्षमा उपयोग गर्नेछु ।’
आफू हरेक आवाजको महत्व भएको नेपालको पक्षमा रहेको उनले बताए । ‘म एउटा यस्तो संस्कृति निर्माण गर्न चाहन्छु जहाँ हरेक परियोजना देखिने हुन्छ, हरेक बजेट खुला हुन्छ, र हरेक नागरिकले आफ्ना नेताहरूलाई जवाफदेही बनाउन सक्छन्,’ उनले भने,‘हामी स्थानीय विकासको लागि प्रतिबद्ध छौं जसले मानिसहरूलाई पहिलो स्थानमा राख्छ । पारदर्शिताका साथ डेलिभर गर्छ ।’
