बदलिएको भोट माग्ने शैली 

पहिलेका चुनावको तुलनामा अहिले उम्मेदवारहरूले निकै रोचक शैली अपनाउँदै भोट मागिरहेका देखिन्छन्, जसलाई सामाजिक सञ्जालमा फरक–फरक कोणबाट हेर्ने गरिएको छ ।

फाल्गुन १६, २०८२

आरती पौडेल

Changed voting style

What you should know

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ५ दिन बाँकी छ । देशभरि चुनावको माहोल तातिरहेको छ । उम्मेदवारलाई आ-आफ्नो क्षेत्रमा भोट माग्न भ्याइनभ्याइ छ । पहिलाको तुलनामा अहिले भोट माग्ने साथै प्रचार गर्ने शैलीमा निकै परिवर्तन आएको देखिन्छ । बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारण उम्मेदवारहरूले अरू भन्दा फरक शैलीमा भोट माग्न प्रतिस्पर्धा नै गरिरहेको विज्ञहरू बताउँछन् । 

अहिले भोट माग्न उम्मेदवार भाषण र ठूला ठूला पम्पलेटमा मात्रै सीमित छैनन् । साथै मतदाता भेटघाटमा मात्रै पनि सीमित देखिँदैनन् । पहिलेको तुलनामा अहिले उम्मेदवार निकै रोचक शैलीबाट भोट मागिरहेका देखिन्छन् । जसलाई सामाजिक सञ्जालमा फरक-फरक कोणबाट हेर्ने गरिएको छ । 

मतदाता रिझाउन कोही उम्मेदवार आफ्नो क्षेत्रका मतदातालाई बीच बाटोमै लम्पसार परेर खुट्टा ढोगिरहेका देखिन्छन् । कोही भेटघाटको क्रममा आफ्नो शिर निहुराइरहेका छन् । केही भने भोट माग्न जाँदा मतदाताले जे काम गरिरहेका छन् त्यही काम गर्ने प्रवृत्ति देखिएको छ । उनीहरुले मतदातासँगै रोटी बेल्ने, जेरी बनाउने, बारीमा काम गर्ने, तरकारी केलाउने लगायतका काम गरिरहेका देखिन्छन् । कोही भने मतदातासँग मात्र भोट मागिरहेका छैनन् । कुखुराको भाले, बाख्राको पाठो, डमीसँग समेत भोट मागिरहेका देखिन्छन् । 

त्यसरी नै रौतहट क्षेत्र नम्बर–४ बाट आम जनता पार्टीका उम्मेदवार पत्रकारसमेत रहेका ऋषि धमलाको अरूले भन्दा अलग तरिकाले भोट माग्दै गरेको देखिन्छन् । उनी रौतहट–४ पुगेर मतदातालाई चुनावमा आफूलाई भोट हाल्न बोलीले मात्र प्रस्ताव गरिरहेका छैनन् । उनी मतदाताको घर–घरमा पुगेर उनीहरूले गर्ने काम गरेर मतदाता फकाइरहेका देखिन्छन् । जेरी बनाउने, उखु काट्ने, उखु बोक्ने, ट्याक्टर चलाउने, साइकल चलाउने, आफ्नो घाँटीमा भएको माला निकालेर कार्यकर्तालाई लगाइिदने, कतै सिकर्मीको सिको गर्दै काठ काट्ने, चटपट पसल पुगेर चटपट बनाउने, कतै आफ्ना मतदातालाई अँगालो हालेर रुने त कतै बिरामीलाई उपचारको लागि खर्च जुटाउन मद्दत गर्न आग्रह गर्ने जस्ता अनेकथरी क्रियाकलाप गरिरहेका छन् ।  उनले मतदाता भएको ठाउँमा पुगेर उनीहरूले जे काम गरेका छन्, त्यही काम गर्न पछि हटेका छैनन् वा भनौँ सहयोग गरिरहेका देखिन्छन् । उनी मतदातासँग हरतरह जोडिने प्रयास गरिरहेका छन् । 

उनको भोट माग्ने अलग र रोचक शैली भन्दै भिडियोहरू सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् । केही समय अगाडिको कुरा हो । भोट माग्दै हिँड्ने क्रममा उनी एक मिठाई पसल/ रेस्टुरेन्ट पुग्छन् । जहाँ व्यापारी जेरी बनाइरहेका देखिन्छन् । धमलाले पनि जेरी बनाउन थाल्छन् । उनले जेरी बनाउँदै गर्दा उनीसँगै गएका उनका कार्यकर्ताहरू ताली पिट्छन् । धमला मुसुक्क हाँस्छन् । यो भिडियो टिकटक, फेसबुक, इन्स्टा सबैतिर भाइरल भइरहेको छ । 

Changed voting style

त्यसरी नै उनी किसानले काम गरिरहेको उखुबारी पुग्छन् । त्यहाँ उनी उखु काट्छन् । साथै काटेर राखिएका उखु बोकेर किसानलाई सहयोग गर्छन् । उखु बोक्दै उनले एक अभिव्यक्ति पनि दिएका छन् । जसमा उनले भनेका छन् - ‘ए उखु है ना, ये बोककर मैं गाँव गाँव जा सकता हुँ । आपको लेकर जा सकता हुँ । मैं काम करुँगा ।’ 

अर्को स्थानमा उनी ट्याक्टरमा बस्छन् । ट्याक्टरमा बसेका धमला भन्छन्,‘मधेशमा, तराईमा यसले महत्त्वपूर्ण काम गर्छ । यसको महत्त्व छ किसानका लागि ।’ सुरुमा बोल्दा अलमलिएको देखिएका उनी किसानको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउन चाहेकोसमेत बताउँछन् । 

उनले दिएको उक्त अभिव्यक्तिमा सामाजिक सञ्जालभरि प्रयोगकर्ताहरुले उनले भन्न खोजेको के हो ?, नबुझेको भन्दै ठट्टामा उडाइरहेका छन् । 

अर्को ठाउँमा एक व्यक्तिले धमलालाई प्रश्न गर्दै भन्छन्, ‘रौतहट–४ को जनतालाई वाचा गर्नुहोस् कि तपाईँले जितेपछि पहिलो एउटा महत्त्वपूर्ण काम के गर्नुहुन्छ ? त्यहाँको मेन समस्या के छ ?’

धमलाले जवाफ फर्काउँदै भन्छन्, ‘मेन समस्या भनेको त्यहाँ समस्या धेरै छ ।’  उनको उक्त अभिव्यक्ति पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

त्यसरी नै भोट माग्ने क्रममा उनी काठको काम गरिरहेको स्थानमा पुग्छन् । काम गरिरहेका व्यक्तिबाट हाते आरा आफूले लिन्छन् । आराले काठ चिर्न प्रयास गर्छन् । उनले काटेको काठ बांगो हुँदै जान्छ । उनी हतार हतार गर्दै गरेको काम बीचमै छोड्छन् । पछाडिबाट एक व्यक्तिले जवाफ फर्काउँछन्,‘नेता हुनजस्तो कहाँ सजिलो छ र ?, काम गर्न त गाह्रो छ दाइ !’

कहिले धमला आफ्ना कार्यकर्तासँग भोट माग्न घरदैलो गरिरहेका बेला आफूले लगाएका माला, खादा मतदातालाई लगाइदिन्छन् । मुसुक्क मुस्कुराउँदै उनी युवालाई अँगालो हाल्छन् ।  

अहिले धमलाको भोट माग्ने शैली, प्रश्नकर्तासँग बोल्ने शैली निकै रोचक साथै अरूभन्दा अलगभएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ  । 

                      ०००

चुनावी प्रचारलाई रोचक बनाउन नयाँ उम्मेदवारले मात्र बेग्लै शैली अपनाएको देखिँदैन । दोस्रो पटक चुनावी मैदानमा उत्रिएका उम्मेदवारले पनि पहिलाको भन्दा फरक शैली अपनाएको देखिन्छन् । 

प्युठान-१ का एमालेका उम्मेदवार सूर्य थापा अहिले बेग्लै शैली अपनाएर भोट माग्ने उम्मेदवारका रूपमा चिनिन्छन् । दोस्रो पटक चुनावी मैदानमा उत्रिएका उनी पहिलाको भन्दा बेग्लै शैलीमा प्रचारमा लागिरहेका देखिन्छन् ।  

Changed voting style

उनी घरदैलो गर्ने क्रममा एक घरको गारो लगाउने ठाउँमा पुगेर गारो लगाउन सहयोग गर्छन् । उनी मिस्त्रीसँग आफ्नो कुरा पनि राख्छन् । नमस्कार गर्दै भन्छन्, ‘ल दाजु, सूर्य थापा म हुँ । सम्झिनु भयो नि !’ 

त्यहाँ गारो लगाउँदै गरेका व्यक्तिको जवाफ आउँछ- ‘चिन्तै नगर्नुस् चिनेका छौँ ।’

थापाले उनको गालामा हात लगाउँदै ‘चिन्या छौ हैन’ भन्दै हाँस्छन् र भन्छन्,‘म पनि बिर्सिदिनँ तपाईँहरूले पनि बिर्सिन पाइँदैन है’ । त्यति भन्दै उनी नमस्कार गर्दै हिँड्छन् ।

घरदैलो गर्ने क्रममा उनी सुख्खा रोटी पकाइरहेकी विष्णा नेपालीको घर पुग्छन् । उनले पनि रोटी बेल्न सहयोग गर्छन् । उनी रोटी बेल्न निकै जान्ने जसरी नक्कल गरेका देखिन्छन् । सुरुमा विष्णासँग संवाद गर्दै भन्छन्,‘कस्तो मिठो रोटी पकाउनुहुन्छ तपाईँले ।’ खाजा हो कि खाना हो भन्दै सोध्छन् । नाम सोध्छन् । 

‘सूर्य थापा भन्ने मान्छे चिन्नुहुन्छ कि हुँदैन ?’ भनेर समेत सोधिरहेका हुन्छन् । घुमाइ घुमाइ अन्तिममा ‘मलाई भोट हाल्नु होला है’ भन्छन् । 

त्यसरी नै थापाले आफ्ना मतदातालाई फकाइरहेका देखिन्छन् । 

थापा मतदातासँग नजिकिँदै घरको गारो लगाउनेदेखि मिस्त्रीहरूसँग कुरा गर्ने, सुख्खा रोटी बेल्दै मतदातासँग भलाकुसारी मात्र गरेका देखिँदैनन्, उनी कतै मतदाताले साग काटिरहेका स्थानमा पुगेर सघाउन जान्छन् । कहिले मतदाताको घर पुगेर तरकारी केलाउँछन्, मकै भुट्छन् । उनी मतदातासँग तालमा ताल मिलाउँदै नाचेर आफ्ना मतदातालाई रिझाइरहेका छन् । 

केही समय अगाडिको कुरा हो । थापाले घरदैलो कार्यक्रममा आँखा नै ढाकिने गरी माला लगाएको र नमस्कार गरेको फोटो आफ्नै फेसबुकमा अपलोड गरेका थिए । उक्त फोटो निकै भाइरल समेत भएको थियो । 

                    ०००

नुवाकोटका–२ बाट रास्वपाका उम्मेदवार बनेका अच्युतम लामिछानेले पनि अलग र रोचक शैली अपनाएर भोट माग्ने अर्का उम्मेदवार हुन् । 

उनी आफ्ना कार्यकर्तासँग भोट माग्न घरदैलो गरिरहेका देखिन्छन् । उनको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा उनी नेपालको झन्डा ओढेका देखिन्छन् । घाँटीमा माला, छेउमा केही कार्यकर्ता बाटोमा हिँडिरहेका हुन्छन् । एक्कासि उनले बाटोमा दुई वृद्धा हिँडेको देख्छन् । उनी परैबाट ठूलो स्वरमा भन्छन्,‘अब आयो है, बुबाआमा अब, अब नझुक्किनुहोला, छोरो आयो नाति आयो !’ भन्दै बाटोमै भेटिने मतदाताको खुट्टा ढोग्छन् । उनी फेरि नमस्कार गर्दै उठ्छन् अनि अर्को व्यक्तिलाई त्यसरी नै लम्पसार परेर ढोग्छन् । उनी फेरि भन्छन्, ‘यो देश बिगार्ने छुट छैन, प्लिज प्लिज नातिहरू आए है बुबा !’ यति भन्दै उनी नमस्कार गर्दै भोट माग्न कार्यकर्तासँग हिँड्छन् ।

                       ०००

धादिङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङको घरदैलो कार्यक्रम पनि निकै बेग्लै र अनौठो किसिमको देखिन्छ । मतदातासँग मात्र उनी भोट माग्दै हिँडेकी छैनन् । उनी कुखुरा, बाख्राको पाठोसँग पनि भोट माग्दै हिँडेका भिडियोहरु सामाजिक सञ्जालमा छाएका छन् । 

Changed voting style

उनी भोट माग्न घरदैलो गरिरहेकी देखिन्छिन् । हातमा ‘घण्टी’ र एक हातमा सेतो कुखुराको भाले समातेर उनले भनेकी छन्,‘टिरिङ टिरिङ घण्टी बजाइदेऊ । उसले घण्टी बजाएर उद्घाटन गरेको छ । दिदीलाई भोट हाल है भाले है !’ उनले थप्छिन्,‘चुनाव चिह्नचैँ घण्टी है बुझ्यो नि !’

त्यसरी नै उनले बाख्राको खोरमा पुगेर एउटा सानो कालो पाठो हातमा समात्छिन् र भन्छिन्,‘ल है अब आशिका दिदी उठ्या छु । अनि भोट दिनुपर्छ है मुने ....है ल रे !’ त्यो भिडियो पनि अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । 

                           ०००

त्यसरी नै गोरखा–१ मा रास्वपाका उम्मेदवार रहेका सुधन गुरुङ पनि फरक तरिकाले भोट माग्ने मध्यका एक हुन् । उनी मतदातालाई रिझाउन कहिले ठूलो भारी बोकेर हिँडेका देखिन्छन् त कहिले पसलमा राखेको डमीसँग भोट मागेको देखिन्छन् । पसलमा डमीसँग भोट मागेको भिडियोले पनि निकै चर्चा बटुलेको छ । 

शिरमा ढाका टोपी, आँखामा चस्मा, र घाटीमा खादा लगाएका देखिने सुधन एउटा कपडा पसलमा पुग्छन् । त्यत्तिकैमा उनले डमीसँग हात मिलाउँदै कुरा गर्छन् र भन्छन्,‘मलाई भोट दिनुहोला हजुर ! म घरदैलो गर्दै आएको हो !’ यत्तिकैमा उनले आफ्नो चस्मा निकाल्छन् र भन्छन् । ‘ए सरी ।’ अनि मुस्कुराउँछन् । पछाडिबाट उनको भिडियो बनाइरहेका व्यक्ति हाँस्छन् । फेरि चस्मा लगाएर सुदन आफ्ना कार्यकर्तासँग अरू पसल भोट माग्न पुग्छन् । उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै धेरैले कुखुरा र बाख्रालाई भोट मागेको अपार सफलतापछि डमीसँग भोट मागेको भिडियो भन्दै कमेन्ट र सेयर गरेको देखिन्छन् । 

                         ०००

त्यसरी नै पूर्वमन्त्रीसमेत रहेका महावीर पुनको चुनाव प्रचार गर्ने शैली पनि अरूको भन्दा निकै अलग देखिन्छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार उठेका पुनले गाउँ गाउँमा पुगेर मतदातालाई भोट हाल्न आग्रह मात्र गर्दैनन्, उनले यो गर्छु त्यो गर्छु भनेर आफूले पहिलै वाचा नगर्नेसमेत मतदातालाई बताउँछन् । उनी कसैलाई चिल्ला कुरा गरेर फकाउँदैनन् । उनले खरो शैलीमा भोट हाल्न मन हुनेले हाल, नहुनेले नहाल भन्छन् । उनी आफू घरदैलो गर्ने स्थानहरूको बारेमा फेसबुकबाटै पहिल्यै स्टाटस हाल्छन् । सामाजिक सञ्जालबाटै जानकारी दिएर घरदैलो कार्यक्रममा पुग्छन् । 

Changed voting style

अहिले उनी कटुवालले गाउँ गाउँमा सूचना सुनाउने शैली नै अपनाएर डाँडाबाट सबैलाई भोट हाल्न अनुरोध गरेको एक भिडियो निकै भाइरल भएको छ । भन्छन्, ‘डाँडाखानी गाउँको दाजुभाइ, दिदीबहिनीहरु महावीर पुन आएको छ । चुनावमा उम्मेदवार भएर आएको छ । ल भेटघाट गर्न चाहनेहरु आउनुस्,’ उनी फेरि थप्छन्,‘प्रश्न छ भने सोध्नुहोस् । भोट दिन मन लागे भोट दिनुहोस् । आयो ल । दाजुभाइ दिदीबहिनीहरु उता उता तिरबाट आउनुहोस् । त्यहाँ बाट पनि आउनुहोस् ।’ उनी यति भन्दै गर्दा एक महिलाले भोट दिन मन नलागे के गर्ने ? भन्छिन् उनले जवाफ फर्काउँदै भन्छन्,‘अँ नदिए नि हुन्छ ।’ उनको अलग शैलीको भोट माग्ने तरिका अहिले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको देखिन्छ । 

अर्को एक भिडियोमा प्रचार गर्न जाने क्रममा भीरको छेउ बाटोमा नाचेको भिडियो देखिन्छन् । जसमा महावीर पुनलाई यसपालि चुनावमा भोट हाली जिताऊँ है भन्ने गीतको बोलमा निकै खुसी भएर नाचेका देखिन्छन् । यसरी नै पुनले अरू भन्दा भिन्न साथै रोचक शैलीमा भोट मागिरहेका देखिन्छन् । उनी सामाजिक सञ्जालबाटै आफ्ना चुनावी क्रियाकलापसमेत राखेका हुन्छन् । उनका सर्मथकहरु पनि कहिले पुनको मतदाताको घरमा पुगेर ढिँडो खाँदै गरेको त कहिले खाजा खाएको भिडियोहरू राखिरहेका देखिन्छन् । 

                         ०००

चुनावी चर्चा त्यसमा डा. निकोलस भुसालको नाम छुट्ने कुरै भएन । 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार भुसालको पनि चुनावी प्रचार शैली फरक देखिन्छ । पेसाले चिकित्सक भुसाल आफ्ना लागि फरक शैलीमा भोट मागेका देखिन्छन् । एक भिडियोमा उनी प्याकमा विभिन्न औषधी, धेरै प्रकारका स्वास्थ्य उपकरण लिएर मतदाताको स्वास्थ्य परीक्षण गरिरहेका देखिन्छन् । मतदाताको मात्र नभएर उनले बालबालिकाहरूको स्वास्थ्य पनि परीक्षण गरिरहेका देखिन्छन् । 

सुरुमा काम त्यसपछि मात्र मतदान भन्ने शैली अपनाएका भुसाल मतदातासँग भोट माग्दै उनीहरूको स्वास्थ्य अवस्था जाँच्नसमेत भ्याएका छन् । उनको यस्तो शैली सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको देखिन्छ ।

भुसालले एक अन्तर्वार्तामा 'पृथ्वी स्वर्ग बनाउँछु' भन्ने अभिव्यक्तिसमेत दिएका छन् । जुन अहिले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ । 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully