लगातार चुनाव जित्दै आएका यादवको विरुद्ध मतदातामा ‘एन्टी इन्कम्बेन्सी’ पनि देखिएको छ । 'एन्टी इन्कम्बेनसी' तथा स्वाजातीय भोट धेरै उम्मेदवारबीच बाँडिने तथा मुस्लिम समुदायमा पनि पहिलाको पकड गुमेकाले महीन्द्र यादवको चुनौती बढाएको देखिन्छ । मधेशका मुद्दा उठाएर पटक पटक सत्ताको लाभ लिएको गुनासो महतोप्रति पनि उत्तिकै छ ।
What you should know
मलंगवा, सर्लाही — ०४८ सालदेखि सर्लाहीमा चुनाव उठ्दै आएका पात्र हुन, राजेन्द्र महतो र महीन्द्र राय यादव । मधेशको मुद्दाबाट राजनीति थालेका महतोले नेपाल सद्भावना पार्टीबाट आफ्नो चुनावी यात्रा प्रारम्भ गरेका थिए । यादव भने कम्युनिस्ट राजनीतिबाट उदाए ।
प्रजातन्त्र पुन:स्थापनापछिको पहिलो निर्वाचनमा यादव निर्वाचन क्षेत्र न.१ बाट नेकपा(प्रजातन्त्रवादी) बाट उम्मेदवार थिए । कांग्रेस, एमाले र सद्भावनापछि चौथो स्थानको मत ल्याएका थिए ।
महतो भने क्षेत्र न. २ बाट सद्भावनाबाट उम्मेदवार थिए । कांग्रेसकी मीना पाण्डेले चुनाव जित्दा उनी दोस्रो भए । ०५१ मा एमालेबाट उठेका यादवले जित हासिल गरे । महतोले भने तेस्रो प्रयासमा ०५६ मा जित हात पारे । ०४८, ०५१ र ०५६ को चुनावसमम महतो र यादवको निर्वाचन क्षेत्र फरक-फरक थियो । ०६४ मा भएको नयाँ क्षेत्र निर्धारणले दुवै जनाको गाउँ एउटै क्षेत्र नम्बर ४ मा गाभियो । त्यसबेला यादव तमलोपाबाट समानुपातिकमा बसेर महतोलाई सघाए । मधेश आन्दोलनको रापताप थियो, सद्भावना पार्टीका अध्यक्ष महतो विजयी भए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पटक दुवैजना आमनेसामने भए । कम्युनिस्ट राजनीतिबाट मधेश मुद्दा बोकिसकेका यादव यतिन्जेल तराई मधेश सद्भावना पार्टीको अध्यक्ष थिए । सर्लाही–४ बाट उम्मेदारी दिए । पहिले जितिराखेकाले महतोले उक्त क्षेत्र छाड्न मानेनन् । महतोमाथि यादवले ३ हजार बढी मतान्तरले विजयी प्राप्त गरे ।
०७४ भएको क्षेत्र निर्धारणमा महतो र यादवको क्षेत्र सर्लाही २ हुन पुग्यो । दुवै जना एउटै पार्टी राष्ट्रिय जनता पार्टीमा आबद्ध थिए । दुवैजना उठ्न पर्ने तर निर्वाचन क्षेत्र एउटै भयो । महतो जनकपुर हानिए । उता कांग्रेस नेता विमलेन्द्र निधिलाई हराएर संसद्मा प्रवेश गरे । सर्लाही २ बाट यादव सुरक्षित भए । उनी पनि निर्वाचन जितेर संसद् पुगे । ०७९ को चुनाव आइपुग्दा महतो सर्लाही नै फर्किए । सर्लाही २ बाट यादव नेकपा(माओवादी केन्द्र)को निर्वाचन चिह्नबाट चुनाव लडे भने महतो लोकतान्त्रिक समाजवादी पार्टीबाट । २ हजार मतान्तरले महतोले हार बेहोरे । यादवसँगको उनको दोस्रो हार थियो ।
यसपटक यादव नेपाली कम्युनिस्ट पार्टी र महतो आफैंले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार छन् । यादवले संविधानसभाले दिएको उपलब्धिलाई संस्थागत गर्नुपर्ने परिवर्तनका विरोधीहरूलाई टाउको उठाउन दिन नहुने आवाज उठाइरहेका छन् । महतोले भने मधेशका सवालमा आफू सधैं लडिरहने भन्दै मधेशका मुद्दालाई जोड दिइरहेका छन् । मधेशी, थारू, जनजाति, मुस्लिमका अधिकार तथा पहिचानको मुद्दालाई सधैं उठाइरहने भन्दै त्यसैलाई मुख्य आधार बनाएर मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् ।
यादव २०५१ यता लगातार सांसद रहे । महतो भने ०५६ र ०६४(सर्लाही) तथा ०७४(जनकपुर) बाट चुनाव जितेर तीन पटक संसद् प्रवेश पाएका छन् । ३४ वर्ष अगाडि ०४८ सालमा चुनाव लडेका धेरै मानिसहरू यतिबेला चुनावी प्रतिस्पर्धामा देखिँदैनन् । महतो र यादवबाहेक पूर्वमन्त्री रामेश्वर राय यादव जो सर्लाही-४ मा जनता समाजवादी पार्टीबाट उम्मेदवार छन् । यिनै तीनजना ०४८ मा पनि उम्मेदवार थिए र अहिले पनि छन् ।
मलंगवामा कानुन व्यवसायमा संलग्न मञ्जुर मिकरानी नयाँ नयाँ तथा परिवर्तन राजनीतिक एजेन्डा बनिरहेका बेला पुराना नेताहरू पनि मतदाताबाट आफूलाई अनुमोदन गराउन चाहेको बताउँछन् । क्षेत्र न. २ का मतदाता रहेका उनी, उमेरले पाको तथा राजनीतिमा अनुभवी पूराना तथा नयाँ पुस्ताबीच यहाँ प्रतिस्पर्धा रहेको बताए । ८८ वर्षीय यादव र ६७ वर्षीय महतोलाई कांग्रेसबाट ४४ वर्षीय डा. सरोजकुमार राय तथा राष्ट्रिय स्वतन्त्र पार्टीका ३८ वर्षीय उम्मेदवार रवीन महतोले चुनौती दिएका छन् । राय र यादव दुवैजना पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । राय कांग्रेसका कार्यवाहक जिल्ला सभापति हुन् ।
यहाँ उम्मेदवारलाई पार्टीको संगठन, व्यक्तिगत सम्पर्कबाहेक स्वजातीय मतको बल रहन्छ । लगतार चुनाव जितेका यादवका अगाडि उनका स्वजातीय उम्मेदवारहरू ठूलो चुनौती मानिएको छ । कांग्रेसका उम्मेदवार डा. रायले उनको चिन्ता बढाएको छ । स्वजातीय भोट बाँडिदा त्यसको लाभ महतोलाई पुग्न सक्ने उनको समूहको चिन्ता छ । संगठनका हिसाबले यस क्षेत्रमा कांग्रेस बलियो छ । दुई जना प्रदेश सांसद तथा यस क्षेत्रमा रहेका ८ वटै पालिकाका प्रमुख र अध्यक्ष कांग्रेसबाट जितेका छन् । कांग्रेसका प्रदेश सांसद कौशलकिशोर राय सांगठनिक हिसाबले आपूहरू बलियो रहेकाले जित निकाल्ने बताउँछन् । मतदाताले परिवर्तन चाहेको कांग्रेसका उम्मेदवार युवा र नयाँ रहेकाले त्यसले मतदातालाई आकर्षित गरेको उनले दाबी गरे ।
अधिवक्ता मिकरानी भने यस क्षेत्रमा चारपक्षीय प्रतिस्पर्धा रहेको बताउँछन् । नेकपाका यादव, रामुपाका महतो, कांग्रेसका राय र रास्वपाका महतोबीच चुनावी भीडन्त रहेको उनको विश्लेषण छ । रास्वपाका उम्मेदवार राजनीतिमा नयाँ नाम हो । तर, चुनावी लहर तथा लोकप्रिय मतमा उनी अगाडि देखिन्छन् । पार्टीको संगठन छैन । उम्मेदवार पनि पहिलेदेखि मतदातामाझ परिचित छैनन् । तर, उनी राम्रो चर्चामा छन् । मलंगवा बजारका व्यवसायी सन्तोष जयजवाल युवा तथा बजारिया हावा उनको पक्षमा देखिएको बताउँछन् । ‘पुरानैलाई कतिपटक भोट दिने ? भन्ने मनसाय राख्ने र त्यस्तो भावना व्यक्त गर्नेमा रास्वपा उम्मेदवारको राम्रो चर्चा छ,’ उनले सुनाए ‘तर, उनको टक्कर पार्टी संगठन भएका तथा राजनीतिका पुराना र अनुभवी खेलाडीहरूसँग रहेकाले लोकप्रिय मतले मात्रै जित निकाल्न रास्वपाले कति सक्छ ? त्यो भने परिणामले मात्रै देखाउने छ ।’ महेन्द्र र सरोजबीच तथा राजेन्द्र र रवीनबीच स्वजातीय भोट बाँडिने छ । त्यसले परिणाम कसको पक्षमा ल्याउँछ यकिन गर्न गाह्रो रहेको जयसवालले बताए ।
पूर्व शिक्षक ब्रजेन्द्र यादव अन्य क्षेत्रमा द्विपक्षीय वा त्रिपक्षीय प्रतिस्पर्धा देखि एपनि रास्वपाको उपस्थितिले यस क्षेत्रको प्रतिस्पर्धा चारपक्षीय बनाएको बताउँछन् । ‘स्थानीय चुनाव र प्रदेशको नतिजा हेर्दा सांगठिनक रूपमा कांग्रेस बलियो छ । तर, अघिल्लो चुनावकै बेलाको परिस्थिति अहिले पनि छ भन्ने मान्न सकिँदैन,’ उनले भने ‘अन्यत्र जस्तै बालेन र घण्टीको राम्रो हावा यहाँ पनि चलेको छ । त्यो हावाले कति भोट लग्छ त्यसले नतिजालाई निर्धारण गर्नेछ ।’
क्षेत्रमा यादव तथा गैर यादवको भोट बाँडिने छ । त्यस्तो बेलामा १५ देखि १८ हजारको संख्यामा रहेको मुस्लिम भोट यहाँ निर्णायक मानिएको छ । नेपालका लागि नेपाली पार्टीबाट उम्मेदवार रहेका कृष्ण यादव हिन्दू राष्ट्रको मुद्दा लिएर चुनावी मैदानमा छन् ।
धार्मिक स्वतन्त्रताको विषयमा नयाँ दलका विचारका सिद्धान्तका विषयमा मुस्लिम समुदाय पर्ख र हेरको मुडमा रहेको देखिन्छ । निर्णायक मानिएका मुस्लिम मतदातालाई सबै उम्मेदवार र दलले रिझाउने प्रयास गरिरहेको देखिन्छ ।
विगतमा मुस्लिमको बहुसंख्यक मत महीन्द्र यादवले पाउँदै आएका थिए । स्थानीय पत्रकार वख्तियार अली मुस्लिम मत जसले बढी पाउँछ उसलैले जित्ने सम्भावना रहेको बताउँछन् । ‘सबै पार्टीमा मुस्लिम समुदायका राजनीतिक कार्यकर्ता छन् । उनीहरु आ-आफ्नो ढंगले पार्टीका उम्मेदवारलाई मत दिलाउन प्रयासरत छन्,’ पत्रकार अलीले भने ‘प्रत्यक्ष रूपमा दलमा नलागेका मुस्लिम मतदाताहरू हाल्ने मत निर्णायक हुनेछ ।’
लगातार चुनाव जित्दै आएका यादवको विरुद्ध मतदातामा ‘एन्टी इन्कम्बेन्सी’ पनि देखिएको छ । ‘एन्टी इन्कम्बेनसी’ तथा स्वाजातीय भोट धेरै उम्मेदवारबीच बाँडिने तथा मुस्लिम समुदायमा पनि पहिलाको पकड गुमेकाले महीन्द्र यादवको चुनौती बढाएको देखिन्छ । मधेशका मुद्दा उठाएर पटक पटक सत्ताको लाभ लिएको गुनासो महतोप्रति पनि उत्तिकै छ ।
त्यसबाहेक उनलाई आउने जातीय तथा सामुदायिक भोट कैयौं उम्मेदवारबीच बाँडिदै छ । चारजना उम्मेदवार प्रतिस्पर्धामा देखिएको भन्दै पत्रकार अली पनि मतदान हुन अघिल्लो दिन सम्म धेरै ‘फ्याक्टर’ हरूले काम गर्ने र नतिजा कस्को पक्षमा जाने अहिले नै अनुमान लगाउन नसकिने बताउँछन् ।
