अबको ५ वर्ष सुशासन र समृद्धिको वर्ष : गगन थापा

'कांग्रेस सरकारमा पुगे भविष्यमा कुनै काण्ड नदोहोरिने गरी २०४६ पछिका सबै नेताको सम्पत्ति छानबिन गरिनेछ ।'

फाल्गुन १५, २०८२

प्रकाश बराल

Next 5 years will be years of good governance and prosperity: Gagan Thapa

What you should know

बागलुङ — कांग्रेस सभापति गगनकुमाार थापाले आगामी ५ वर्षलाई सुशासन र प्रगतिको वर्ष बनाउने बताएका छन् । बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले आगामी ५ वर्षमा देशलाई सुशासन र आर्थिक समृद्धिको बाटोमा हिडाउने बताए । 

त्यसका लागि कांग्रेसले घोषणापत्रमार्फत संकल्प र प्रतिबद्धता लिएर आएको उनले बताए । यसका लागि कांग्रेस कामको गति बढाउने र सम्हालिएर चुनावमा जाने तयारीमा रहेको सभापति थापाले बताए ।

२०८४ मा हुनुपर्ने निर्वाचन यति छिट्टै किन भयो भन्ने कुरा आम नागरिकलाई बुझाउनुपर्ने उनको भनाइ थियो । ‘जेन–जी युवाहरूले सुशासन खोजेका थिए, ती माग पूरा गर्न कांग्रेस परिवर्तन भएर आएको हो,’ उनले भने, ‘कांग्रेसले आफ्नो विधान र कार्यक्रम पनि परिमार्जन गरेको छ ।’ नयाँ विधिमा टेक्दै नेतृत्व समेत फेरेर कांग्रेस निर्वाचनमा आएको उनले बताए । 

देश बनाउन नीति र सिद्धान्त चाहिने, योजना र भिजन चाहिने भन्दै थापाले त्यसका लागि कांग्रेसले सबै क्षेत्रको सुधारका लागि वर्षौदेखि गरिएको अध्ययनको निश्कर्ष समेत लिएर निर्वाचनमा आएको उनले बताए । ‘हामीले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिका लागि धेरै अध्ययन गरेर निस्केको निश्कर्ष समेत बनाएका छौं,’ उनले भने, ‘ती योजना लागू गर्नका लागि पनि कांग्रेस नेतृत्व आवश्यक छ ।’ आगामी संसदमा कांग्रेस नेतृत्वले तमान युवाको भावना समेटेर दर्जनौं कानुन निर्माण र राज्य व्यवस्थामा सुधार समेत गर्ने उनले प्रतिबद्धता जनाए । 

उनले शेरबहादुर देउवादेखि आफ्नो समेत सम्पति छानबिन गर्ने बताए । ‘कांग्रेस सभापति भएर भन्दैछु, हामी पहिला कांग्रेसका नेताहरू कै सम्पति छानबिन गर्छौ, राजनीतिलाई सफा बनाउछौं,’ उनले भने, ‘कानुन सम्वत ढंगबाट हरेक काण्डका छानबिन गरेर भविष्यमा कुनै पनि काण्ड नदोहोरिने बताउछौं ।’ सरकारी सेवा लिन जाँदा एक रुपैयाँ पनि घुस दिनु भनेको नागरिकको अपमान हो भन्ने बनाउने उनले बताए । त्यसका लागि कानुन परिमार्जन गराउनु पर्ने उनको भनाइ छ । बदलिने र संसोधन गर्ने ४१ वटा कानुनको एक–एक सूचि तयार बनाइसकेको उनले बताए । 

उनले सबै जातजाति, क्षेत्रको सम्मान गर्ने समेत उनले बताए । ‘संविधान निर्माणको बेला हिमाल, पहाड र मधेसदेखि सबै जातजातिको अधिकारलाई लिपिवद्ध गर्ने काम गरेको थिएँ,’ उनले भने, ‘ती कानुन कार्यान्वयन गर्ने स्थलको रुपमा संसद देखिने छ ।’ आदिवासी जनजातिको पक्षमा बोल्दा भाषण काटेर भाइरल बनाउन खोजिएकोमा उनले टिप्पणी समेत गरे । मञ्चमा मगर पोशाक लगाएर आएका थापाले मगर दिवसको शुभकामना समेत दिए ।

सदरमुकामस्थित बागलुङ बजारको समीक्षालयमा भएको कार्यक्रममा उनले कार्यकर्तालाई घरदैलोमा पुगेर पार्टीको नीति र कार्यक्रम बुझाउन आग्रह गरे । ‘अझैसम्म मतदाताहरू अलमलमा छन्, उनीहरूको घरदैलोमा पुगेर बदलिएको कांग्रेस बारे बताउनुस्,’ उनले भने, ‘पुरानो गौरव र नयाँ योजनासहितको कांग्रेस बनाउने खाका बताउन ढिला गर्नु हुँदैन ।’

करिब ३० मिनेटको भाषणमा उनले जेन–जी युवाको मागदेखि भूगोलको विकास तथा नागरिकको जीवन पद्धती सुधार गर्ने योजनाहरू बताएका थिए । कार्यक्रममा बागलुङ–१ का कांग्रेस उमेदवार भीम श्रीष, शकुन्तला शर्मा र पार्वती आचार्य, कांग्रेस जिल्ला सभापति जित शेरचन, एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य र लोकगायक विमलराज क्षेत्रीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आचार्यले एनआरएनएलाई नेपाली नागरिकता दिने विषयमा अडान लिएका थापाको समर्थनका लागि कार्यक्रममा आइपुगेको बताए । विदेश बस्नेलाई पनि समेट्ने पार्टी कांग्रेस भएको उनको भनाइ थियो ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully