निर्वाचन आचारसंहिता उल्लंघन : आयोगले सोध्यो ८८ वटा स्पष्टीकरण

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको छ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Election code of conduct violation: Commission asks for 88 clarifications

What you should know

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा ८८  वटा स्पष्टीकरण सोधेको छ । आयोगले यसरी सोधेको स्पष्टीकरणमध्ये ५७ वटामा जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ  ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४  उजुरीमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको छ । आयोगबाट ४ वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । ३३ जना उम्मेदवारलाई स्पष्टिकरण सोधेको छ । त्यसबाहेक सरकारी / शैक्षिक व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेशगत रुपमा कोशी प्रदेशमा ८, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ वटा रहेका निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले स्पष्टिकरणपछिको जवाफपछि केही उम्मेदवारहरुलाई जरिवाना गरेको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार शक्तिबहादुर बस्नेतलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । उनले निर्वाचन प्रचारप्रसारका क्रममा पैसा वितरण गरेको उजुरी परेको थियो । 

त्यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) जेन-जीको जुत्ता अनुमतिबिना प्रयोग गरेको अभियोगमा २५ हजार जरिवाना गरेको छ । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीलाई पनि आचारसंहिता उल्लंघन गरेको आरोपमा २५ हजार जरिवाना गरेको छ । स्वपाका बााकेका उम्मेदबार खगेन्द्र सुनार, भक्तपुर २ को नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक (शोभा) लाई सचेत गराएको छ । 

जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल १ हजार ७६ वटा उजुरी परेका थिए । तीमध्ये १ हजार ६१ वटा (९९%) फर्छ्यौट भएको आयोगले जनाएको छ । 

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ वटा (९%) लिखित र ९७९ ओटा (९१%) टेलिफोन, एसएमएसलगायत स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झन्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको, शिक्षक तथा कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र  सवारीसाधनमा झन्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully