विश्वप्रकाश शर्माले सय दिनमा विदेश जाने नेपालीलाई स्वदेश फर्काउने भनेकै भरमा नहुने र यसका लागि देशमा बस्न सक्ने वातावरण बनाउनुपर्ने तर्क गरे ।
What you should know
काठमाडौं — कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कुनै एक व्यक्ति हिरो भएर देश नबन्ने दाबी गरेका छन् । शर्माले रास्वपाका बालेन शाह र रवि लामिछानेतिर संकेत गर्दै रोडमा हात हल्लाएर एक्लै हिँडेर देश नबन्ने र यसका लागि टिम र टिमवर्क चाहिने बताए । यस्ताे टिम र टिमबर्क कांग्रेसमा मात्रै भएकाे उनकाे भनाइ छ ।
आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यसका लागि गगनकुमार थापा नेतृत्वको कांग्रेसमात्र विकल्प भएको दाबी गरे । उनले सय दिनमा विदेश जाने नेपालीलाई स्वदेश फर्काउने भनेकै भरमा नहुने र यसका लागि देशमा बस्न सक्ने वातावरण बनाउनुपर्ने तर्क गरे ।
उनले एयरपोर्ट गएर बुद्धको देश भन्दैमा विदेश जान युवा नरोकिने भन्दै शर्माले त्यसका लागि यहाँ रोजगारी र बस्न लायक वातावरण बनाउनुपर्ने बताए । धमाधम विदेश गइरहेका युवाहरूलाई रोक्न सारा नेपालीमा आसा र विश्वास जगाउन सक्ने काम गर्नुपर्ने उनले बताए । उनले कांग्रेसले घोषणापत्रमा ती सबै कुरा उल्लेख गरेको दावी पनि गरे ।
उनले विकास आयोजना निर्माणमा ढिलाई भयो भने रुखमा बाँधेर समस्या समाधान गर्ने भिजन कसैको होला तर कांग्रेसले त्यसो नगर्ने बताए । उनले यसका लागि कानुन सुधार र ठेक्का प्रक्रियालाई सुधार गर्नुपर्ने बताए । कांग्रेसले ८ घन्टामा नेपाल जाग्ने प्रतिज्ञापत्र ल्याएको र सोहीअनुसार काम गर्ने दावी पनि गरे । उनले रातिको सिफ्टमा पनि काम हुने भन्दै नेपाल अब जाग्ने र समुन्नत हुने बताए ।
उनले भ्रष्टाचारमा कठोर कारबाही गर्ने यसका लागि कानुन सुधार गर्ने अनि नियुक्तीमा सुधार गर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धानलाई थप बलियो बनाउने र वडा सदस्यदेखि जुनसुकै पदमा भएको भए पनि भ्रष्टाचारमा संलग्न छ भने निलम्बन गरेर कारबाही गर्ने दाबी गरे ।
