भावी अर्थमन्त्रीका रुपमा हेरिएका स्वर्णिम वाग्ले 

लामो समयदेखि कांग्रेसमा आबद्ध रहेका स्वर्णिम वाग्ले २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा सहभागी भई सांसद बनेका थिए ।

फाल्गुन २३, २०८२

सम्झना रसाइली

Swarnim Wagle, seen as the future Finance Minister

तनहुँ — दोस्रोपटक संसदिय निर्वाचनमा होमिएका रास्वापाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका लागि यसपटकको निर्वाचन रोमाञ्चक र चुनौतीपूर्ण थियो । उपनिर्वाचनबाट पहिलोपटक संसद प्रवेश गरेका वाग्लेको प्रतिस्पर्धामा कांग्रेसका  पूरानै उम्मेदवार उत्रिएका थिए । तर, यसपटक पनि वाग्लेले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पराजित गरेका छन् । 

गोरखाको सहिद लखन गाउँपालिका–८ मा १६ जेठ २०३१ मा जन्मेका वाग्लेले उच्च माध्यमिक तहसम्मको अध्ययन बूढानीलकण्ठ स्कूलबाट गरेका थिए । २०४६ को एसएलसी परीक्षामा उनी नेपालभर दोस्रो (बोर्ड सेकन्ड) भएका थिए । वाग्लेले अष्ट्रेलियन नेसनल युनिर्भसिटी, अष्ट्रेलियबाट विकास अर्थशास्त्रमा विधावारिधी गरेका छन् । यसैगरी हार्भड युनिर्भसिटी, अमेरिकाबाट अन्तर्राष्ट्रिय विकास/सार्वजनिक नीतिमा स्नाकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा स्नातक अध्ययन गरेका छन्। यसकारण डा. वाग्ले नेपालका उच्च शिक्षित अर्थशास्त्री राजनीतिज्ञमध्ये एकका रुपमा चिनिन्छन् ।      

वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन् । २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय वाग्ले २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए । त्यसअघि ३ वर्ष राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष पनि थिए । नेपाल फर्कनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका वाग्ले हाल काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)का अध्यक्ष छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा २०२७ देखि नै उनको परिवारको संलग्नता छ । २०४२ को सत्याग्रहदेखि राजनीतिक रुपमा दीक्षित र २०४६ को जनआन्दोलनमा सहभागी भएका वाग्ले कांग्रेसको पूर्वमहासमिति सदस्य हुन् । २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरूमा उनको नेतृत्वदायी भूमिकामा रहेका थिए ।

वाग्ले २०४६ सालदेखि नै राजनीतिमा लगाव राख्दै आएका थिए । लामो समयदेखि कांग्रेसमा आबद्ध रहेका वाग्ले २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा सहभागी भई सांसद बने । २०८२ को प्रतिनिधिसभा सदस्यमा पनि रास्वपबाट तनहुँ–१ बाट उम्मेदवारी दिएर विजयी भएका छन् । उनले ३८ हजार ४० मत प्राप्त गरे भने उनलाई पछ्छाउँदै आएका कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरे । उनीहरुबीचको मतअन्तर २१ हजार ८०९ रहेको छ ।

यस्तै, २०८० मा भएको तनहुँ–१ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१९ मत ल्याएका थिए । त्यतिबेला पनि उनको प्रतिस्पर्धा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँगै थियो । भट्टराईले उपनिर्वाचनमा २० हजार १२२ मत ल्याएका थिए । वाग्लेले आफ्ना निकटतम प्रतिस्पर्धी भट्टराईलाई करिव १४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

दाई स्वर्णिम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि परिवारमात्र नभई पूरा देशले नै खुसीयाली मनाएको स्वर्णिमका आफन्त (भाई) बिसन वाग्ले बताउँछन् । उनले भने, ‘उहाँले देशको लागि जनताको लागि नीतिनिर्माणदेखि विकास निर्माणको काम गरी देशलाई समृद्धितर्फ लग्न सक्षम हुनुहुनेछ भन्ने आशा छ ।’

यी हुन् १६५ सांसद

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully