एमाले, नेकपा एस हुँदै रास्वपा पुगेका बदनकुमार पहिलो प्रयासमै सांसद

बदन भण्डारीले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । एमाले विभाजित भएपछि तत्कालिन नेकपा एसमा संक्रिय उनी पछिल्लो समय रास्वपामा क्रियाशील थिए ।

फाल्गुन २३, २०८२

ज्योती श्रेष्ठ

Badan Kumar, who reached the Rashtriya Swayamsevak Sangh (RSS) through UML, became an MP on his first attempt.

काभ्रे — प्रतिनिधिसभा निर्वाचनमा काभ्रे-२ मा रास्वपाका उम्मेदवार बदनकुमार भण्डारी भारी मतान्तरसहित निर्वाचित भएका छन् । भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३५ हजार ४ सय ७६ बढी मत पाए । उनले कुल ५३ हजार ३ सय ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धा कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत पाए । यो क्षेत्रमा कुल सदर मतमा भण्डारीले प्रतिशत मत प्राप्त गरे । एमालेबाट अघिल्ला दुई निर्वाचनमा गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएको यो क्षेत्रमा यसपटक तेस्रो स्थानमा सीमित रह्यो । तेस्रो स्थानमा रहेका एमालेका अशोक व्याञ्जूले १३ हजार ९४० मत प्राप्त गर्दा ८ हजार १ सय ७ मतसहित नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईं  चौंथो स्थानमा रहे ।

को हुन्, बदनकुमार भण्डारी ?

काभ्रेको भुम्लु गाउँपालिका-२ सिम्थलीमा जन्मिएका भण्डारीले राजनीतिक यात्रा भने एमालेबाटै सुरु गरेका थिए । २०४९ सालमा जन्मिएका भण्डारीले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । उनले उक्त संगठनको जिल्ला कमिटीमा रहेर समेत काम गरेका थिए । एमाले विभाजित भएपछि तत्कालिन नेकपा एसमा लागेका भण्डारी पछिल्लो समय रास्वपामा क्रियाशील थिए । उनी अहिले रास्वपाका केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव समेत हुन् । विशेषगरी कोरोनाको समयमा काभ्रेजिल्लासहित अन्यत्र स्वास्थ्य सामग्री सहयोग गर्न उनले निकै सक्रियताका साथ काम गरेका थिए ।

स्नातकसम्म अध्ययन गरेका उनी व्यवसायी पनि हुन् । उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपमहासचिव तथा इ-कमर्श एसोसिएसनको महासचिव हुन् । लायन्स क्लब ३२५ आई डिष्ट्रिक विभाग प्रमुखको रुपमा उनी सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् ।

बदनकुमार भण्डारीले जित हासिल गरेपछि उनका दाजु सहदेव भण्डारीले जनताको निराशा र असन्तुष्टिले नयाँ शक्तिलाई मत दिएको बताएका छन् ।  सहदेवले पुराना दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टि अहिलेको मतपरिणाममा देखिएको बताए । 'पुराना दलहरूको कार्यशैलीप्रति जनतामा एक किसिमको फ्रस्ट्रेसन थियो । अहिलेको मतपरिणामले जनताको त्यो भावना प्रस्ट देखाएको छ,' उनले भने ।

उनले बदन बाल्यकालदेखि नै अन्यायविरुद्ध बोल्ने, स्पष्टवक्ता र समाजप्रति जिम्मेवार भएको बताए । उनका अनुसार भण्डारी स्कुले जीवनदेखि नै राजनीतिमा चासो राख्दै सामाजिक काममा सक्रिय थिए ।

व्यवसायिक रूपमा पनि उनी सफल व्यवसायी रहेको सहदेव भण्डारीले बताए । उनका अनुसार भण्डारी ई–कमर्स क्षेत्रसँग आबद्ध हुनुका साथै विभिन्न उत्पादन र व्यवसायमार्फत युवालाई रोजगारीसँग जोड्ने काममा संलग्न छन् । साथै, लाइन्स क्लबमार्फत सामाजिक सेवामा पनि सक्रिय रहेको उनले बताए ।

परिवारको तर्फबाट चुनावी अभियानमा पूर्ण साथ र सहयोग दिएको बताउँदै उनले दाजुभाई सबै एकढिक्का भएर साथ दिएको बताए । 'हामी चारजना दाजुभाई सधैँ एकताबद्ध भएर साथ दिँदै आएका छौँ,’ उनले भने । उनका अनुसार परिवारमा मिलनसार, समन्वयकारी र निर्णय क्षमता भएका व्यक्तिका रूपमा बदन भण्डारीलाई चिनिन्छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully